शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जुनारको बोटमा रातो रिबन

आइतवार , जेठ २५, २०७७

                                                                                                                                                         लेखक

देवराज अधिकारी, बरिष्ठ कृषि अधिकृत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपरजोन, सिन्धुली

जुनार तथा सुन्तलाजात फलफूलमा औंसा कीराको समस्याले नोक्सानी पुर्‍याउन सक्दछ । सिन्धुली र आसपासका जिल्लाहरुमा बिगत ५, ७ बर्षयता सुन्तलाजात फलफूलमा औंसा पार्ने झिंगाको व्याक्ट्रोसेरा मिन्याक्स (चाईनिज सिट्रस फ्लाई) प्रजातिले आक्रमण गरि फलमा क्षति गरेकोछ । फल कुहाउने औंसा पार्ने झिंगाको बिभिन्न प्रजातिहरु हुन्छन् ति मध्येको चाईनिज सिट्रस फ्लाई अन्य प्रजातिहरु भन्दा ठुलो आकारको हुन्छ, सुन्तलाजात फलफूलमा मात्र नोक्सानी गर्दछ र एक बर्षमा एक मात्र जीवनी पुरा गर्दछ । यो प्रजातिको झिंगा अन्य प्रजातिहरु जस्तो मिथायल युजेनल वा क्यू ल्यूरमा आकर्षित हुदैनन् । यसका वयस्क झिंगाहरु प्रोटिनयुक्त आहारमा आकर्षित हुन्छन् । त्यसैले यसको वयस्क झिंगाहरुको अनुगमन र व्यवस्थापनको लागि प्रोटिन चारोको प्रयोग सिफारिस गरिएकोछ । प्रोटिन हाईड्रोलाईसेटमा कीटनाशक बिषादी मिसिएको चारो निश्चित स्थानमा (spot application) राखेर या छरेर वयस्क झिंगाहरुलाई चारो (अन्तिम भोजन) खुवाएर मारेर झिंगाहरुको संख्यामा कमी ल्याई व्यवस्थापन गर्ने गरिएकोछ । यस बिधि अनुसार प्रोटिन चारो फलेको सुन्तलाजात फलफूलको निश्चित बोटमा छर्नका लागि चिन्हो लगाउन जुनार तथा सुन्तलाजात फलफूल बोटको हाँगामा रिबन बाँधिन्छ । यसरी फलेका तीन सुन्तलाजात फलफूल बोटहरु मध्ये एक बोटको हाँगामा रिबन बाधेर चिन्ह लगाएको बोटको पात मुनि पट्टि ०.५ देखि १ बर्ग मिटर क्षेत्रफल तयारी प्रोटिन बेट छरिन्छ । अहिले सिन्धुली जिल्लाको जुनार बगैचाहरुमा जहाँ प्रोटिन बेट स्प्रे कार्य गरिएको छ ति बगैचाहरुको निश्चित बोटहरुमा रातो रिबन लगाईएकोछ । क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको बिधि अनुसार वयस्क झिंगाहरुलाई मार्नका लागि कुनै निश्चित स्थानको सबैजसो बगैचाहरु समेटिने गरि कीराको जीवनी र आनीबानी अनुसार १० हप्ता सम्म प्रत्येक हप्ता १ पटक सामुहिक रुपमा प्रोटिन बेट स्प्रे कार्य गर्नु पर्दछ । यसको लागि प्राबिधिक र व्यवस्थापकिय पक्षहरु रहेका छन्। औंसा परेका सुन्तलाजात फलहरु सद्धे फलको तुलनामा हलुका हुन्छन् । बिग्रेको फल काटेर हेर्दा गुदीमा सेता औंसाहरु देखिन्छन् । झिंगाको लार्भा अवस्था कार्तिक, मंसिर महिना देखि चैत्र सम्म माटो मुनी अचल अवस्थामा रहेको प्यूपा अवस्थाबाट चैत्र, बैशाख महिना जमिनबाट वयस्क झिँगाहरु निस्कने समय हो । बैशाख, जेठ, असार र साउनमा पोथी झिँगा फुल पार्न सक्रिय हुने र सुन्तलाजात फलफूलको बोक्रामा फुल पार्ने बेला हो । झिँगाहरुलाई फुल पार्नको लागि प्रोटिनको आवश्यकता परे अनुसार चैत्र, बैशाख, जेठ र असार महिनामा पोथी झिँगाहरु प्रोटिनयुक्त आहारको खोजीमा हुन्छन् । यस बेला यिनीहरुले रुचाउने प्रोटिनको स्रोत प्रोटिन हाईड्रोलाइसेटको चारो प्रयोग गरी समूहमा मार्न सकिन्छ । विषाक्त प्रोटिन हाईड्रोलाइसेटलाई ठाउँ–ठाउँ (स्पोट) मा उपचार गरेर झिँगाहरुलाई मार्न सकिन्छ । कीराको जीवन चक्रको अचल अवस्था (प्यूपा) जमिनमा माटो मुनि रहने भएकाले संक्रमित फलहरुलाई बेवास्ता गरि वरपर त्यसै माटोमा फाल्नु हुदैन । साउन, भदौ, असोज र कार्तिक महिना फलहरु औंसाद्वारा संक्रमित हुने बेला हो। भने कार्तिक, मंसिर महिनामा संक्रमित फल भित्र भएका औंसाहरु छिप्पिए पछि फल झरे पश्चात् वा फल बोटमै भएको अवस्थामा बोक्रामा प्वाल पारि माटो मुनी प्यूपेशनमा जाने हुन्छन् । सो समयमा माटो भित्र पसी प्युपा (अचल अवस्था)मा जानु अगाबै औंसाहरुलाई निस्तेज गर्न उपायहरु कीरा संक्रमित फलहरु नियमित संकलन गरी १ देखि १.५ मिटर गहिरो खाडलमा जमिनको सतहबाट कम्तिमा ३० से.मी. भित्र पर्ने गरी माटोमा पुर्नु पर्छ । वा यस्ता संक्रमित फलहरु कालो प्लाष्टिकको थैलामा हावा न छिर्नेगरी बन्दी अवस्थामा केही दिन राखेर पनि त्यसमा रहेका औँसाहरु मार्न सकिन्छ । वा औँसा संक्रमित फलहरु जम्मा गरेर जलाइदिँदा वा फल प्रशोधनमा उपयोग गरेर फल भित्रका औँसाहरुलाई मार्न सकिन्छ । उक्त फलहरुलाई गाई वस्तुलाई खुवाउंदा वा गोवर ग्याँसको संयन्त्रमा हालेर तथा फलमा भएका औंसाहरु कुखुरालाई खुवाएर पनि कीराहरु मार्न सकिन्छ। जे जसरी होस् संक्रमित फलहरु भित्र रहेका औँसाहरुलाई मार्नु पर्छ । सिन्धुली जिल्ला जुनारको कीरा व्यवस्थापन गर्न क्षेत्रगत नियन्त्रण कार्यक्रमका उपलब्धि र चुनौती : जुनार फलको औंसा कीरा व्यवस्थापनका लागि विगतमा २०७५ बैशाख देखि असार मसान्तसम्म गोलन्जोर– ४, तिनकन्या, सिन्धुलीको ८०० रोपनी जुनार बगैँचामा प्रोटिन हाईड्रोलाईसेट प्रयोग गरि अबलम्वन गरिएको क्षेत्रगत नियन्त्रण कार्यक्रम प्रभावकारी पाईएको थियो । आ. ब. २०७५/७६मा जुनार सुपरजोन कार्यालयको प्राबिधिक नेतृत्व, प्रोटिन बेट खरिदमा ५० प्रतिशत अनुदान र जुनार सुपरजोन संचालक समितिको अगुवाईमा जुनार बगैचा धनिहरुबाट प्राप्त साझेदारी रकमको आधारमा व्यापक क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम जुनार सुपरजोनको कार्यक्षेत्रको बिभिन्न ८ कलष्टरहरुमा संचालन गरिएको थियो । यस बर्ष यसको नतिजा उत्साहजनक पाईएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार गत बर्ष २०७५ मा जिल्लाको ३५ प्रतिशत जुनार फलमा औंसा कीरा संक्रमण रहेकोमा २०७६मा फलको क्षति १५ प्रतिशत मा झरेको छ । संक्रमित फलको ओसारपसारले कीरा एक ठाउँबाट अर्को ठाउँमा सजिलै फैलन सक्ने साथै कीरा टाढा–टाढा सम्म उड्ने क्षमता र एउटै वयस्क झिँगाले धेरै फलहरुमा फुल पार्न सक्ने क्षमताले गर्दा यसको सपूर्ण व्यवस्थापनका लागि सबै बगैचा धनीहरुले क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रममा सहभागी भई प्रोटिन बेट स्प्रे गरिनु पर्ने हुन्छ । तर जुनार क्षेत्रका कृषकहरुको सामाजिक संरचना, छरिएका बगैचाहरु, जुनार खेतीको क्षेत्रफल, प्रबिधि अनुसरणमा ईच्छा आदीले गर्दा सबै कृषकहरुबाट ५० प्र्रतिशत साझेदारी रकम जुटाउन जटिलता रहेको यथार्थ हामी माझ छ । स–साना बगैचा (५–१० बोट भएका) धनीहरुले ५० प्रतिशत साझेदारी रकम जुटाउन नसक्ने र नचाहने, बगैचा धनी स्थानीय स्थानमा नरहेका बगैचाहरुबाट ५० प्रतिशत साझेदारी रकम जुट्न गाह्रो, ठुला बगैचा धनीले समेत ५० प्रतिशत साझेदारी रकम जुटाउन फलेका बोट संख्या घटाउने आदी चुनौतीको रुपमा रहेको छ । कीराको प्रभावकारी व्यवस्थापनका लागि प्राबिधिक रुपमा सबै बगैचाका फलेका सुन्तलाजात फलफूलका बोटहरु समेटिनु पर्ने भएकाले यस अवस्थामा कीराबाट हुने नोक्सानी रोक्न चुनौती देखा परेकोछ । यस आ. ब. २०७६/७७मा जुनार तथा सुन्तलाजात फलफूलको औंसा कीरा व्यवस्थापनका लागि जुनार सुपरजोनको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम अन्तर्गत कृषकहरुबाट जम्मा भएको साझेदारी रकमको आधारमा प्रोटिन बेट छर्ने कार्य शुरु भएको छ । २०७७ बैशाख २७ गते शनिवार देखि सुनकोशी– ७ मझुवामा स्प्रे कार्य भएकोछ । २०७७ बैशाख २८ गते आईतवार देखि कमलामाई – ३ जलकन्या, गोलन्जोर– ५ रतनचुरा र गोलन्जोर– ६ नाकाजोलीमा र २०७७ बैशाख ३० गते मंगलवार देखि गोलन्जोर ४ तिनकन्या, गोलन्जोर– ३,२,१ र तिनपाटन– ७ तोश्रामखोलामा क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको बिधि अनुसार फलेका ३ बोट मध्ये १ बोटको निश्चित ठाउँमा कुल जम्मा ६६९३ स्पोटहरुमा चिन्ह लगाई एक भाग प्रोटिन बेटमा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन बिधि अनुसार हप्ताको १ पटक जम्मा १० पटक स्प्रे गर्न ३५ जना स्प्रेकर्ताहरुलाई परिचालन गरिएकोछ । क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको बिधि अनुसार वयस्क झिंगाहरुलाई मार्नका लागि कुनै निश्चित स्थानको सबैजसो बगैचाहरु समेटिने गरि कीराको जीवनी र आनीबानी अनुसार १० हप्ता सम्म प्रत्येक हप्ता १ पटक सामुहिक रुपमा प्रोटिन बेट स्प्रे कार्य गर्नु पर्दछ । यस बिधि अनुसार प्रोटिन चारो फलेको सुन्तलाजात फलफूलको निश्चित बोटमा छर्नका लागि फलेका तीन सुन्तलाजात फलफूल बोटहरु मध्ये एक बोटको हाँगामा रिबन बाधेर चिन्ह लगाएको बोटको पात मुनि पट्टि ०.५ देखि १ बर्ग मिटर क्षेत्रफल तयारी प्रोटिन बेट छरिन्छ ।

प्रतिक्रिया