शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मरिन खोला, माझी र माओवादी

मंगलवार , चैत्र ११, २०७६

साविकको महादेवस्थान र कपिलाकोट गाविस, हालको मरिन गाउँपालिका जनयुद्धको बेला सिन्धुली जिल्लाको तूफानी केन्द्र थियो । महादेवस्थान गाविसमा मात्रै २४ जनाले शहादत प्राप्त गरेका थिए । जनयुद्धबेला देशभरिमा एउटै गाविसबाट सबैभन्दा बढी शहादत प्राप्त गर्ने गाविसमध्ये यो दोस्रो गाविस हो ।

शहीद शेरमान कँवर (विशाल) जस्ता साहसी र लोकप्रिय नेता यही गाविसको हुनुहुन्थ्यो । अनि जनमुक्ति सेनाको सफल डिभिजन भाइस कमान्डर हरिबहादुर श्रेष्ठ (प्रमोद) पनि यही महादेवस्थान गाविसकै हुन् । त्यस्तै बुद्धिमान माझी (वसन्त), तुलबहादुर माझी (जीतबहादुर) जस्ता नेताहरू पनि यही गाविसका हुन् । उता कपिलाकोट गाविसमा पनि एकबहादुर राना मगर (प्रशान्त), २०५२ साल फागुन १ गते ऐतिहासिक सिन्धुलीगढी प्रहरी चौकी कब्जा गर्दा भाग लिएका ३३ जना सहभागीहरू मध्ये एकमात्र महिला योद्धा शुभ गुर्मछान(सीमा) पनि यही कपिलाकोटकै हुन् ।

विस्थापित र अंगभंग भएका घाइतेहरूको सूची तयार पार्ने हो भने सयौं सय पुग्छ । स्थानीय स्तरका नेता, कार्यकर्ता, सिपाही र कमान्डरको त कुरै नगरौं । साँच्चै जनयुद्धको एक तूफानी केन्द्र थियो, महादेवस्थान र कपिलाकोट गाविस ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा शहीद शेरमान कँवरकी जीवनसंगिनी नीरकुमारी दर्लामी (शीला) लाई पार्टीको आधिकारिक उम्मेदवार लीलामणि पोखरेलको विरूद्ध अत्यधिक मतले जिताएर पठाएको पनि यहीँका जनताले हो । त्यसपछि २०७० को दोश्रो संविधानसभाको निर्वाचनमा माओवादीका नेता हरिबोल गजुरेललाई जिताएर पठाए । गजुरेल मन्त्री पनि भए । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अत्यधिक मतले पूर्व माओवादीकै नेताहरू हरिबोल र बुद्धिमान माझीलाई जिताएर पठाए । अनि गाउँपालिकामा प्रमुख, उपप्रमुखदेखि सेट नै पूर्व माओवादी पार्टीकै नेताहरूलाई चुनाव जिताएर पठाए । अर्थात् आजसम्म पनि यहाँ पूर्व माओवादीकै रजगज छ ।

हिजो जनयुद्धकालमा विशेषगरी यहाँका माझी, मगर र तामाङ बस्तीमा माओवादीको सेल्टर हुन्थ्यो । आजको माओवादी जिताउने मतदाताहरू पनि खासमा यिनै समुदायका हुन् । हिजो म पनि माओवादी नै थिएँ । माओवादी पार्टी निर्माण, जनयुद्धको तयारी, युद्धको थालनी, झन्डै डेढ दशकको पार्टीभित्र र बाहिरको उथलपुथलपूर्ण संघर्ष र आरोहअवरोहमा जिल्लादेखि केन्द्रसम्मको विभिन्न तहमा रही प्रत्यक्ष भाग लिने एकजना कार्यकर्ता हूँ । सिन्धुलीगढी प्रहरी चौकी कब्जा गर्ने एकजना कमान्डर हूँ ।

यहाँका यी माझी, मगर र तामाङ बस्तीको घरघरमा पुगेको छु । खाना खाएको छु । सुतेको छु । सेल्टर लिएको छु । अर्थात् यहाँका मानिसहरूलाई माओवादी बनाउन धेरै ठूलो मिहिनेत गरेको छु । त्यसैले आज पनि यहाँका मेरा दुःखसुखका साथीहरूले, मलाई असाध्यै माया गर्ने प्रिय मान्छेहरूले मलाई माओवादी नै भनेर चिन्छ्न । आदर, सम्मान र माया गर्छन् ।

पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा म, पार्टी केन्द्रीय सदस्य हरिबहादुर श्रेष्ठ (प्रमोद), जिल्ला अध्यक्ष मोदनाथ तिमल्सिना (विमल) लगायत साथीहरू पहिलोपटक माओवादीभन्दा अलग परिचय बोकेर यी बस्तीहरूमा यही चैतको पहिलो हप्ता पुग्यौं । हाम्रो नयाँ परिचय स्वीकार्न उनीहरूलाई गाह्रो परिरहेको थियो । हामीलाई समाजवादी पार्टीको भन्दा माओवादी पार्टीकै नेताको रूपमा हिजोका ती सहयोद्धा र हितैषीहरूले व्यवहार गरिरहेका थिए । अधिकांशले मलाई गंगा नभनेर प्रभात कमरेड शब्दले सम्बोधन गरिरहेका थिए । सम्बोधनमा उत्तिकै आत्मीयता र प्रेम थियो ।

भुताहामा एकबहादुर राना मगर (प्रशान्त) को घर पुग्यौं हामी । घरसँगै जोडिएको हेटौंडा–चतरा मदन भण्डारी मार्ग कालोपत्रे भैसकेको रहेछ । तर १० बर्ष अघिदेखि बनाउन सुरु गरेको प्रशान्तको एउटा सानो काठेघर अझै बनिसकेको रहेनछ । प्रशान्तकी श्रीमती नीरा आँगनमा थुपारेको बालुवाको थुप्रो देखाएर भन्दै थिइन– “दाइ ! यो बालुवा म एक्लैले बोकेको । ह्याँ भुइँमा ढलान गरौं भनेको । काम गर्ने मान्छे पनि कोई पाइँदैन ।” दुईवटा कालो सुंगुर, चारवटा लौकाटको चल्ला, ८–१० वटा लोकल कुखुरा, ४–५ वटा बाख्रा आँगनमा यताउता घुम्दै थिए । हामीलाई नीराले आँगनमै भात पकाएर खुवाइन । प्रशान्त दुईवटा छोरा पढाउन काठमाडौंमै बसेर सानोतिनो ठेक्कापट्टा गर्छन् । उनी समाजवादी पार्टीको केन्द्रीय सदस्य पनि हुन् । उनले नयाँ शक्ति हुँदा यस मरिन गापामा गापा प्रमुखमा चुनाव लडेका थिए । राम्रो भोट ल्याएका थिए ।

जनयुद्धमा एउटा आँखा गुमाएका घाइते, जनमुक्ति सेनाका बटालियन कमान्डर प्रवीण तामाङ, अर्की कम्पनी कमान्डर मन्जिला, २४ बर्षको सानै उमेरमा गाविस अध्यक्ष बनेका तेजु मगरलगायतका साथीहरू हामीलाई भेट्न प्रशान्तको घरमा आए । “पढ्नेबेलामा बन्दुक बोकेर हिँडियो, दर्जनौं लडाइँ लडियो, घाइते भइयो । काम गरिखानु शरीरले दिँदैन, बसिखानु सम्पत्ति छैन । राज्यले एकपैसा सहयोग गरेन । पार्टीको त कुरै छाडौं । पार्टी सबै नवमण्डलेहरूले कब्जा गर्‍यो ।” कमान्डर प्रवीणको आँखा रसायो ।

मन्जिलाले बीचमै आक्रोश पोखिन– “यस्तो घर न घाटको बिल्लिबाठ हुने थाहा पाएको भए मरिगए पार्टीमा लाग्दैनथे ।” उनको श्रीमान वीरबहादुर मगर बटालियन सहकमान्डर थिए । हरिजीले वीरबहादुरको हालखबर सोध्नुभयो ।

मन्जिलाले झर्किंदै भनिन–“उमेर छउन्जेल लडाइँ लडाउनुभो । अहिले खानेबस्ने ठेगान छैन । बिहानै उठेर ज्यामी काम गर्न जानुभा छ ।” हरिजी निकै भावुक हुनुभयो ।

तेजु मगर स्थानीय चुनावमा प्रशान्तलाई सहयोग गर्न नसकेकोमा दुःखमनाउ गर्दै थिए । स्थानीय चुनावबेला भित्तामा टाँसिएको घुर्मैलो पोस्टर देखाउँदै भन्दै थिए, “माओवादीको उपहार, गाउँगाउँमा सिंहदरबार ! त्यतिबेला यो नारा देख्दा कतिधेरै गर्व लाग्थ्यो । तर अहिले लाज लाग्छ ।” एकछिन गम खाएर फेरि भने तेजुले, “स्थानीय जनप्रतिनिधिहरूको व्यवहार र कमाइ हेर्दा माओवादीको उपहार, गाउँगाउँमा भ्रष्टाचार भन्न मन लाग्छ आजकाल । म पनि २४ बर्षको उमेरमै गाविस अध्यक्ष भएको मान्छे हूँ । अध्यक्षको पदावधि सकिँदा ऋण लागेको थियो मलाई । तर अहिले त दुई बर्ष नहुँदै साथीहरूले चारतले पक्की बिल्डिङ ठड्याउन थाले । माओवादी भनेर मुख देखाउनै लाजमर्दो भो ।”

“कसले ठड्यायो र चारतले बिल्डिङ ?” मैले जिज्ञासा राखें । सबै मुखामुख गर्न थाले । एकजना सामान्य मतदाताले बोले, “थाहा नपाएझैं के सबै मुखामुख गर्छौ ? पार्टीले कारबाही गर्छ भनेर बोल्न डर लाग्यो ? तिमीहरू जस्तो माओवादी पार्टीको सदस्य नभए पनि मैले भोट पानीराजलाई हालेकै हो । तर मेरो भोटलाई गाउँपालिका प्रमुखले भ्रष्टाचारको लाइसेन्स बनाएछ । नत्र पानीराजले त्यत्रो चारतले बिल्डिङ कहाँबाट पैसा ल्याएर बनाए ?”साझापोष्ट बाट साभार ।

प्रतिक्रिया