एमालेको टालोमा अट्ला त माओवादी हिङ ?

प्रकाशित समय 9:23 PM
लेखक


– कुसुम भट्टराई



पहिलो संविधानसभा निर्वाचनको क्रममा काठमाडौंको गोंगबुमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘एमाले भनेको कम्युनिष्टको हिङ बाँधेको टालो मात्र हो । माओवादी भनेको असली हिङ हो । अब हिङ नै भइसकेपछि हिङ बाँधेको टालोेको के काम ?’

यतिबेला हिङ अर्थात् माओवादीलाई पनि हिङ बाँधेको टालोको खाँचो परेको छ । एमालेको टालोमा माओवादीको हिङ राख्ने सहमति भएको छ । अनि त्यही हिङको पोको बोकेर चुनावमा जाने सहमति पनि भएको छ ।


एमालेको टालोमा माओवादीको हिङ अट्ला ? यो प्रश्न आफ्नो ठाउँमा छ । यतिबेला चाहिँ वैचारीक र सैद्धान्तिक भिन्नताकै बीच ‘वाम एकता’का नाममा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकीकृत कम्युनिष्ट पार्टी गठनका पक्षमा उभिएका छन् । ‘बृहत वाम एकता’ शब्दले कतिपय कम्युनिष्ट नेता कार्यकर्तामा उत्साहको लहर पनि सिर्जना गरिरहेको छ ।

वाम एकता शब्द पञ्चायतकालदेखि नै कम्युनिष्टहरुबीच प्रिय रहँदै आएको छ । तर, नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनदेखि वामपन्थीहरुबीच फुट र विभाजन नै हुँदै आयो । नेपालमा कम्युनिष्टहरु नै हुन्, जसले अलग–अलग रुपमा कार्ल मार्क्सको श्राद्ध गर्दै आए । ‘जड्याहालाई मदिरा खान र कम्युनिष्ट नेतालाई पार्टी फुटाउन कुनै बहानाको अभाव हुँदैन’ भन्ने उक्ति लामो समयदेखि चरितार्थ हुँदै आयो । एउटै कम्युनिष्ट पार्टी भने नेपालमा कहिल्यै बन्न सकेन ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको संघारमा माओवादी केन्द्रले एकाएक सत्ता साझेदार दल नेपाली कांग्रेसलाई उपेक्षा गर्दै विपक्षी एमालेसँग चोंचोमोचो मिलाउन थालेपछि अचानक मनसुन सकिँदै गर्दा ‘वाम एकता’को कोलाहल सुरु भएको हो । यसमा माओवादीबाट अलग भएर नयाँ शक्ति बनाएका बाबुराम भट्टराई पनि थपिएका छन् । चुनावलगत्तै एकीकृत कम्युनिष्ट पार्टी गठन गर्ने उद्घोष नेताहरुले गरेका छन् ।

के प्रचण्ड, केपी ओली र बाबुरामको यो ‘सरप्राइज एक्सन’ सफल र सहज होला ? चुनावी तालमेलसम्म यी दलहरुबीच मिलाप हुन सके पनि पार्टी एकीकरण भने त्यति सहज छैन । अतः तीनवटै पार्टीका कार्यकर्ता र जनतामाझ ६०/४० प्रतिशतको भागबण्डामा आधारित चुनावी तालमेलको औचित्य स्पष्ट गर्ने बहानाका रुपमा ‘एकीकृत कम्युनिष्ट पार्टी’को हौवा खडा गरिएको हुनसक्ने आशंका पनि गर्न सकिन्छ ।

साँच्चै पार्टी एकीकरण गर्ने नै हो भने केही गाँठाहरु फुकाउनैपर्ने देखिन्छ ।

पहिलो गाँठोः जबज


एमालेले मदन भण्डारीलाई आफ्नो आदर्श नेता मान्छ । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एकीकृत पार्टीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई अंगीकार गर्ने कि नगर्ने ?

शान्ति प्रक्रियामा आइसकेपछि एमालेभन्दा आफूहरु भिन्न भएको देखाउन माओवादीले ‘एक्काइसौं शताब्दीको जनवाद’को नीति अघि सारेको थियो । शान्ति प्रक्रियामा आउनासाथ एक पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डलाई पत्रकारहरुले सोधेका थिए, ‘एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइसौं शताब्दीको जनवाद एउटै हैन र ?’

‘जबज र एक्काइसौं शताब्दीको जनवाद एउटै हो भन्नु हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानु भनेजस्तै हो’, प्रचण्डको जवाफ थियो ।

प्रचण्डले त्योबेला एक्काइसौं शताब्दीको जनवादले ‘सामन्तवादसँग संघर्ष गर्ने’ र एमालेको जनताको बहुदलीय जनवादले ‘समान्तवादसँग समर्पण र सम्झौता गर्ने’ बताएका थिए ।

पार्टी एकीकरणपछि प्रचण्डले ‘हात्ती छाप चप्पल’ अर्थात जबजलाई स्वीकार्लान् त ? के प्रचण्ड र उनको पार्टीका नेता÷कार्यकर्ताले मदन भण्डारीलाई आदर्श नेता मान्लान् ? भन्ने प्रश्नको उत्तर त्यति सजिलो छैन ।

यदि ‘जबज’ र ‘एशज’ (एक्काइसौं शताब्दीको जनवाद)लाई मिलाएर बीचको नीति खोज्ने हो भने मदन भण्डारीको मौलिक जबज बिटुलो हुन जान्छ । एमालेका आमनेता र कार्यकर्ताका दृष्टिमा त्यो मदनको मौलिक जबजको अपव्याख्या र अति परिमार्जन हुनजान्छ ।

दोस्रो गाँठोः जनयुद्ध


अहिलेको एमाले खासमा झापा विद्रोहको जगमा खडा भएको हो । ०२८ सालमा कम्युनिष्टहरुको पूर्व कोशी प्रान्तीय कमिटिअन्तर्गत झापा जिल्ला कमिटीले सशस्त्र विद्रोह गर्ने निर्णय गरेको थियो । खासगरी माओको नेतृत्वमा भएको चिनियाँ सांस्कृतिक क्रान्ति र भारतमा चारु मजुमदारको नेतृत्वमा भएको नक्सलवादी संघर्षबाट प्रेरित भएर जोसिला कम्युनिष्ट युवाहरुले वर्गशत्रु सफाया भन्दै सामन्तीको टाउको गिँड्ने अभियान थालेका थिए । त्यसक्रममा धर्मप्रसाद ढकाललगायतको ‘सफाया’ गरिएको थियो ।

०२९ साल फागुन २१ गते झापा विद्रोहमा लागेका पाँच योद्धाहरुलाई सुखानीको जंगलमा लगेर पञ्चायती सरकारले निर्ममतापूर्वक हत्या गरेपछि त्यो संघर्ष तुहियो । २०४६ सालको परिवर्तनपछि एमालेले झापा विद्रोहलाई ‘उग्रवामपन्थी भड्काव र क्रान्तिकारी दुस्साहसवाद’का रुपमा व्याख्या ग¥यो । झापा विद्रोहका एक नाइके एमाले अध्यक्ष केपी ओली स्वयंले झापा विद्रोहमा कमजोरी भएको भन्दै आत्मालोचना गरेका थिए । सो आत्मालोचनासँगै एमालेले ‘जबरजस्त धक्का’, ‘गुणात्मक फड्को’ र ‘क्रमभंग’को साटो ‘शान्तिपूर्ण रुपान्तरण’ अनि ‘क्रमिक र स्वाभाविक विकास’को बाटो अंगाल्यो । एमालेको शान्तिपूर्ण रुपान्तरणको लाइनलाई विद्रोहरत माओवादीले भने त्यसबेला ‘संशोधनवादी र यथास्थितिवादी’ बताएको थियो ।

एमाले नेताहरुले माओवादी जनयुद्धलाई ‘उग्रवामपन्थी भड्काव र क्रान्तिकारी रोमान्सवाद’ भन्दै आएका थिए । आफ्नै जग झापा विद्रोहलाई समेत गलत बाटो बताउँदै आएका एमाले नेताहरु अब के एकीकरणपछि माओवादीको दश वर्ष लामो ‘जनयुद्ध’लाई जायज मान्लान् त ? गम्भीर प्रश्न छ ।

हजारौंको बलिदानसहित निकट अतीतमा भएको हिंसात्मक विद्रोहबारे एकीकृत पार्टी मौन रहन पक्कै मिल्दैन । जनयुद्धलाई आत्मसात गरेर जाँदा एमालेले हालसम्म लिँदै आएको लाइन गलत भएको पुष्टि हुने, आत्मसात नगर्दा माओवादी केन्द्रका नेता/कार्यकर्ताले नमान्ने अवस्था छ । एकीकरणमा जनयुद्धको विश्लेषणको प्रश्न पेचिलो बन्ने सम्भावना छ ।

वाईसीएलका नेता दिपशिखाले आफ्नो फेसबुक स्टाटसमा भनिसकेका छन्, ‘वृहत वाम धु्रवीकरणमा असहमत हुन सकिन्न, यसका लागि बहस गर्दै जाऊँ । जनयुद्ध, जनयुद्धमा बगेको रगतको मूल्य के हुन्छ ? सिद्धान्तका आधारभूत कुरा मिलेको छ कि छैन ? आधारतभूत सिद्धान्तका कुरा र जनयुद्ध स्वीकार गरिनुपर्छ, बहसको विषय बन्न सक्दैन । अरु सवालमा बहस गर्दैै जाउँला ।’

तेस्रो गाँठोः माओवाद


अहिले एमालेले मार्क्सवाद र लेनिनवादलाई मात्र मान्दै आएको छ । उसले ‘माओवाद’ मान्दैन । माओवादी केन्द्रको वैचारीक आधार भनेकै ‘माओवाद’ हो । हुन त शान्ति प्रक्रियामा आइसकेपछि माओवादी केन्द्रले माओवादलाई छाड्दै आएको आरोप नलागेको होइन, तर राजनीतिक दस्तावेजमा माओवादकै सिर्जनात्मक प्रयोगका रुपमा प्रचण्डपथको व्याख्या गरिँदै आएको छ ।

संविधानसभा र हालैको स्थानीय निर्वाचनमा तेस्रो स्थानमा पुगेपछि माओवादी केन्द्रभित्र पार्टीले ‘क्रान्तिकारी धार’ फेरि समात्नुपर्ने आवाज उठिरहेको थियो । कांग्रेस र एमालेभन्दा भिन्न नभएसम्म माओवादी केन्द्रको अस्तित्व संकटमा परिरहने विश्लेषण हुँदै आएको थियो ।

प्रचण्डले एक्कासी एमालेसँग एकीकरणको पहल थालेपछि कार्यकर्ता रनभुल्लमा परेका छन् । आफ्नो पार्टी ‘सोसल डेमोक्रयाटिक’ लाइनमा जाने हो कि भन्ने चिन्ता माओवादी केन्द्रका क्रान्तिकारी सोच राख्ने नेता/कार्यकर्तामा देखिन्छ ।

माओवादी यदि सोसल डेमोक्रेटिक धारमा गयो भने उसको अलग अस्तित्व रहने छैन । अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार एमाले नै भएको पुष्टि हुनेछ । त्यस्तोबेला ‘प्रचण्डपथ’को औचित्य पनि धुलिसात हुनेछ । के माओवादी अध्यक्ष प्रचण्ड उनकै पार्टीले भन्दै आएको एमालेको ‘यथास्थितिवादी धार’मा जालान् त ? अनि के एमाले अध्यक्ष केपी ओली विगतमा उनले आरोप लगाएझैं ‘हत्यारा र लुटेराहरुको समूह’सँग मिलेर बस्न सक्लान् ? के एमालेले ‘प्रचण्डपथ’ र ‘माओवाद’ स्वीकार्ला ?

चौथो गाँठोः विचारधारा


एमाले, माओवादी केन्द्र र नयाँशक्ति यी तीन दलहरुबीच आजको सन्दर्भमा मार्क्सवादको सर्वस्वीकृत व्याख्यासहितको नीति तथा कार्यक्रम पनि छैन । एकीकृत पार्टीले या त कम्युनिष्ट सिद्धान्तलाई पूरै परित्याग गरेर पूर्ण लोकतान्त्रिक पार्टीका रुपमा आफूलाई स्थापित गर्नुपर्ने हुन्छ या त कम्युनिष्ट जगमै टेकेर नयाँ विचार अपनाउनुपर्ने हुन्छ ।

सर्वस्वीकृत नयाँ विचारका सन्दर्भमा यी दलहरुबीच खासै गृहकार्य भएको छैन । माओवादीभित्र विभिन्न विचार समूहहरु छन् । एमालेभित्र पनि छन् । बाबुरामको आफ्नै विचार छ । यी सबै विचारलाई एक ठाउँमा राख्दा सार संग्रहवादी सोचको जन्म हुने खतरा रहन्छ । अतः नयाँ र सर्वस्वीकार्य विचारका आधारमा पार्टी एकीकरण गर्न हाललाई कठिन छ । विचार र सिद्धान्त विनाको एकता भनेको राप्रपा एकीकरण भए सरह हो । त्यो कुनै पार्टी नभई रमझम गर्ने क्लब मात्र हुनेछ ।

यस हिसाबले पनि एकीकृत कम्युनिष्ट पार्टी गठनको हौवा हाललाई चुनावी तालमेलकै औचित्य पुष्टि गर्नका लागि मात्र चलाइएको हो भन्ने आधारहरु धेरै छन् ।
अनलाईनखवर बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »