Powered by Blogger.
क्रान्तिकारी ध्रुवीकरणको लागि बैद्यको आव्हान


काठमाडौं, १९ असोज– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्य (किरण) ले सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा क्रान्तिकारी कम्युनिष्टहरुका वीचमा पार्टी एकता गर्न सबै पक्षसित जोडदार आह्वान गरेका छन् । 



अध्यक्ष वैद्यले पछिल्लो तीन पार्टीबीचको वाम गठबन्धनले ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको भन्दै संयुक्त मोर्चा र क्रान्तिकारी एकताको निम्ति आव्हान गरेका हुन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिका वीचमा पार्टी एकताका लागि भएको पहलबारे अध्यक्ष वैद्यले आफ्नो धारणा सार्वजनिक गर्दै तीन वाम बीचको गठबन्धनलाई देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन बताएका छन् । 

वक्तव्यको पूर्ण पाठ 


                                                                            प्रेश वक्तव्य

“यही आश्विन १७ गते नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नयाँ शक्तिका वीचमा पार्टी एकताका निमित्त भएको ६ बुँदे सहमतिको सार्वजनिक गरिएको घटना नेपालको राजनीतिमा एउटा चर्चाको विषय बनेको छ । यसबारे हाम्रो पार्टीको प्रारम्भिक धारणा निम्न अनुसार रहेको छ : यो गठबन्धनलाई जसरी "कम्युनिष्ट एकता” वा "वामपन्थी एकता” भन्ने प्रचार गरिएको छ, त्यो बिल्कुल गलत हो । दक्षिणपन्थी बाटो हुँदै प्रतिकृयावादी कित्तामा गैसकेका यी शक्तिहरुको एकता वास्तवमा एउटा दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास हो । वास्तविक रुपमा यो देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन हो । यो एकताले एमालेको कथित देशभक्तिको र माओवादी केन्द्रको माओवादी जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मकुण्डोलाई उतारिदिएको छ र उनीहरुको सक्कली चरित्र उदांग भएको छ । यसबाट सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताका पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको छ । यस स्थितिमा यो दक्षिणपन्थी र प्रतिकृयावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका वीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता हासिल गर्नका लागि हामी सम्बन्धित सवै पक्षसित जोडदार आह्वान गर्दछौं ।"
   मिति : २०७४ असोज १८

0 comments

Write Down Your Responses

second_add