वाम गठबन्धनले काँग्रेसलाई अवसर हुनसक्छ

प्रकाशित समय 10:57 PM
काठमाडौँ,१८ असोज– मुख्य सत्ता सहयोगी माओवादी केन्द्रले सत्ता सहकार्यको मनोमानी अवज्ञा गर्दै मुख्य विपक्षी एमालेसँग चुनावी सहकार्य र पार्टी एकताको कदम उठाएपछि सिद्धान्ततः मात्रै होइन नैतिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान सरकारमाथि संकट थपिएको छ । 


प्रजातान्त्रिक दल काँग्रेस र वामपन्थी दल माओवादीबीचको सत्ता सहकार्य संकटमा मात्रै परेको छैन, राजनीतिक ध्रुवीकरण पनि वामपन्थी र गैर वामपन्थी कित्तामा विभक्त भएको छ । संविधानतः सत्तारुढ दल काँग्रेस र प्रधानमन्त्री देउवाले सत्ताबाट हात धुनैपर्ने स्तरको संकट त आइलागिसकेको छैन । तर माओवादीले सत्ताबाट हट्ने निर्णय लिए देउवा सरकार संसदमा अल्पमतमा पर्ने खतरा सामुन्नेमा छ ।

आफू नेतृत्वको सरकार अल्पमतमा परेमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको भिटो प्रयोग गरेर अर्को महिना कात्तिकमा स्वतः आयु समाप्त हुन लागेको संसद् विघटनको जोखिम पनि मोल्न सक्छन । एक महिनापछि स्वतः म्याद सकिने संसदको गणितलाई प्रभावित नपार्ने गरी माओवादी सत्ता गठबन्धनमा सत्ता लिप्सावादी चरित्रमा कायम रहेमा भने सरकार सुरक्षित रहन सक्छ ।

तर, मुख्य सत्ताघटक माओवादीले चुनावको मुखमा काँग्रेससँगको गठबन्धन बिपरित गरेको पार्टी एकता र तालमेलको झापड तथा धोकाघडीपछि अब काँग्रेसलाई पनि प्रजातान्त्रिक शक्तिहरु बीचसँग चुनावी गठबन्धन गर्न ढोका खुल्ला भएको छ । सत्ता सहयात्रीका हिसाबमा माओवादीसँगै चुनावी एकता गर्नैपर्ने नैतिक संकटबाट काँग्रेस मुक्त भएको छ । माओवादीसँगको यसअघिको चुनावी तालमेल नरुचाएका देशभरका काँग्रेसीका लागि यो माओवदीको अवसरवादी चरित्रले दिएको सुखद् परिणाम हो ।

राप्रपाका दुवै खेमा, राजपा, संघीय समाजवादीहरुसँग चुनावी तालमेल र गठबन्धन गर्ने काँग्रेसको बाटो खोल्ने गरी वाम पार्टी एकतावद्ध भएपछि अब काँग्रेसले लोकतान्त्रिक र परम्परावादी कित्ताको नेतृत्व लिने गरी वृहत गठबन्धनको प्रयाश थाल्ने मौका पनि पाएको छ ।

खासगरी हिन्दू राष्ट्र पुनःस्थापनाको निरन्तर वकालत गर्ने काँग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला आदिको अडान जस्तै काँग्रेस हिन्दू राष्ट्र पुनःस्थापनाको मागमा फर्कियो भने उसले परम्परावादी तथा लोकतान्त्रिक कित्ताको नेतृत्वदायी शक्तिका रुपमा नयाँ वाम गठबन्धनलाई कडा टक्कर दिन सक्नेछ । यस मानेमा देशभरका निदाएका काँग्रेसजन फेरि मुर्झाउने र एकीकृत रुपमा फेरि वाम गठबन्धनविरुद्ध जस्तालाई त्यस्तै गर्ने मौका पनि हो । थाहा छैन, काँग्रेस मौकामा चौका हान्दै वाम गठबन्धनविरुद्ध गोल गर्न अग्रसर हुन्छ कि माओवादीको धोकेबाजीको रमिते बनेर बस्छ ? यसैमा काँग्रेसको भावी बाटो स्पष्ट हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »