म सिन्धुली जिल्लाकै एक मात्र काँग्रेस हुँ जस्ले विगत बिर्सेको छैन । म हज्जारौँ जन्म लिँदा पनि बिर्सँन्न । असली काँग्रेसले बिर्सदैन । कोही माओवादीको झण्डा बोक्नमा रमाउँछ भने त्यो आदर्शविहिन ठेउके काँग्रेस हो ।
म काँग्रेस भएकोमा गर्व गर्छु किनकी मेरो काँग्रेस आर्दश, विचार र सिद्धान्त बोकेर टिकेको काँग्रेस हो । वीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आर्दशले बनेको काँग्रेस हो । मलाई कसैले अवसर दिएर बनाएको काँग्रेस होइन । त्यसैले, आजपनि नेपाली काँग्रेसको चारतारे झण्डा र रुख प्रति मलाई गर्व छ ।
हामी लोकतान्त्रीक दलीय ब्यवस्थामा छौेँ । लोकतन्त्र भनेको मिलेर, बाँडेर अनि नागरिकलाई ढाँटेर खाने ब्यवस्था हुँदै होइन भन्ने मेरो बुझाई हिजो, आज र भोलि पनि रहिरहने छ । सबै दलले आफ्ना बिचार नागरिकहरुकोबीचमा लाने र दलीय ब्यवस्था अनुसार चुनाब लड्ने हो भन्ने कुरामा म विस्वास गर्छु । त्यसैले नेपाली काँग्रेस एक्लै चुनाब लड्नुपर्छ भन्ने मेरो बिचारमा अझ पनि म प्रतिबद्ध छु ।
सिन्धुली क्षेत्र नं.२ मा गबन्धनको नाममा माओबादीलाई भोट म कसरी हाल्न सक्छु ? मेरो आदर्श वीपीको सालिक ढाल्ने अनि वीपीको जस्तै आर्दश बोकेर गाउँमा नेपाली काँग्रेस फैलाउने मेरो अगज्रहरुप्रति माओवादीले आततायी कथित जनयुद्धको नाममा गरेका निकृष्ट ब्यवहारलाई म कसरी भुल्न सक्छु ?
सिन्धुली भ्यालिकै समाजसेवी प्रेम बहादुर पोखरेललाई सामन्ती भन्दै खुकुरीले छिमोल्ने माओवादी, ढुंग्रेवासका शालिन, भद्र ब्यवसायी नारायण श्रेष्ठलाई गोली हानेर ढाल्ने माओवादीलाई म कसरी बिर्सन सक्छु र चुनाबमा भोट ड्याम्म पारेर ठोक्न सक्छु ? मेरो मन पटक्कै मान्दै मान्दैन । मानोस् पनि कसरी ? झल्झली सम्झना छ, माओवादीले छत्र बहादुर श्रेष्ठको घरमा बम पड्काएर परिवारै सखाप पार्न खोजेको । सामन्ती काँग्रेस भन्दै मेरो काँग्रेसका आदर्शहरुलाई गोलि हान्ने माओवादी नै हो । सुराकी भन्दै गोरे श्रेष्ठको खुट्टा काट्ने माओवादी नै हो । कपिलाकोटका १३ वर्षिया अवोध वालकलाई घाँटी रेटेर धमिले चौतारोमा लढाउने माओवादी नै हो, अनि म कसरी जिताउन र सत्ताको मालिक बनाउन सक्छु ।
झाँगाझोलीका बलराम आचार्य जस्ता काँग्रेसका आर्दशलाई सामन्ती भन्दै गाउँबाट लखेटेको अनि दिनभरी खेतमा आली लगाएर साँझमा फर्कँदै गरेका सिताराम थापालाई कुटी कुटी हत्या गरेको, पुरानो झांगाझोलीका केदार थापा जस्ता काँग्रेसलाई गोली ठोकेर मारेको, नेत्रकाली तामाजोर क्षेत्रका स्थापीत कोकिल स्याङ्गतानलाई घाँटी रेटेर हत्या गरेको मानसपटलमा ताजै छ । दौलत सिं वम्जनलाई तारो हाने झै हानेर धुरावजारमा ढालेको माओबादी झल्झली मन मुटु र आँखामा उकुच पल्टीएको घाउ जस्तो आजीवन चसक्चसक बिझाइरहन्छ । कसरी चट्क्कै बिर्सौँ र ड्याम्म भोटहालेर जिताऔँ ?
परिवारको सुखीका लागी प्रहरी र नेपाली सेनामा जागीर खान गएका परिवारका आमा बुवालाई सामन्ती भन्दै गाउँबाट खेदाउँने, मेरो कांग्रेसका लक्ष्मण मैनालीलाई गोली ठोक्ने माओवादीलाई म कसरी जिताउँ ? बार्दलीवाला घर हुँदैमा र वर्षभरि खान २०÷५० मुरी धान भित्र्याउँदैमा सामन्ती भन्दै खेतबारी कब्जा गर्ने माओवादीसँग म कसरी अंकमाल गर्दै हिड्न सक्छु ? घरमा बस्न नदिएको र भात खान नदिएको नाममा कैयनलाई विभत्स यातना दिएको म कसरी विर्सन सक्छु ?
सुनकोसी गढतिरका दरा काँग्रेसी नेता बसिष्ट कोइरालालाई माओवादीले घरैवाट वेपत्ता बनायो, माओवादीले न सास दियो न लास । परिवार आज पनि छट्पटाई रहेको छ । उनको सास या लास देउ भनेर मेरो काँगे्रसले खोजीसम्म गरेको छैन । घरैमा सामन्तको नाममा मारिएका हत्पतेका प्रेमनाथ अधिकारीको आत्माले समेत खवरदारी गरेको छ । के तिमी भोट हाल्न सक्छौ ? भन्दा के जावाफ दिने होला ?
माओवादीले तत्कालीन समयमा हत्या र आतंक मार्फत पीडा दिएका सिन्धुलीका कैयन परिवारको आज पनि विचल्ली छ । परिवार सदस्यको अभावमा आज पनि छट्पटाइ रहेका छन् । ती परिवारका कैयन सदस्यहरु आज खाडीको चर्को घाममा पसिना चुहाउँदै त कोही गाउँघरमै ज्याला मजदुरी गरि परिवार पाल्न बाध्य छ । कैयन घाइते अपांगहरु अभाव र पीडामा मृत्युको भीख मागीरहेछन् । उनिहरुका कैयन प्रश्नहरु अनुत्तरीत छन् । ती परिवारका सदस्य गुमाएकाहरुको पीडा र चित्कार अझै गाउँघर, पाखापखेरामा गुञ्जीरहेछन्, गिज्याइरहेका छन् । यी सबै म कसरी चटक्कै बिर्सौँ, नसुने झैँ गराँै ? अनि ड्याम्म भोट हालेर माओवादीलाई हाम्रा मालिक बनाउँ ? म असली काँग्रेस हुँ, हात काटिएला, भोट मरे पनि हाल्दै हाल्दीनँ । (यो लेखकको निजि बिचार हो )