लेखक : लोकहरि आचार्य
मैले कोरोना विरुद्धको दुई डोज नै खोप पूरा गरेको छु । दोस्रो डोज खोज बैशाख ९ गते लगाएको थिएँ । सर्तकता त मैले अपनाएकै थिएँ । निषेधाज्ञा कारण लामो तथा छोटो यात्रा मैले गरेको थिइँन । जेष्ठ महिनाको अन्तिम साता तिर मेरो शरीर दुख्ने भएको थियो अनि राती ज्वरो पनि आएको थियो । मैले त्यति धेरै वास्ता गरिन बरु लगातार विहानको मर्निङ्ग वाकलाई निरन्तरता दिइ नै रहे । अरु बेला भन्दा बढी दुरी नै हामीहरु हिड्न थाल्यौ । शरीर दुख्ने गरेकाले म परिवार बाट अलि अलग्गै बस्न थालि सकेको थिएँ । एक्कासी असार २ गते राती मलाई शरीर काम्ने गरि नै ज्वरो आयो । राती उठेर ज्वरो नाप्ने १०२ डिग्री सम्मको देखायो । मनमा चिसो पस्यो । कतै कोरोनाले त भेटेन भनेर । अनि सोचे अरु दिन पनि मलाई त ज्वरो आएको थियो । विहान उठेर पिसिआर जाँच गर्नु पर्यो भनि जाँच गराएँ । अनि होम आइसोलेसनमा बस्न पनि थालिहाले । बेलुका फोन आयो तपाईको पिसिआर पोजेटिभ देखियो भनेर । त्यो दिन देखि म होम आइसोलेशनमा बसिरहेको छु । रिपोर्ट आएको एक दुई दिन त मलाई खासै केही भएन । तेस्रो दिन देखि मेरो शरीर धेरै दुख्न थाल्यो । खकार सहितको खोकी लाग्यो । ज्वरो हरायो तर खोकी लाग्ने र शरीर दुख्ने, थकाइ लाग्ने भइरह्यो । मैले खोकीको औषधी डाक्टरको सल्लाह विना नै खाए दिएँ । खोकी त निको भयो तर शरीर दुख्ने र थकाइ लाग्ने भने यसरी भयो कि म मरि सके अव बाँच्दिन होला जसरी शरीर दुख्यो । यो क्रम तीन दिन सम्म चल्यो । मैले सिन्धुली कोभिड अस्पतालका डाक्टर सागर देवकोटालाई बारम्बर अवस्था बारेमा फोन बाट जानकारी गराइ रहे । उहाँले मलाई सल्लाह दिइ रहनु भयो । उहाँ प्रति आभार व्यक्त गर्दछु ।
त्यही विचमा टेकु अस्पतालबाट भनि फोन आयो उहाँले पनि मेरो अवस्थाको बारेमा जानकारी लिनु भयो र नआत्तिन सल्लाह दिनु भयो । दुवै डोज खोप लगाएकाले केही हुदैन हामीले अरुलाई पनि फलोअप गरिरहेका छौ । तपाई कै जस्तो समस्या छ उहाँहरुलाई पनि नआत्तिनु होला सास फेर्न अप्ठ्यारो भयो भने अस्पताल जानु होला भन्ने सल्लाह मिल्यो । एउटा गज्जव लाग्यो कि कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई टेकु अस्पतालले फोन गरि अवस्था बारे बुझ्दो रहेछ । यस प्रकारको कार्यले विरामीमा मनोबल चाहि बढ्ने रहेछ । एक जना साथी मलाई पोजिटभ भएकै दिन देखि नै लगातार भेट्न आइरहनु भएको थियो । भित्रै मेरो ओछ्यान सम्मै आउनु हुन्थ्यो । आलमजी तपाई बाहिर नै बस्नु न म भन्थे आँ केही हुन्न के मलाई म आए पछि तपाईको आत्माबल बढ्छ भन्नु हुन्थ्यो । साच्चै उहाँ आइरहदा मेरो भित्री आत्माबल बढेको थियो ।
अव कुरा गरौ, होम आइसोलेसनमा मृत्यु सँग पौठाजोरी कसरी खेलियो भन्ने बारेमा । खवर सुन्दा र अरुलाई कोरोना पोजिटिभ भयो भन्दा खासै केही हैन निको भैहाल्छ नि भने जस्तो लाग्ने । कोरोनाको दोस्रो भेरियन्ट सुरुवात मै मैले चिनेजानेका मेरै उमेरका साथीहरु र केही हितैषी मित्रहरु गुमाएँ । यस बेला मलाई पनि खुवै डर लाग्यो कतै पोजिटिभ भैहाल्यो भने त के हो के हो ? तर मलाई पनि यो दोस्रो भेरियन्टले छोडेर । जुन दिन रिपोर्ट पोजेटिभ आयो भनेर फोन मार्फत थाहा पाएँ त्यो दिन बेलुका मनमा कता कता डर लागिरहेको थियो । जति नै मनोबल उच्च राख्न खोजे पनि भित्री डर भने थोरै थियो । अनि मृत्यु भएको खवरहरु संचार माध्याममा आइरहेका नै थिए । यस्तो समचार हेर्दा डर लाग्ने रहेछ । दिमागमा विभिन्न नकारात्मक सोचहरु आउने रहेछ । सामाजिक संजालले एक किसिमको तनाव उत्पन्न गराउने रहेछ । यस्तै गर्दा गर्दै तीन दिन वित्यो । तेस्रो दिन मेरो शरीर बढी नै दुख्यो, थकाइ पनि बढी नै थियो । १० बजे तिर हुनु पर्छ म बोल्न र हिड्न समेत नसक्ने अवस्थामा पुगे । मैले कोही पनि भित्र नआउन भनेर ढोका लगाएर बस्थे । म बल्ल बल्ल शौचालय पुग्थे र त्यही गतिमा ओछ्यान सम्म आउथे । ओछ्यानमा लडे पछि मेरो न हात चल्थ्यो न त शरीरका अरु कुनै अंग । मरेतुल्य हुन्थे ।
यस्तै हुन्छ भनेको सुनेको थिएँ । ठिक होला भनेर कसैलाई केही भनिन । घरपरिवारमा पनि डराउनु हुन्छ भनेर मैले यो कुरा भनिनँ । चौथो दिन मलाई खपि नसक्नु भयो । घरपरिवारमा त भनिनँ । ज्वाइँ कृष्णहरि घिमिरेलाई बल्ल बल्ल फोन गरि र अस्पताल जानु पर्यो भनि । उहाँले पनि डाक्टर सँग सल्लाह गर्नु भएछ । घरमा आएर भन्नु भयो हैन शरीर दुख्छ रे तपाईलाई सारै नै अप्ठ्यारो भएको भए मात्रै जानु नत्र नजादै राम्रो हुन्छ भन्नु भयो ।
मलाई सास फेर्न चाहि अप्ठ्यारो भएको थिएन । बेला बेलामा अक्सिजनको मात्रा नापिरहन्थे । जहिले नि ९५÷९६ देखाउथ्यो । अनि अक्सिमिटर माथि मलाई शंका हुन्थ्यो । त्यो तीन दिनको कष्टपूर्ण जीवन सम्झिदाँ अहिले पनि आङ सिरिङ हुन्छ । यो गुप्तबास बस्दा मैले कोरोनालाई पछार्न कसरी सके हुला भने मनोवल मेरो धेरै नै थियो । यसलाई जित्न मनोबलको आवश्यकता धेरै नै छ । मनोबल उच्च त बनाउनु पर्छ नै हामीले आवश्यक सावधानी पनि अपनाउनु पर्छ । तातो पानी, तातो झोलिलो पदार्थ खाने गर्नु पर्ने रहेछ । यो गुप्तबासको क्रममा मैले चिसो खानेकुरा केही पनि खाइन । तातो पानी, तातो खानेकुरा नै खाएँ । दिनमा तीन चार पटक पानीको बाफ लिनु भन्थे तर मैले विहान बेलुका लिएँ । सामाजिक संजालमा पनि सकारात्मक कुराहरु मात्र बढी हेरे । त्यसैले म भन्दछु कोरोना सँग अहिले पनि जो जो लडिरहनु भएको छ सवैमा नआत्तिन आग्रह गर्दछु । मनोबल उच्च राखि खानपिनमा जोड दिनुहोस् । समय समयमा शरीरमा अक्सिजनको मात्रा हेर्नुहोस र कम हुने वित्तिकै अस्पताल जानु होस । सामान्य ज्वरो त हो नि भनि नबस्न आग्रह गर्दछु । सावधानी चाहि अपनाउनु नै पर्ने रहेछ । अव त म बाँचे र सवैलाई अनुरोध गर्दछु कोरोनालाई सामान्य नठान्नु होला । जय होस ।