लेखक ; देवराज अधिकारी
सिन्धुली जिल्ला
सिन्धुली जिल्लाको कुल क्षेत्रफल २४९१ वर्ग कि.मि. छ जसमध्ये ६२,७१३ हेक्टर (२५.३१%) जमीन खेतीयोग्य छ । यस जिल्लाको औसत लम्बाई १०६ कि.मि. र चौडाई २३.३ कि.मि. छ । समुद्री सतहबाट न्यूनतम १६८ मिटर देखि अधिकतम २७९७ मिटर सम्मको उचाईको विविधता यस जिल्लामा पाईन्छ । यस जिल्लाको क्षेत्रफल नेपालको कुल क्षेत्रफलको १.६९ प्रतिशत हो । मुलुकको प्रशासनिक संरचना अनुरुप नेपालका ७७ वटा जिल्लाहरु मध्ये सिन्धुली जिल्ला वागमती प्रदेश अन्तर्गत पर्दछ । मध्य पहाडी भूभागमा पर्ने यस जिल्ला दुई नगरपालिकाहरु र सात गाउँपालिकाहरु गरि जम्मा नौ वटा स्थानीय तहहरुमा विभाजित रहेको छ । धरातलिय स्वरुप विविध भएको कारणले यस जिल्लाको हावापानी पनि विविधतापूर्ण छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा यहाँ पाइने वनस्पति र जिवजन्तुहरुमा विविधता पाईन्छ । काष्ठ र गैह्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । जुनार र सुन्तलामा प्रशिद्धि कमाएको यस जिल्लाको निर्यातजन्य अन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, साथै बिभिन्न जडीबुटीहरु रहेका छन् ।
वि.पि. राजमार्गः दक्षिण एसिया तथा नेपालकै उत्कृष्ट एवं आकर्षक राजमार्गको रुपमा ख्याति कमाउन सफल वि.पि. राजमार्गको नेपालथोक खण्ड देखि सिन्धुलीमाढी, भिमान सम्मको खण्ड यस जिल्लामा पर्ने भएकाले यो राजमार्ग हेर्नकै लागि समेत यस जिल्ला प्रसिद्ध भएको छ । जुनार फलको बजारीकरणमा समेत यस राजमार्गको ठूलो देन रहेको छ । कृषि र पर्यटन दुवैको सँगसँगै विकास गर्नुपर्छ भन्ने विकसित नयाँ अवधारणा अनुरुप यस जिल्लाका मुख्य जुनार पकेट क्षेत्रहरु तिनकन्या, रतनचुरा र बाशेश्वर लगायत अन्य विस्तार हुँदै गरेका क्षेत्रहरुमा समेत यसको प्रचुर सम्भावना देखिन्छ । जुनारका पकेट क्षेत्रमा रहेका कृषकहरुका ठूला ठूला बगैँचाहरु हाल व्यवस्थित मोटर बाटोसँग नजोडिए तापनि ग्रामिण सडकबाट यी स्थानहरुमा पुग्न सकिने अवस्था रहेको छ । सोको अवलोकन गर्न विभिन्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । जुनार पाक्ने समयमा मानिसहरुले बगैँचामै पुगि फल किन्ने तथा बगैँचा अवलोकन गर्ने समेत चाहना राख्ने तर यातायातको असहजताका कारणले सो सम्भव नभएको परिप्रेक्ष्यमा सहजताका साथ पुग्न सक्ने व्यवस्थित सडकले यी क्षेत्रहरुलाई जोड्न सकेमा आगामी दिनमा यी क्षेत्रहरुमा पर्यटन व्यवसायलाई समेत उद्यमका रुपमा विकास गर्न सकिने सम्भावना देखिन्छ ।
जुनारको परिचय र ईतिहास
जुनारलाई अँग्रेजीमा स्वीट अरेन्ज (Sweet Orang) भनिन्छ, भने यसको वानस्पतिक नाम सिट्रस साइनेन्सिस (Citrus sinensis) हो । जुनार सुन्तलाजात अमिलोजात फलफूल सिट्रस (Citrus) बर्गमा पर्ने आफ्नै छुट्टै विशेष किसिमको रंङ्ग, आकार र विशेषता भएको विश्वमा नै आफ्नै छुटटै नामले परिचित नेपालको एक मौलिक फल हो । सिन्धुली जिल्लाले जुनार फल उद्गम स्थलको श्रेय पाएको छ । जुनार नेपालमा पाईने एक मौलिक फल हो । उत्पतिः संसारमा सिट्रस जातको फलफुलको ईतिहास करिव तीन करोड बर्ष भएता पनि नेपालमा जुनारको ईतिहास लगभग दुई तीन सय बर्ष पुरानो रहेको अनुमान गरिएको छ । जुनारको उत्पत्तिको विषयमा बिभिन्न विज्ञहरु, यस क्षेत्रमा काम गर्दै आएका अग्रजहरुबाट प्राप्त जानकारी अनुसार जुनारसँग सत प्रतिशत गुण मिल्ने सुन्तला जातको फल हालसम्म नभेटिएकोले यो फल कतैबाट भित्रिएको नभई सिन्धुली जिल्लामा पहिलो पटक भेटिएको स्थानीयहरुको अनुभव रहेको छ । प्राकृतिक रुपमा नै सुन्तलाजात फलफुलको क्रस पोलिनेशनबाट नयाँ फलको उत्पत्ति भएको हुन सक्दछ । आफ्नो करेसामा छुट्टै विशेष किसिमको रङ्ग, आकार र विशेषता भएको स्वादिलो नयाँ फल फल्न थाले पछि त्यसलाई आफन्त, मान्यजन,र ठुलाबढालाई कोसेलीको रुपमा लैजाने चलन भयो । तत्कालिन समयमा खानको लागि आदर पुर्वक अनुरोध गर्दा ज्यूनार भन्ने चलन रहेको हुनाले ज्यूनारबाट उक्त नयाँ फलको नाम जुनार रहन गएको भनाई जुनार खेतीमा संलग्न बयोबृद्ध कृषकहरुको रहेको छ । यध्यपी नेपालमा सुन्तलाजात खेती नामक पुस्तकमा तोमियासु र साथिहरुले जुनारको उत्पत्ति सन्दर्भमा आईसोजाईम तरिकाबाट प्रोटिनको उबततभचल हेर्दा ज्बmष्लि खबच. संग एउटै उबततभचल पाईएकाले यो फल बाहिरबाट भित्रिएको हुन सक्दछ भनि उल्लेख गर्नुभएको छ । शुरुमा राणाकालीन शासन व्यवस्थामा राणाहरुले विदेशबाट फल ल्याई आफ्ना मान्यजनहरुलाई सौगात स्वरुप ज्यूनार होस् (खानु हवस) भन्दा भन्दै यो रसिलो फलको नाम अपभ्रंस भई जुनार रहन गएको हो भन्ने जनश्रुती रहेको छ । यसको बीउ कसरी फैलियो भन्दा त्यसताका सिन्धुली जिल्लाको रतनचुराका हायुहरु र नाकाजोलीका मगरहरु राणा दरवारमा रहेकाले त्यो रसिलो फलको बीउ संकलन गरि आफ्नो गाउँमा ल्याई रोपे । त्यस पछि विस्तारै त्यहाँबाट अन्य क्षेत्रमा फैलदै गएको हुन सक्ने अनुमान रहेको छ । जुनारको उत्पत्ति सम्बन्धमा बिभिन्न भनाईहरु पाईन्छन् । सबैमा सिन्धुलीकै प्रसँग रहेको छ । वर्तमान समयमा सिन्धुली जिल्लामा जुनारको व्यवसायिक खेती भैरहेको र सोका लागि उपयुक्त हावापानी र माटो रहेकोले सिन्धुली जिल्लाको महाभारत क्षेत्र नै जुनारको उद्गम हो भन्दा अतिशयोक्ति नहोला ।
सिन्धुली जिल्लामा जुनारको ऐतिहासिक विकासक्रमः आर्थिक वर्ष २०३८/०३९ सिन्धुली र रामेछाप जिल्लामा विशेष जुनार खेती कार्यक्रम संचालन भई जुनार नर्सरी र बगैचा स्थापना भएको पाईन्छ । सिन्धुली जिल्लामा आर्थिक वर्ष २०६३÷०६४ को बजेट वक्तव्य मार्फत एक गाँउ एक उत्पादन कार्यक्रम जुनार बालीमा लागु भएको थियो । त्यस्तै एक जिल्ला एक उत्पादन कार्यक्रम कार्यान्वयनमा रहेको थियो । सिन्धुलीमाढीमा ५०० मे.ट. क्षमताको जुनार शित भण्डारण साथै जुस उद्योग रहेको छ । बि सं २०६९ सालमा सिन्धुलीको जुनार फल निर्यातका लागि चीन सरकारसँग सम्झौता भई सोका लागि विभिन्न कृयाकलापहरु अगाडी बढ्दै गरेका छन् । जुनारको संस्थागत विकासको पक्षलाई नियाल्दा जुनार खेती गर्ने कृषकहरु जुनार उत्पादक सहकारीमा आबद्धता रहेको र जिल्लामा जिल्ला जुनार उत्पादक सहकारी संघ, सिन्धुली र केन्द्रमा केन्द्रीय जुनार सहकारी लिमिटेड रहेकाछन् । सिन्धुली जिल्लामा तेत्तीस वटा प्रारम्भिक जुनार उत्पादक सहकारीहरु रहेका छन् । यसै गरी बि. सं. २०५०, ५१ साल तिर जुनार विकास संघ, सिन्धुलीको स्थापना भएको थियो । सिन्धुली जिल्लाको महाभारत क्षेत्रमा अनुकुल मौषम रहेको र खेतीपाती भैरहेको जुनार फल विगतमा बोटमा फलेको फल कठिन भुगोलका कारण मानिसले नै पिठ्यूमा ढुवानी गरि जिल्ला सदरमुकाममा ल्याई बेच्नु पर्ने बाध्यता रहेको थियो । हाल जिल्ला भित्रैको रतनचुरा, खनियाखर्क देखि तिनकन्या तथा बाशेश्वर सम्मको सडक साथै भित्री सडकहरुले जुनार ओसार पसारमा सहजता ल्याएको छ । यसका अलवा बि. पि. राजमार्ग मार्फत जुनार देशका मुख्य शहरहरुमा पुगेको छ । सडक संजालको विकाससँगै जुनारको प्रबिधि विस्तार साथै उत्पादन सामाग्रीहरुको पहुँचमा सरलता भएकोछ, फलस्वरुप व्यवसायिक जुनार खेतीमा त्यस क्षेत्रका कृषकहरुको चाख बढ्दो छ । जुनार उत्पादन हुने पकेट क्षेत्रहरुमा संकलन केन्द्रहरुको स्थापना भएको छ ।
बिगतमा जिल्ला कृषि विकास कार्यालयद्वारा जुनारको व्यवसायिक खेतीका लागि प्रबिधि विस्तार, क्षेत्र विस्तार साथै बजारिकरणमा सहयोग हुदै आएको थियो। आ.व. २०७३/७४मा नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत जुनार जोन र आ.व. २०७४÷७५ देखि सुपरजोन कार्यक्रम कार्यान्वयनमा रहेको छ। यसले जुनारको व्यवसायिक खेती क्षेत्र विस्तार, उत्पादन बृद्धि, बजारिकरण र उद्योग प्रबर्धनमा कृयाकलापहरु संचालन गर्दै आएकोछ। विगत ५,७ बर्षयता जुनार फलमा औंसा कीराको समस्याले उत्पादनमा क्षति पुर्याएकोमा यसको व्यवस्थापनका लागि बि.सं.२०७५ सालमा परीक्षणको रुपमा अबलम्वन गरिएको चिनिया प्रबिधिमा आधारित क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी पाईएको थियो। यही प्रबिधि अनुसार बि.सं.२०७६, २०७७ सालमा व्यापक रुपमा प्रोटिन बेट स्प्रे गरिएकोमा उत्साहजनक नतिजा पाईएको छ। यध्यपी स–साना देखि ठुला, छरिएका बगैचाहरु साथै प्रबिधि अनुसरणमा सबैको सहभागीता चुनौतीको रुपमा रहेको छ। यसर्थ ठुला–ठुला क्षेत्रमा एकै व्यवसायी आवश्यक पुर्वाधारहरुका साथ लगानी गरि जुनार उत्पादन व्यवसायमा लागेमा प्रबिधि अबलम्बनमा सहजता भई उत्पादन बढाउन सकिन्छ।
हालको अवस्था
जुनारको उत्पत्ति र नामाकरण गर्ने शौभाग्य पाएको सिन्धुली जिल्ला हाल आएर सिन्धुली र जुनार एक अर्काको पर्यावाची भैसकेको छ । सिन्धुली जिल्ला नेपालमै जुनारको लागि प्रशिद्ध जिल्लाको रुपमा चिनाउन सफल भैसकेको छ । भने हालको जूनारको खेती बिस्तार र विकासको क्रमलाई हेर्दा सिन्धुली जिल्लामा उत्पादित जुनारले नेपाललाई नै अन्तराष्ट्रिय क्षेत्रमा परिचय गराउन अग्रसर भएको छ । सिन्धुलीबाट रामेछाप जिल्लामा समेत खेती विस्तार भई ब्यापक रुपमा ब्यवसायिक खेती भईरहेको छ भने, पुर्वमा धनकुटा देखि पश्चिम डडेलधुरा सम्म बिभिन्न जिल्लामा जुनार खेती भैरहेको छ । सिन्धुली जिल्लामा कुल १३४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा ७२५ हेक्टर उत्पादनशिल क्षेत्रफलबाट ८८८१ मेट्रिक टन जुनार फल उत्पादन हुने तथ्यांक रहेको छ । यद्यपी उत्पादनलाई बगैचामा र उत्पादन उपरान्त हुने क्षतिबाट जोगाउन जरुरी रहेको छ । यसका साथै सिन्धुली जिल्लाको पुर्व देखि पश्चिम सम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेतीको संभावना रहेकोछ । यथार्थमा जुनारको उत्पादन बजार मागको हिसाबमा एकदमै न्यून रहेको छ र व्यवसायिक क्षेत्र विस्तारमा लाग्नु पर्ने आवश्यकता रहेको छ।
नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रायलद्धारा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन ईकाइ जुनार सुपरजोनको कार्य क्षेत्र सिन्धुली जिल्लाको मुख्य रुपमा जुनार खेती हुने क्षेत्रहरु गोलन्जोर गाउँपालिकाको वडा नं. १ देखि ६, कमलामाई नगरपालिकाको वडा नं. ३, सुनकोशी गाउँपालिकाको वडा नं. ७ र तिनपाटन गाउँपालिकाको वडा नं. ७ समेटिएको छ । वर्तमान समयमा आन्तरिक एवं बाह्य बजार र उपभोत्ताको उच्च माग रहेको सुन्तलाजात फलफूलको उत्पादन बृद्धि गर्नका लागि क्षेत्र विस्तार साथै उन्नत प्रबिधिको प्रयोग गरि उत्पादकत्व अभिबृद्धि गर्नु पर्ने आवश्यकता रहेकोछ । जुनारको उत्पादन बृद्धिका लागि गुणस्तरिय विरुवा उत्पादन गर्न स्क्रिन हाउस, बगैचा व्यवस्थापनका लागि प्राबिधिक ज्ञान, सीपको सेवा, रोग कीरा व्यवस्थापन सहयोगका कार्यक्रमहरु संचालनमा रहेका छन् ।
पुर्वाधार विकास र प्रबिधि अनुसरण गरि जुनार उत्पादनमा लगानीको अवसर
व्यवसायिक खेतीमा सफल हुनका लागि पुर्वाधार विकास र कृषि प्रबिधिको प्रर्याप्त अनुसरण जरुरी हुन्छ । जुनार खेतीमा आधुनिक तवरले बगैचा स्थापना र व्यवस्थापनका लागि सिफारिस प्रबिधिहरु र केहि पुर्वाधारहरु उपलब्ध छन् । जुनारको गुणस्तरिय विरुवा उत्पादनका लागि स्क्रिन हाउसहरु जुनार क्षेत्रमा प्रर्याप्त संख्यामा रहेका छन् । जुनारको बगैचा र रोग कीरा व्यवस्थापनका लागि आधुनिक प्रबिधिहरु उपलब्ध छन् साथै जुनार खेतीमा अनुभवी कृषकहरु रहेका छन् । नेपाल जस्तो थोरै थोरै क्षेत्रमा खेती गर्ने स–साना कृषकहरु भएका त्यसमा पनि बहुबर्षे फलफूल खेतीमा सबै कृषकहरुबाट उन्नत प्रबिधि अबलम्बन, अनुसरण एक चुनौतीको रुपमा रहेकोछ । यसले केहि सामूहिक रुपमा व्यवस्थापन गर्नु पर्ने समस्याहरु समाधानमा जटिला थप्दछ । यथार्थमा कृषकले आम्दानीको १५ देखि २० प्रतिशत रकम अर्को बर्षको उत्पादनका लागि लगानी गर्नु पर्ने हुन्छ । यस सन्दर्भमा व्यवसायिक जुनार खेतीका लागि पुर्वाधार विकास र प्रबिधि अनुसरणका गरि जुनार उत्पादनमा सामूहिक रुपमा वा निजी क्षेत्रबाट उच्च लगानीको आवश्यकता र अवसर रहेको छ। विकसित मुलुकहरुमा धेरै धेरै क्षेत्रफलमा यान्त्रीकरणका साथ खेती गरि उत्पादन लागत न्यून रहेको पाईन्छ। नेपालको परम्परागत फलफूल खेतीमा व्यवसायिकरण र आधुनिकीकरणका लागि सरोकारवाला निकायहरुको ध्यान जान जरुरी रहेको छ। यसले मात्र सुन्तलाजात फलफूलको आयात प्रतिस्थापन र निर्यात प्रबर्धन गर्ने मुलुकको लक्ष्य हासिलमा टेवा पुग्न सक्नेछ। सिन्धुली जिल्ला जुनारको गुणस्तरीय उत्पादनको लागि उपयुक्त क्षेत्र, विगत र हाल राम्रो उत्पादन, खेती योग्य जग्गा प्रशस्त भएको (व्यापक क्षेत्र विस्तारको संभावना), पर्यटकीय क्षेत्र, जिल्लामा जुनार शित भण्डार र जुस उद्योगको पुर्वाधार रहेको, फलको माग बढ्दो (स्थानीय एवं अन्तराष्ट्रिय स्तरमा), उत्पादन स्थल सम्म सडक संजाल फैलदै रहेको आदी तथ्यहरुले सिन्धुलीमा जुनारमा लगानीको सान्दर्भिकता स्ष्पष्ट पारेको छ।
लेखक देवराज अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुलीमा बरिष्ठ कृषि अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।