शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बहस कि व्यवहारिक बिद्रोह ?

बिहिवार , आश्विन २३, २०७६

लेखक : विनोद दाहाल

बहस कि व्यवहारिक बिद्रोह ? आज नागरिकता अनुसारको जन्म दिन, यहीबारेमा सोचिरहेको छु । ऊ दिन यो तारिखमा दशैंको टिका लाउने दिन रहेछ, अहिले पछाडि परेछ । माओवादी पार्टीमा बिद्रोह भएकै थिएन त्यतिखेर एक केन्द्रीय सदस्यले यस्तै दशैंको रौनक भएको बेला जन्मदिन पुरोहित नै राखेर मनाएको देख्दा बिरोधीभावका साथ पार्टीमा एकखालको बहस चलाएको थिएँ । मलाई जोकसैको जन्मदिन उत्सव मनाउने बिषय वा चलन जस्तो लाग्दैन । फेसबुकले नसंझाएको भए म यो दिन आएर गएको पत्तै पाउने थिईंन । कसैले महत्ववोध ठानेमा संस्कारकै रुप नदिऔं भन्न चाहन्छु किनकि हाम्रा यही मनोदशामा टेकेर साम्राज्यवादी ठगहरुले हामीलाई नयाँ तरिकाबाट चुस्न थाल्नेछन् । तत्कालिन एमालेको एकजना केन्द्रीय सदस्यसँग छलफल हुँदा भने, अव कोसँग लड्ने र खाली क्रान्तिका कुरा गरेको ? उनीसँग यो स्थानबाट कुरा थाल्नु पर्नेभयो । अर्को एकजना स्वतन्त्र बामपन्थी हुँ भन्दै माओवादी केन्द्रको माथिल्लो ओहोदामा भाग खोज्दै गरेका व्यक्तिले भने— तपाईंहरु अर्थात (उनले किरणजीपट्टि भन्न खोजेका) क्रान्तिका गीत गाउने मात्र हो, फेरिपनि क्रान्तिको आवश्यकता परेको बेला प्रचण्डनै आएर गर्ने हुन् । उनको भनाईमा क्रान्ति मसुर मान्छेले गर्ने हो, यो भन्ने कुरा हैन । तत्कालिन माओवादी केन्द्रका एकजना त्यस्तै छलफल हुँदा उनले भने, यो पुस्ताका कसैले अव क्रान्तिको नेतृत्व गर्नै सक्दैनन्, सबै अपबित्र भैसके, ५० वर्ष अव क्रान्ति उठ्नै सक्दैन त्यसैले अहिले उपलब्धिको रक्षा गर्दै जे सम्भव हुन्छ त्यही गर्दै जाने नै सहि नीति हुन्छ । यस्ताहरुसँग बसेर गफ गर्नु मात्र समय बिताउने बाहेक केही हुने स्थिति छैन । पार्टी बिघटन भयो अर्थात माओवादीहरु बिभिन्न किसिमका स्थाई गुटमा बिभाजन भएको स्थिति थियो । ती गुटहरुको पार्टी भन्दा पनि व्यवस्थित कार्यबिभाजन भएको बुझ्न गारो थिएन । अन्ततः ती गुटहरु एकएक वटा माओवादी समुहमा बिभाजित हुने निश्चित प्रायः थियो । तत्कालिन हाम्रो समुह किरणको नेतृत्वमा माओवादी आन्दोलनको पुनर्गठन गर्ने, जनयुद्धको जग विद्यमान छ र त्यसको जगमा टेकेर बिद्रोह गर्ने, नयाँ जनवादी क्रान्तिको बाँकि कार्यभार पुरा गर्ने भन्दै सञ्चालित थियो । बौद्ध भेलामा पार्टीको नाम नेकपा (माओवादी) नै राख्ने भन्ने बहस मातृकाको नेतृत्वको पार्टी नामको कारण नमिलेको र अर्को नाम राख्न प्रत्तेक समुहबाट सुझाव मागिएको थियो । प्रायः जसो टोलीले नेकपा, माओवादी राख्नु पर्ने सुझाव आएको थियो, एउटा टोलीको नेता गुणराज लोहनीबाट मात्र नेकपा ड्यास माओवादी राख्ने कुरा आएको थियो । अन्ततः पार्टी नाम नेतृत्वले त्यही सहि हुने निर्णय सुनायो । नेकपा –माओवादीले नीति दोश्रो महाधिवेशनले लिएको बिद्रोहात्मक ढंगले नेपालको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने थियो । यो नीति रुसी मोडेलको हैन, मौलिक र सृजनात्मक भएको पार्टीको दावी थियो । जनयुद्धले एउटा शक्ति सन्तुलनको स्थिति निर्माण गरिसकेकाले बिद्रोहात्मक नीति लिनु सहि र वैज्ञानिक हुन्छ भन्ने दावी थियो । किरणको नेतृत्वले पनि जनयुद्धको जग कायम रहेको निश्कर्षसहित बिद्रोहात्मक ढंगले अन्तिम लडाईं लड्ने नीति लिएको थियो । व्यवहारतः त्यो आएन, ७ तयारि गर्ने भनिएको निर्णयमा नेतृत्व नै उदासिन भएको देखियो । आफ्नै निर्णय बिनाकारण व्यवहारमा नजाने नियत भित्र उही अरुले भन्ने गरेको जस्तै वर्ग दुस्मन चिन्न नसकेको, नेतृत्व भनेको हिम्मतिलो पनि चाहिने जस्तो, ती अर्का नेताले भने जस्तै क्रान्तिमा धक्का खाएर रक्ष्यात्मक बनेकोले ५० सौं वर्ष क्रान्ति हुन नसक्ने निश्कर्षमा पार्टी नेतृत्व पुगेको हो कि जस्तो देखिन पुग्यो । त्यसैले यी घटनाहरुले माग गरेको कुरा के हो जस्तो छ भने बहस धेरै भयो, अव यो भन्दा व्यवहारिक बिद्रोहको खाँचो छ । एक खालका मानिसको के तर्क छ भने कार्यनीतिलाई व्यवहारमा ल्याउन सक्नु ठूलो उपलब्धि हो । लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा संविधान सभाबाट संविधानको निर्माण, संघीयता, धर्मनिरपेक्ष्यता, समाबेसी तथा समानुपातिक शासन प्रणाली आएको छ, यसको रक्षा गर्दै अघि बढ्नु पर्छ । तत्काल फेरि क्रान्तिका कुरा गरेर ती उपलब्धिहरु गुमाउनु बुद्धिमानी हुँदैन । यस्ता तर्क गर्नेहरुले के कुरा बुझ्न सकेका छैनन् भने निरन्तर क्रान्तिले नै यो सबैको रक्षा हुनसक्छ । वर्ग दुस्मनसँग संझौतामार्फत आएका ती उपलब्धिहरुको रक्षाका नाममा बिसर्जनवादतिर पुग्ने उनीहरुको नियतमा प्रष्टसँग अवशरवाद लुकेको देख्न सकिन्छ । अन्ततः परिणाम त्यही नै देखिएको छ । ती पार्टीका कार्यकर्तास्तरबाट कोही उठेर पार्टीमा नेतृत्व हत्याउने स्थिति छँदैछैन, नेतृत्वको चाकरि गरेर नेतृत्वको नजिकमा पुग्नेबाहेक केही सोच्नसम्म पनि सक्दैनन् । कम्युनिस्ट पार्टीको नेतृत्व वर्गसंघर्षमा प्रतिस्पर्धामार्फत लिने कुरा हुन्छ । बिद्रोहबिना सत्ता हत्याउने सम्भव देखिन्न, उनीहरुमा दासता बढी हावी देखिन्छ । यस्तो अवस्थामा कि त त्यही नेतृत्वले सचेतपहल लिने कुरा हुन्छ, बहसले केही हुनेवाला छैन वा हुँदैन । बहसले कुनै काम हुने भएको भ एमोहन बिक्रमको नेकपा (मसाल) ले उहिल्यै जनक्रान्ति सम्पन्न गरिसक्ने थियो । अहिले देशमा कस्को, कुन नीति र सिद्धान्त भएको पार्टीको नेतृत्वमा शासन व्यवस्था छ भन्ने सवालले चर्चा पाएको छ । माथि उल्लेखितहरु सरकारमा छन्, अझ दुई तिहाइको दरो स्थितिमा छन् । यदि देश स्वाधिन हो भने र शासक इमानदार हुने हो भने यो गतिलो अवशर हुन्छ । यसकासाथ जनपक्षीय नेतृत्व हुने हो भने त झन् जनताले परिवर्तनको आभाष पाउनेगरि परिवर्तन गर्न सक्थ्यो । बिडम्बना, देश अझै अर्धसामन्ती अवस्थामै र नवऔपनिवेशिक अवस्थामा नै देखिन्छ । देश पराधिन र पिछडिएको अवस्थामा छ, विश्व मञ्चहरुमा कुनै पनि भूमिका खेल्ने अवस्थामा देखिंदैन । जनताले पटकपटक बिद्रोहहरु गरेका छन् तर हरेक बिद्रोहले विदेशी शक्ति केन्द्रको साथ र सहयोग खोज्ने नेतृत्वको कारण पुराना शासकहरुसँग नै संझौता हुन पुग्ने गरेको छ, अहिलेसम्म भएका कुनै पनि बिद्रोहले सफलता प्राप्त गर्न सकेन । यहाँका शासकहरुले सँधैभरि विजय भएको ढाँट कुरा गरेर जनद्रोही काम गरेका छन् । सँधैभरि जनतालाई झुक्याउने जस्तो जघन्य अपराध गरेका छन् । कम्युनिस्ट भनिने नेताहरुले त वर्गप्रति अक्ष्यम्य घात नै गरेका छन् । नेपालमा सर्वहारा वर्ग सबै भन्दा माथि उठेको र आम श्रमजीवि तथा न्यायप्रेमी जनसमुदायमाथि आशा जगाएको बिद्रोह भनेको १० वर्षे महान् जनयुद्ध हो । मालेमावादमा आधारित र विश्वमा सबैभन्दा प्रतिकुल परिस्थितिमा पनि यो बिद्रोह सबैभन्दा माथि सर्वहारा वर्ग उठेको थियो । यो बिद्रोह नीतिगत हिसाबले सहि हुँदाहुँदै पनि संगठन भित्रको गुट, नेतृत्वमा देखिएको महत्वाकांक्षा, सृजनशीलताको नाममा बिचार संश्लेषण तथा नेतृत्वको केन्द्रीकरण, कार्यनीतिलाई रणनीतिको अर्थमा बुझ्ने र बुझाउने दुस्प्रयास र शक्ति केन्द्रको दवावमा गैर कम्युनिस्टलाई पनि नेतृत्वको साथमा राख्ने तरिकाले अरु बिद्रोहहरु झैं वर्गबैरी सँगै संझौता गर्दै अन्ततः परिणाम असफलतामा गएर टुङ्गियो । यसरि टुङ्गिनुमा नेता कार्यकर्ताको भक्तिभावको संस्कृतिको प्रभाव, आलोचनात्मक चेतको अभाव, माओवादी स्कुलिङको अभाव, संसदीय राजनीतिको संगठनात्मक स्थितिमा प्रभाव, अवशरवादसितको संघर्षमा जोडको अभाव आदि त छँदैछन् । मुख्यतः पार्टीले सर्वहारा वर्गको अधिनायकवाद लागु गर्ने सवालमा कमरेड स्टालिन झैं निर्मम हुन नसक्नुले सबै कुरा गुमाउन पुगेको छ । यसको साथमा पार्टीले मात्र गुमाएर सर्वहारा वर्गले सबै कुरा गुमाउन पुगेको छ । अवशरवादीहरुले सर्वहारा वर्गलाई हर्ष न बिस्मतको दलाल फासिवादी व्यवस्था ल्याएर अलमल्याउने कुचेष्टा गरिरहेका छन् । निश्चित रुपमा सामन्तवादी शासनव्यवस्थाका रुपपक्षमा देखिएका केही कुरा बदलिएका छन् । राणाको जहानीया शासन राजाको नेतृत्वमा बहुदलीय व्यवस्थामा फेरिएझैं, नीर्दलीय पञ्चायत पुनः बहुदलीय संसदीय व्यवस्थामा फेरिएर्झै, राजतन्त्र मात्र हटाएर सामन्तवादका सबै अंगहरुमा कुनै अशर नपर्नेगरि नयाँ व्यवस्थाको नाममा समाज फेरिएको छ । सैद्धान्तिक र व्यवहारिक रुपमा प्रतिक्रियावादी राज्यव्यवस्थाका कुनै पनि बिषयमा फेरबदल ल्याएकै छैन । रुप पक्षमा केही फेरिएको छ त्यो हामीले नै फेरेका हौं र त्यही फेरिएको नासो रुँगेर वा रक्षाको नाममा निरन्तर क्रान्तिको महान् अभियानलाई नै रोक्नु भनेको बेइमानीको पराकाष्ट नै हुन्छ । सामन्त, दलाल र नोकरशाहाले घेरेर जीर्ण बनाएको त्यो नासोको मलामी जाने बाहाना बनाई पर्खिएर बस्नु वर्गमाथिको घात हुन्छ । इमानदार कम्युनिस्टले यो कुरामा ध्यान दिनु जरुरी छ । बहस निरन्तर चलिरहने प्रक्रिया हो । अहिले धेरै बहस भएका छन्, वर्गसंघर्ष घनिभुत भएको बेलामा पनि बहस चलि नै रहन्छ । बहसका लागि बहस अर्थात क्रान्ति बिनाको बहस गर्नुको कुनै तुक हुँदैन । त्यस्तै नै हुन्छ बहसबिनाको क्रान्ति पनि । क्रान्तिको बाटो नै रोकेर बहस गर्नु त वर्गमाथिको घात नै हुन्छ भन्ने कुरा पनि क्रान्तिकारिले बुझ्नु पर्छ । यतिखेर एक प्रसंगमा किरणजीले भनाई सान्दर्भिक हुन्छ जस्तो लाग्छ, उहाँको आसय के थियो भने— जनयुद्धको बाटो हिंड्ने हो भने धेरै तयारिको आवश्यता पर्दैन, थाले भैहाल्छ । जनबिद्रोहको बाटो हिंड्नको लागि केही तयारि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । हामीले अहिले के बुझ्नु जरुरि छ भने बहस धेरै भैसक्यो, अव व्यवहारमा जाने कुरा नै सहि, बस्तुवादी र वैज्ञानिक हुन्छ ।

प्रतिक्रिया