शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जनयुद्धः नेपाली राजनीतिको नयाँ आयाम

सोमवार , फाल्गुण १, २०७९

लेखक : बिनोद दाहाल

नेपालको १० बर्ष लामो जनयुद्ध मौलिक र विशिष्ट खालको छ । यो चीनको नक्कल पनि थिएन र एक्कासी निर्णय भएको कार्यक्रम पनि थिएन । यो युद्धले समाज रुपान्तरणमा अहम् भूमिका खेल्यो र सामन्तवादी निरंकुश राजतन्त्र सदाका लागि ढालिदियो । संसदवादी राजनीतिक दलहरु पनि जनयुद्धको प्रभावमा परे र नेकपा( माओवादी)को रोल्पाको चुनुवाङ बैठकका निर्णयः लोकतान्त्रिक गणतन्त्रमा सहमती गर्दै राज्यको नयाँ संरचना निर्माणमा सहभागी भए । जनयुद्धको उक्त प्रस्ताव वैधानिकता दिनको लागि पुर्वसहमति अनुसार संविधानसभाको पहिलो बैठकबाट पारित गर्दै नेपाल लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गर्यो । त्यसैले जनयुद्ध नेपालको कम्युनिस्ट आन्दोलनको साथै नेपाली राजनीतिक आन्दोलनको पनि नयाँ आयाम हो भन्न सकिन्छ । यो बर्ष आज फागुन १ गते, जनयुद्धको मुल्यवोध गर्दै सरकारले सार्वजनिक विदा दिने महत्वपूर्ण निर्णय गरेको छ । वास्तवमा जनयुद्ध नेपाली जनताले सामन्तवादी, साम्राज्यवादी र विस्तारवादीबाट शोषण र उत्पीडनबाट मुक्ति पाउने अवस्थाको शङ्खघोष गरेको दिन हो । त्यो दिन अझै आएको छैन, संघर्ष गर्नैपर्ने दिन अझै पनि बाँकी छ । जनयुद्धको नेतृत्व गर्ने प्रचण्डले भनेजस्तो त्यो दिनको लागि अब सशस्त्र संघर्ष गर्नैपर्ने दिन अब छैन भन्ने सत्य हैन । अझै पनि दलाल पुँजीवादी नेतृत्वको राज्य मात्र बनेको छ । साम्राज्यवाद– विस्तारवाद बिरोधी राज्य निशस्त्र आन्दोलनबाट सम्भव छैन । नयाँ जनवाद प्राप्तीको लागि भएको जनयुद्ध त्यो अवस्था नआउन्जेल कायम रहनु पर्छ । फेरि पनि माओवादी आन्दोलनको पुनर्गठन वा जनयुद्ध अवसंभावी छ । विसर्जनवादीको हल्लाखल्ला र प्रतिक्रियावादीका भ्रममा माओवादी आन्दोलनका विघटित र समुहगत समुहहरु परेका देखिन्छन् । अन्तरसंघर्षमा अत्यन्त कमजोर जनयुद्धका वेलाका नेतृत्वहरु अहिले अवशरवादी र जनयुद्ध बिरोधिका भ्रममा फसेका छन् । जनयुद्ध शुरु हुनु भन्दा निक्कै लामो समय र परिस्थितिहरु कम्युनिस्ट आन्दोलनले गुजारेको थियो । २००४ सालमा लाल कम्युनिस्ट पार्टी आधारभुत ज्ञानको कमीका बावजुध गठन भएको थियो । यसले पुष्पलालको नेतृत्वसँग जान नचाहेजस्तो देखिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको बैचारिक तथा सांगठनिक नेतृत्वकर्ता पुष्पलाल नै थिए । २००५ साल चैत्र ३ गते कम्युनिस्ट पार्टीको घोषणापत्र अनुवाद गरि प्रकाशन गरेर उनले कम्युनिस्ट पार्टीको बैचारिक आधार खडा गरेका थिए । त्यसपछि २००६ साल वैशाक १० गते केही अगुवाहरुलाई सङ्गठित गरि नेपाल कम्युनिस्ट पार्टी स्थापनागरी पर्चा प्रकाशित गरेका थिए । उक्त पर्चामा कम्युनिस्ट आन्दोलन केवल राणा शासन फाल्नका लागि मात्र नभएर अमेरिकी साम्राज्यवादको आढमा टिकेको सामन्ती शासनव्यवस्था बिरुद्ध प्रहार केन्द्रित गर्नुपर्छ भनेर जे भन्न खोजेका हुन् त्यो अझै बाँकि छ । जनयुद्धको लक्ष्यबारेमा अझै ध्यान दिनुपर्ने बिषय के छ भने जनवाद अझै आएको छैन । प्रथम राष्ट्रिय सम्मेलनमा पारित कार्यपत्रः– “जनवादको निम्ति नेपाली जनताको बाटो“ थियो । नेपालमा ल्याउन खोजिएको नयाँ जनवाद हो जुन अझै आएको छैन । जनवाद नआउँदै कार्यनीतिक लक्ष्यका लागि केही समय हतियार बिसाउनु स्वभाविक हुन्छ तर हतियार नै प्रतिक्रियावादी राज्यलाई बुझाएर आत्मसमर्पण गर्नु वर्गघात हो, गद्दारी हो । हामीले कम्युनिस्ट आन्दोलनमा यो विडम्वना भोगेका छौं र यसबाट पाठ सिक्दै माओवादी आन्दोलनको पुनर्गठनको अभियानमा जुटेका छौं । कम्युनिस्ट आन्दोलनमा २०२५ साल एउटा पुनर्गठनको कोसेढुंगा सावित भएको छ । राष्ट्रिय सम्मेलनमार्फत संयुक्त आन्दोलनको कार्यदिशा र नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित भयो । नयाँ जनवादी क्रान्ति नेपाली कम्युनिस्ट आन्दोलनको लक्ष्य बनिरह्यो । २०२८ सालपछाडि पुष्पलालको समूह, कम्युनिस्ट न्युक्लियस धार र झापा बिद्रोही धारमा विभाजित कम्युनिस्ट आन्दोलनको लक्ष्य भनेको बल प्रयोगको सिद्धान्तमा रही नयाँ जनवाद स्थापना गर्नु नै थियो । यसका लागि ३ वटै धारबाट सशस्त्र क्रान्तिका प्रयास भए– झापा बिद्रोहीले एक संगठन, एक युनिट र एक एक्सन व्यवहारिक रुपमै लागू गरे । पुष्पलालबाट छुट्टिएको मजदुर किुान संगठनले ४ बर्षसम्म सशस्त्र विद्रोह ग¥यो । कम्युनिस्ट न्युक्लियसले चौथो महाधिवेशन गर्दै चीनअंयाँ मोडेलको क्रान्ति गर्ने निर्णय लियो । ऋषिराज देवकोटाहरुले निर्णय लागू गर्न खोज्दा नेतृत्व तयार नभएपछि पार्टीबाट बिद्रोह गरि नयाँ पार्टी गठन गरेको वेलामा उहाँको सहादत भयो । चौम समुहको मुलधार वैद्य समुहले २०४५ सालमै माओवादको मार्गदर्शनबाट अघि बड्ने निर्णय लियो जुन नयाँ जनवाद प्राप्तिको लागि जनयुद्धको बाटोमा प्रतिबद्ध भएर लाग्ने नै थियो । पार्टी नेतृत्वमा परिवर्तन भए पनि पार्टीको निर्णय र योजनामा कुनै फेरबदल भएन । नेतृत्व एकताकेन्द्र हुँदै नेकपा (माओवादी) हुँदा पनि जनयुद्धको बाटोमा प्रतिबद्ध भएर लाग्नुले जनयुद्ध आकस्मिक र कहिंको नक्कल हैन भन्ने स्पष्ट हुन्छ । २०५२ साल फागुन १ गते महान् जनयुद्धको थालनी हुनु नेपाली कम्युनिस्ट आन्दोलनको एउटा नयाँ आयाम थियो । १९ जना केन्द्रीय सदस्य, ३५ वटा जिल्ला कमिटि, ६४–६५ जना पुर्णकालिन कार्यकर्ताको पहलकदमीमा थालेको जनयुद्ध शुरुमा दीर्घकालिन हुने योजना बनाइएको थियो । लक्ष्य भन्दा छोटो समयमा नै यसको विकास भएर सन्तुलनको चरणतिर पुगेको ठानेर २०५७ को दोश्रो राष्ट्रिय सम्मेलनमार्फत दीर्घकालिन नहुने र बिद्रोहात्मक ढङ्गले विजय चुम्न पुग्ने मौलिक नीति तथा कार्यक्रम लागू गरियो । अन्ततः जनयुद्धले निरङ्कुश सामन्ती नेतृत्व फेर्न त सक्यो तर नयाँ जनवाद प्राप्त गर्न सकेन । यसमा नेतृत्वको भूमिका पुगेन । यसको कारण के हो भन्ने लामो वहसको बिषय बनेको छ । नेतृत्वमा अवशरवाद पलाएको हो वा अक्ष्यम् र वर्गप्रति इमानदार नेतृत्वको विकास हुननसकेको पो हो कि वा नेतृत्व विकासमा पार्टी नीतिमा त्रुटि पो थियो कि ! जे भए पनि अहिले यो वहसको बिषय बनेको छ । सर्वहार विश्व दृष्टिकोण निर्माण नभएकाहरु पार्टीमा अवशरवादी नेतृत्व भरिए र सकिए । यही कारणले जनयुद्धको नेतृत्वले जनयुद्धलाई सहि निश्कर्षमा पुर्याउन नसकेका हुन् । जनयुद्धले विजय चुम्न वा नयाँ जनवाद ल्याउन नसके पनि निरंकुश सामन्ती राजतन्त्रलाई ढाल्न सफल भएको छ । यो एउटा महान् काम भएको छ, नयाँ उपलब्धी अवश्य भएको छ । आजको हाम्रो जिम्मेवारी भनेको विजय चुम्नका लागि माओवादी आन्दोलनको पुनर्गठन गरि प्रतिबद्ध भएर साम्राज्यवाद र विस्तारवादलाई परास्त गरि देशलाई स्वाधिन बनाउने हो र नयाँ जनवाद प्राप्तगरी समतामुलक र समृद्ध देश निर्माण गर्नु नै हो । यसका लागि अहिलेसम्मका जनयुद्धका उपलब्धिको रक्षा गर्दै अगाडि बढ्न जरूरी छ ।नीति र नेतृत्व सम्झौताबाट हैन संर्घषबाट पैदा हुन्छ । बर्तमान नेतृत्वले अबको क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन । संर्घषले नयाँ नेतृत्वको पैदा गर्छ र गर्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना गरिसकेको छ । त्यसैले २७ औ जनयुद्व दिवस मनाईरहदा क्रान्तिकारी कार्यदिशाको निर्माण, त्यो कार्यदिशालाई सहि ढंगले कार्यान्वयन गर्न सक्ने नेतृत्व र संगठनको निर्माण गर्दै महान जनयुद्वको आर्दश र शहिदहरूको सपना साकार पार्न इमान्दार कम्युनिष्टहरू एकताबद्व हुने प्रतिबद्वता गरौं । सम्पुर्ण सहिद, शहिदपरिवार, घाईते, अपाङ्ग योद्वाहरूको सम्मान यसैमा हुन सक्छ ।

(लेखक स्वतन्त्र बाम बुद्विजिवी हुनुहुन्छ)

प्रतिक्रिया