सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका नौ वटै स्थानीय तहमध्ये दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिकाको रुपमा चिनिन्छ । यहा सबैभन्दा बढी क्रमसः तमाङ, मगर, माझी, दलित, ब्राम्हणक्षेत्री र पहरी समुदाय बाहुल्यता रहेको छ । साविक हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी र क्यानेश्वर लगाविस मिलाएर बनेको यो पालिकामा ८ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेकपा माओवादी (केन्द्र) बाट कार्साङ लामा अध्यक्ष पदमा निर्बाचित हुनु भएको छ । उहाँसँग सिन्धुली सौगातका लागि पत्रकार बाबुराम देवकोटाले गर्नु भएको कुराकानीको संपादित अंस :
तपाँई हरिहरपुरगढी गाँउपालिकाको अध्यक्षमा निर्बाचित भएपछि नागरिकले परिबर्तनको के अनुभुति गर्न पाएका छन् ?
अब म निर्बाचित भएर आई सकेपछि नागरिकले धेरै कुरा परिबर्तन भएको महसुस गरेका छन् । जनताको नजिकको सरकार, जनताको आँगनको सरकार, दुःखु सुखको सरकार भनेर जनप्रतिनिधि र जनता बीच सहकार्य, समझ्दारी भएको छ । जे पर्दा पनि तुरुन्त पुगि हाल्ने खालको सरकार भएको छ । जनता पनि हिजोका दिनमा कर्मचारीबाट गरेको काम जनप्रतिनिधि मार्फत छिटो र छरितो तरिकाले गराउन पाउदा सजिलो ठानेको महसुस भएको छ ।
स्थानीय तहको निर्बाचनको बेला जनता सामु गरेको के कती प्रतिबद्धता पुरा गर्नु भयो ?
मैले निर्बाचनताका गरेको कुराहरुमा सबै भन्दा बढी दुःख पाएका जनताको काम पहिलो प्राथमिकतामा गराउने भन्ने थियो । त्यो कुरा जस्तै उदाहरणका लागि जस्को खुट्टामाा चप्पल छैन, त्यो मान्छेको काम पहिलो प्राथमिकता दिएर गर्ने भन्ने थियो । अहिले दुःख पाएका सेवाग्राही, जस्ले चप्पल पनि लाउन सकेका छैनन् । काममा खाली खुट्टा हिड्ने सेवाग्राहीलाई प्राथकिता दिएको छु । सेवाग्राही धेरै हुन्छन् । दुःख पाएका, अल्प सङख्यक, दलित, एकल महिला र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरेको छु ।
गाँउमै रोजगारीको अबसर सिर्जना गर्न के कस्ता काम भएका छन् ?
गाँउमा रोजगारीको अबसर सिर्जना गर्न सबै भन्दा पहिले त सिपको आवश्यकता पर्छ । त्यसपछि अनुभवको पनि आवश्यकता पर्छ । त्यती मात्र नभएर आर्थिकको पनि आवश्यकता पर्दछ । त्यसलाई मध्य नजर राखेर बिशेष गरी यो पालिकामा पशुपालन, तरकारीबाली र अन्नबालीका तीन वटा पकेट क्षेत्र निर्धारण गरिएको छ । त्यसका लागि पालिकाले किसानलाई तालिमको व्यवस्था गरेको छ । तालिम लिएर व्यवसाय सम्बन्धि धेरै ज्ञानका कुरा सिकेपछि आफ्नै गाँउठाँउमा व्यवसायिक रुपमा पशुपालन र खेती गर्न जनताले सुरु गरेका छन् । त्यसका लागि पालिकाले बिउ पूँजीको रुपमा यो बर्ष ६० लाख रुपिया बजेट बिनियोजन गरी ऋणको लिन सक्ने व्यवस्था गरेका छौं ।
गाँउपालिकालाई समृद्ध बनाउन कस्ता योजना ल्याउनु भएको छ ?
समृद्धिको लागि पहिलो आवश्यकता त शिक्षा नै हो । शिक्षा, रोजगारी र आयआर्जन समृद्धिको एउटा पाटो हो । शिक्षासँग जोडिएको पशुपालन सम्बन्धि प्राविधिक उत्पादन गर्न वडा नं. ८ क्यानेश्वर क्षेत्रमा लगानी भई रहेको छ । गत बर्ष शतप्रतिशत छात्रबृत्ति स्वरुप लगानी गरी पढ्न लगायौ, यो बर्ष ७५ प्रतिशत छात्रबृत्ति स्वरुप लगानी गरेर केही विद्यार्थिलाई पशु र कृषि सम्बन्धि प्राविधिक शिक्षा पढ्न लगाएका छौ । प्राविधिक जनशक्ति गाँउघरमा नै उत्पादन गर्न । कृषि र आयआर्जनको क्षेत्रमा साना साना खोलाहरुबाट पानी पम्प गरेर सिंचाईको व्यवस्थाका लागि ४० वटा जति पम्पसेट नै बितरण गरि सकेका छौं । अहिले जहाँ जहाँ विद्युत लाईन बिस्तार भई रहेको छ, ती ठाँउमा खोलाबाट पानी माथि लिफ्ट गरी तानेर सिंचाईको व्यवस्था गर्न सक्छौ ।
गाँउपालिकाले कस्ता योजनालाई प्राथमिकता दिएर काम गरि रहेको छ ?
गाँउपालिकाको पहिलो प्राथमिकता त सडक नै पर्छ । त्यसपछि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायत पर्दछन् । प्रत्येक वडाबाट पालिकासम्म जोड्ने सडकलाई प्राथमिकता दिएका छौं । मदन भण्डारी राजमार्गले चार वटा वडालाई छुन्छ । बाँकी चार वटा वडामा पालिकाको बजेटले वडापालिकाको कार्यालयदेखि गाँउपालिकाको केन्द्रसम्म जोड्न ट्याक सडक खोलि सकेको छौं, अब स्तर उन्नती गरेर व्यवस्थित गर्न तिर लागेका छौं । पालिकाभित्र ठूला दुई वटा ग्रामीण सडक छन् । एउटा पिपलमाढी हुदै बागमती जाने र अर्को क्यानेश्वर हुदै हरिहरपुरगढी जोड्ने । दुबै सडकको काम भई रहेको अवस्था छ ।
जनप्रतिनिधि भएर जनताको काम गर्दा के कस्ता समस्या र अबरोध झेल्नु परेको अनुभव गर्नु भएको छ ?
त्यस्ता समस्या, अबरोध र अप्ठेराहरु प्रशस्तै छन् । हामी निर्बाचित भएर आउदा गाँउपालिकाको केन्द्रको टुङगो लागेको थिएन । केन्द्रको े टुङगो लगाउन नै मलाई दुई बर्ष लाग्यो । मुद्धा पर्यो, साह्रा कुरा भयो । सबैको मन एउटै हुदैन । बल्ल बल्ल केन्द्र झनझनेमा स्थापित भई सकेपछि काम गर्न प्रशस्त भवन थिएन । एउटा सानो घरमा भाडामा बसेको थियो । कतिपय काम गर्न विधि, विधान र कार्य योजना नबनिरहेको अवस्था थियो । हामी प्रदेश र संघिय सरकार भन्दा अगाडी आएका थियौं । धेरै अप्ठेरो छ काम गर्न, अहिले पनि कर्मचारीको अभाव त छदैछ ।
गाँउपालिकामा पर्यटकिय आकर्षण बढाउन के कस्ता कार्य गर्नु भएको छ ?
गाँउपालिकामा पर्यटकिय आकर्षण बढाउन काम सुरु गरेका छौं । हाम्रो पालिकाको नाम नै ऐतिहासिक हरिहरपुरगढी किल्लाबाटै नामाकरण भएको छ । त्यसलाई हाम्रो पर्यटकिय गन्तव्यको आधार बनाउने भनेर एउटा पर्यटन गन्तव्यको रुट क्लियर गरेका छौं । यता मक्वानपुर साईडबाट हरिहरपुरगढी हुदै वडा नं. ४ को लप्से पोखरी हुदै क्यानेश्वरको प्राकृतिक पोखरी कुण्डमा आएर टुङगिन्छ । पर्यटकहरु लगभग हाम्रै पालिकामा तीन दिनजति घुम्ने गरी रुट बनाएका छौं । वडा नं. ८ को धिमिले डाँडामा १४ घरमा तामाङ होमस्टे बनाउने तयारी भई रहेको छ । त्यस अनुसार पालिकाभित्र अन्य क्षेत्रलाई पनि समेटेर पूर्वाधारहरु बनाउदै छौं ।
अहिले कोरोनाको महामारी बढ्दो छ, त्यसलाई नियन्त्रण र रोकथाम गर्न पालिकामा कस्ता काम भएका छन् ?
यो अप्ठेरो अवस्थामा सबै पालिकाबासी अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर घुमफिर नगर्न अनुरोध गरेका छौं । कोही बाहिरबाट आएको छ भने जानकारी गराउन र होम क्वारेन्टाईनमा बसाउन । हाम्रो धेरै नाकाहरु तराईको छिमेकी जिल्ला सर्लाहीसँग जोडिएको छ । सर्लाही अति सङक्रमित भारतसँग जोडिएको हुनाले हाम्रो नाकामा निगरानी बढाएका छौं । कोही सङक्रमित भएर बिरामी भई आई हालेमा उद्धार गरेर उपचार गर्न क्यानेश्वरको क्वाटर भन्ने ठाँउमा १० बेडको आईसोलेसन भवन बनाएका छौं । त्यही लैजान्छौं । त्यसका लागि बाहिरबाट डाक्टर ल्याउन कुरा गरेका थियौं । उहाँहरु आउनु भएन । पालिकाको जिम्मामा रहेका पाँच जना स्वास्थ्यकर्मीलाई सेवा सुविधा बढाएर आईसोलेसनमा काम गर्ने व्यवस्था मिलाएका छौं ।
भौतिक पुर्वाधारका के कस्ता काम भएका छन् ?
नेवा संस्थाको साझेदारीमा गत बर्ष ११ वटा खानेपानीका योजना सम्पन्न ग¥यौ । यो बर्ष १५ वटा खानेपानीका योजना बनि रहेको छ । गाँउपालिकाको आफ्नै स्रोत ६५ लाख रुपियाको लागतमा भवन बन्दै छ । सबै वडा कार्यालयको भवन बनि रहेको छ । पाँच बेडको प्राथमिक स्वास्थ्य केन्द्रको भवन झ्याडीमा बनी रहेको छ । अर्को १५ बेडको पालिकास्तरको अस्पताल निर्माणका लागि तीन जना व्यक्तिले निःशुल्क १३ कठ्ठा जग्गा दिनु भएको छ । हामीले त्यसको डिपिआर बनाएर स्वीकृतीका लागि स्वास्थ्य मन्त्रालय पठाएका छौं । शिक्षा, सिंचाई लगायतका क्षेत्रमा पनि धेरै काम भएको छ ।
बजेट परिचालनमा सङघिय सरकार र प्रदेश सरकारबाट कत्तिको सहयोग पाउनु भएको छ ?
बजेट बितरणमा बिधि अनुसार आउने कुरा छ । सङघिय सरकार र प्रदेश सरकाबाट बिधि अनुसार नै आँउछ । थप योजनाका लागि हाम्रो पँहुच नपुगेको अवस्था छ । बाँकी सङघियबाट छुट्टै, प्रदेशबाट छुट्टै बजेट आउने त्यस्तो केही छैन ।
ड् अन्त्यमा गाँउपालिकाबासीलाई तपाईको भन्नु केही छ की ?
कोभिडका कारण पालिकाका जनता अप्ठेरोमा परेको छ भने सम्पर्क गरि दिनु होला । अप्ठेरो ठाँउमा फसेको, उद्धार गर्नु पर्ने छ भने पनि जानकारी गरि दिनु होला । कोभिडबाट विश्व नै आक्रान्त भएको बेला मानबले मानबलाई सहयोग गर्नु पर्दछ । आफु बाँचौ, अरुलाई पनि बचाऔं ।