लेखक : नानिबाबु घिमिरे
पृष्ठभूमि
गतवर्ष लकडाउनको समयमा गाँउको घरमा बसिरहेको थिएँ । एकजना २४–२५ वर्षकी स्थानिय सामुदायिक विद्यालयकी अभिभावक आउनु भयो र भन्नु भयो, “नजिकैको सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने भन्यो र छोरालाई संस्थागत विद्यालयबाट झिकेर यता ल्याएँ तर अंग्रेजी माध्यममा सञ्चालन भएन, बेकारमा ल्याएछु ।” साथीहरूसँग गफिदै थिए, एक जना सामुदायिक विद्यालयका प्रधानाध्यापकले भन्नु भयो, “विद्यालयमा विद्यार्थी घट्न थाले, राम्रा अभिभावकले आफ्ना बालबालिका संस्थागत विद्यालयतर्फ लानथाले, अब आफू कार्यरत विद्यालयलाई पनि अंग्रेजी माध्यममा सञ्चालन गर्नु प¥यो” । त्यस्तै, एक सामुदायिक विद्यालयका शिक्षक सहित अन्य साथीहरूसँग अनौपचारिक गफ हँुदै गर्दा एक विद्यालयका शिक्षकले भन्नु भयो, “गतवर्षबाट अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने भनेर भर्ना अभियान सञ्चालन गरेको विद्यार्थी सङ्ख्यामा वृद्घि भयो”।
माथि उल्लेख गरिएका प्रतिनीधि भनाइहरूले के संकेत गर्छ भने नेपालमा सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत अंग्रेजी माध्यमको पठनपाठनको माग भइरहेको छ वा मानिसहरू यस प्रति आकर्षित भइरहेका छन् । किन अंग्रेजी माध्यमप्रति मानिसहरूको आकर्षण भइरहेको छ ? अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दा बालबालिकाहरूको अंग्रेजी भाषामा विकास हुन्छ त ? लगायतका सवालहरूको यस लेखमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
भाषा सिकाइ र अंग्रेजी माध्यम
बालबालिकाहरूले मातृभाषा आफ्नै घर परिवेशमा सिक्छन भने बहुभाषिक समाजमा दोस्रो भाषा पनि आफ्नै सामाजिक परिवेशमा सिक्छन तर विदेशी भाषा सिक्नका लागी विद्यालय गएर पढेपछि सिकिन्छ भन्ने मान्यता रही आएको छ । नेपालको सन्दर्भमा अंग्रेजी भाषालाई विदेशी भाषाको रुपमा लिइन्छ र यो भाषा नेपालको विद्यालय शिक्षा देखी उच्च शिक्षासम्म अंग्रेजी भाषा शिक्षणको नाममा विषयको रुपमा पढाइ हुन्छ । तर आजभोलि अंग्रेजीलाई एक विषयको रुपमामात्र नभएर अंग्रेजी माध्यमको रुपमा पठनपाठन सञ्चालन गर्ने गरिएको पाइन्छ । अंग्रेजी सिक्नका लागि अंग्रेजी माध्यममै कक्षा सञ्चालन गर्नु पर्छ त ? यो आजभोलि सर्वाधिक बहसको विषय रहेको छ ।
विद्वानहरू भाषासिकाइका लागि प्रारम्भिक कक्षाबाट नै अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने विषयमा सहमत छैनन् । आफ्नो घरपरिवारमा आफ्नो मातृभाषा सिकेर भर्खर विद्यालय गएको बच्चालाई अंग्रेजी माध्यममा पढाएमा उसले कक्षाकोठालाई आफ्नो ठान्न सक्दैन, उसले जानेको भाषा कक्षाकोठामा प्रयोग गर्न नपाएमा ऊ अक्क न बक्क हुन्छ, उसमा विद्यालय प्रति वितृष्णा उत्पन्न हुन सक्छ र उसको सिकाइ प्रकृयामा पनि अवरुद्धता आउँछ भनेर विद्वानहरूले चर्चा गर्ने गरेका छन र उनीहरू प्रारम्भिक कक्षामा बालबालिकाले जानेकै भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गरेर दोस्रो, तेस्रो भाषा पढाउनु पर्छ भनेर आफ्नो मत जाहेर गरिरहेका छन् ।
यस्तै नेपालको शिक्षानीति, नियम तथा कानुनहरूमा पनि प्रारम्भिक कक्षाहरू मातृभाषामा वा नेपाल बहुभाषिक समाज भएकाले एक भन्दा बढी भाषा प्रयोग गरेर पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ । तर हाम्रा विद्यालयहरू प्रारम्भिक कक्षाबाट नै अंग्रेजी माध्यमतर्फ लम्किरहेका छन् । भाषा सिकाइका सिद्धान्त एवम् यसका आधारभूत तत्वहरुका बारेमा ग्रामीण स्तरसम्म अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू जानकार नहुनुका कारणले पनि मानिसहरू अंग्रेजी माध्यमतर्फ बढिरहेका हुन भनेर नेपालमा भाषानीतिका क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरू बताइरहेका छन ।
अंग्रजी सिकाइप्रति उनिहरुको विमति नरहेपनि अंग्रजी माध्यममा पठनपाठन गर्नका लागि आवश्यक भौतिक एवं संरचनागत तथा जनशक्तिको प्रबन्ध नगरि अंग्रेजी माध्यममा कक्षा संचालन गर्दा बालबालिकाहरुको संज्ञानात्मक विकास र सृजनात्मक क्षमतामा ह्रास आउने तर्क उनिहरुको छ ।
हुनु पर्ने के हो त ?
नेपाल बहुभाषिक समाज हो । एउटै समाजमा पनि धेरै भाषाहरू बोलिन्छन् । यस्तो समाजमा एउटा मात्र भाषालाई माध्यम भाषा बनाएर पढाउनु उपयुक्त हँुदैन भन्ने मत भाषा सिकाइका क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेकाहरूको रहेको छ । अंग्रेजी वा नेपाली तथा कुनै एउटा मात्र मातृभाषालाई माध्यम भाषाको रुपमा पढाउनु भनेको एकल भाषानीतिलाई प्रश्रय दिनु हो । तसर्थ बालबालिकाले बोल्ने सबै भाषाहरूलाई कक्षाकोठामा बोल्ने वा प्रयोग हुने परिवेश सृजना गरी शिक्षण गरेमा यस्तो सिकाइलाई बालबालिकाहरूले पनि अपनत्व ग्रहण गर्छन र आफूले जानेको भाषा प्रयोग गर्न पाउने भएपछि निर्धक्कसँग सिक्छन् भन्ने मत विद्वानहरूको छ र उनीहरूका अनुसार बहुभाषिक समाजमा ‘बहुभाषिक शिक्षण’ गरेर बालबालिकाको अंग्रेजी सहित अन्य भाषाको पनि विकास गर्न सकिन्छ ।
निष्कर्ष
सिन्धुली जिल्लामा पनि बहुसंख्यक आदिवासी जनजाति समुदाय जस्तै तामाङ्ग, दनुवार, राई, माझी, मगर, नेवार, सुनुवार, हायु लगायतका मातृभाषीहरूको बाहुल्यता रहेकाले यस जिल्लाका विद्यालयहरूमा बालबालिकाहरूले प्रयोग गर्ने मातृभाषाहरुलार्ई माध्यमभाषाको रुपमा प्रयोग गरी ‘बहुभाषिक शिक्षण’ अपनाइ अंग्रेजी सिकाउने वातावरण सृजना गर्न सके विद्यार्थीको विद्यालय छोड्ने दरमा कमी आउनुका साथेै प्रभावकारी भाषा सिकाइ समेत हुन्छ भनि अन्य देशमा भएका अध्ययन र प्रयोगका आधारमा भन्न सकिन्छ । तसर्थ ‘बहुभाषिक शिक्षण’ विधिमा जोड दिनु नगरपालिका एवं गाउँपालिका लगायत शिक्षासँग सरोकार राख्ने अन्य निकाय तथा सरोकारवालाहरूको बुद्धिमतापूर्ण कार्य हुनेछ भन्ने लाग्छ । अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न आवश्यक पर्ने न्युनतम पनि भौतिक एवम् शैक्षिक जनशक्ति पूर्वाधार व्यवस्था नभएका हाम्रा सामुदायिक विद्यालयका सरोकारवालाहरूले अंग्रेजी भाषा सिक्न अंग्रेजी माध्यममै कक्षा सञ्चालन गर्नु पर्छ भन्ने भ्रमबाट मुक्त भई बहुभाषिक शिक्षण विधि अपनाएर अंग्रेजी सिकाइ हुने वातावरण विद्यालयमा सृजना गर्नु नै आजको अपरिहार्यता हो । यसतर्फ सबै सरोकारवालाहरूको ध्यान जान जरुरी छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी शिक्षामा पि.एच.डि. गर्दै हुनुहुन्छ ।)