Powered by Blogger.
कांग्रेसका शीर्ष नेता कहाँबाट चुनाव लड्दैछन् ?

काठमाडौं १६ असोज–  मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवार छनौटको गृहकार्य शुरु गरिसकेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेको छ । 


कांग्रेसले सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भन्दै सबै जिल्ला समितिलाई निर्देशन जारी गरिसकेको छ । यस्तो अवस्थामा कांग्रेसका शीर्ष नेताहरु पनि आफ्नो जीत निश्चित हुने ठाउँमा चुनाव लड्न तयारी गरिरहेका छन् । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्ने तयारीमा छन् । २०४८ सालको संसदीय चुनावदेखि पछिल्लो संविधानसभा चुनावसम्म देउवा डडेल्धुराबाटै चुनाव जित्दै आएका छन् । पछिल्लो संविधानसभा चुनावमा देउवा कैलालीबाट समेत विजयी भएका थिए । 

बरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँबाट चुनाव लड्ने तयारीमा छन् । पौडेल पनि २०४८ सालदेखि नै तनहुँबाट चुनाव जित्दै आएका छन् । बिगतमा तनहुँ २ बाट चुनाव लड्दै आएका पौडेल यसपटक भने तनहुँ १ या २ कताबाट चुनाव लड्ने भन्ने यकिन भइसकेको छैन । निर्वाचन क्षेत्र निर्धारण गर्दा पौडेलले विगतमा चुनाव जितेको क्षेत्र बाँडिएको छ ।

महामन्त्री डा शंशाक कोइराला यसपटक पनि पूर्वी नवलपरासीको क्षेत्रनम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । शशांकले दुईवटै संविधानसभा चुनावमा नवलपरासीबाट चुनाव जितेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा शशांकको चुनावी क्षेत्रमा रहेको कांग्रेसको गढ मानिने गैडाकोट नगरपालिकामा नेकपा एमालेले चुनाव जितेको थियो । कोषाध्यक्ष सीतादेवी यादव सिराहा ३ बाट चुनाव लड्ने चर्चा छ । 

पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी पाइसकेका पूर्वगृहमन्त्री बिमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । असोज २ मा सम्पन्न स्थानीय चुनावमा निधिको गृहनगरमा कांग्रेस पराजित भएको थियो । निधिको गृहजिल्ला धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले चुनाव जितेको थियो ।

प्रभावशाली नेता कृष्ण सिटौला झापा ३ बाट चुनाव लड्ने तयारीमा छन् । पहिलो संविधानसभा चुनावमा पराजित सिटौला दोस्रो संविधानसभा चुनावमा झापा ३ बाट विजयी भएका थिए । केन्द्रीय सदस्य यस्तै डा शेखर कोइराला मोरङबाटै चुनाव लड्ने तयारीमा छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट चुनाव लड्ने तयारीमा छन् । पूर्वमन्त्री नवीन्द्रराज जोशी काठमाडौं ८ बाट चुनाव लड्ने तयारीमा छन् । दुवै नेताले संविधानसभाका दुईवटै चुनावमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । काठमाडौं १० बाट राजन केसी दोहरिने सम्भावना छ । गत संविधानसभा चुनावमा केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए । 



कांग्रेसका दुई प्रभावशाली नेता अर्जुननंसिह केसी र डा रामशरण महत क्रमस नुवाकोट क्षेत्रनम्बर १ र २ बाट चुनाव लड्ने तयारीमा छन् । अर्थमन्त्री ज्ञानेन्द्र कार्की भोजपुरबाट चुनाव लड्ने तयारीमा छन् । यसअघि उनी समानुपातिक सांसद थिए ।

कांग्रेस स्रोतका अनुसार पूर्वमन्त्री पूर्णबहादुर खड्का सुर्खेत १, बालकृष्ण खाँड रुपन्देही ३, महेश आचार्य मोरङबाट चुनाव लड्ने तयारीमा छन् । 

यस्तै चन्द्र भण्डारी गुल्मी १, नारायण खड्का उदयपुर १ तथा राहमरि खतिवडा ओखलढुङ्गा १ बाट चुनाव लड्ने तयारीमा छन् । 

प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा, गगन थापा र धनराज गुरुङको नाम मुख्यमन्त्रीको उम्मेदवारको रुपमा चर्चा छ । मुख्यमन्त्रीको उम्मेदवार नबनेमा शर्मा झापा १, गगन काठमाडौं ४ र गुरुङ स्याङ्जाबाट उम्मेदवार बन्ने सम्भावना छ । 

सीतादेवी यादव, पुष्पा भुसाल, किरण यादव, कमला पन्त, सीता गुरुङ, प्रतिमा गौतम, सुशीला चौधरी लगायतका महिला नेतृहरु टिकट पाए प्रत्यक्ष चुनाव लड्ने सोचाइमा छन् ।

समानुपातिकबाट सांसद बन्दै आएका मीनेन्द्र रिजाल, प्रकाशशरण महत, सुजाता कोइराला, प्रदीप गिरी, मनमोहन भट्टराई लगायतका नेताहरुको निर्वाचन क्षेत्रको टुङ्गो लागेको छैन । प्रकाशशरण महत प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको उम्मेदवार बन्ने चर्चा पनि छ । 

निर्वाचन क्षेत्र घटेका जिल्लामा कांग्रेसलाई उम्मेदवारको व्यबस्थापनमा कठिनाइ देखिएको छ । कतिपय नेताहरु भने प्रत्यक्ष चुनाव लड्न भन्दा समानुपातिक तर्फबाट आफ्नो सिट सुरक्षित गर्ने दौडधुपमा लागेका छन् ।

0 comments

Write Down Your Responses

second_add