Powered by Blogger.
नेपाल हङकङसँग ८३ रनले पराजित

काठमाडौँ, २७ असोज – आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ ।


आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ ।

अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ ।

सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका छन् भने क्यानडा र ओमान डिभिजन ३ बाट टूमा उक्लिएका छन् । बाँकी दुई टोली टुंगिन बाँकी छ ।

ब्याटिङ फेरि फ्लप


हङकङमा पहिलो पटक खेलिरहेको नेपाली टोलीको ब्याटिङ फेरि एक पटक असफल रहृयो । उसो त शरद भेषावकर ज्वरोका कारण दुबै खेल नखेल्ने भएपछि नै नेपाली टोलीको ब्याटिङ लाइनअप समस्या परेको अनुमान गरिएको थियो ।

नेपालले टोलीमा अतिरिक्त व्याट्सम्यान टोलीमा थिएनन् । तर, शरदमा रहेका शरदले खेल्न नसक्ने भएपछि उनको रिप्लेसमेन्ट नै भएन । उनको ठाउँमा नरेशलाई बोलाएपनि उनी ओपनर थिए, जहाँ ज्ञानेन्द्र मल्ल र सागरले खेल्ने तय भइसकेको थियो । त्यसैले आरिफ शेखले मौका पाए तर, उनले मात्र होइन, अन्य ब्याट्सम्यानले पनि ठूलो साझेदारी नै गर्न सकेनन् ।

नेपालले ओपनर सागर पुनलाई पाचौं ओभरमा ४.५ ओभरमा व्यक्तिगत ३ रनको स्कोरमा गुमायो ।

अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काको जोडीले दोेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेपनि त्यो पर्याप्त थिएन । मल्ल २१ रनको व्यक्तिगत स्कोरमा अइजाज खानको बलमा आउट भए ।

दिपेन्द्र सिंह ऐरीले १३ बलमा ३ रनमात्र बनाउन सके । त्यतिबेलासम्म नेपालले १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ५६ रनमात्र जोडेको थियो ।

१९औं ओभरमा कप्तान पारस खड्का पनि २६ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल निकै दबाबमा आयो । छैटौं नम्बरमा विनोद भण्डारीको साटो सोमपाल कामीलाई पठाइयो । तर, यो निर्णय पनि सही सावित हुन सकेन ।

सोमपाल पाँचौं विकेटको रुपमा व्यक्तिगत ११ रनको स्कोरमा आउट हुँदा नेपालले ९१ रन बनाएको थियो । बाँकी २० रन जोड्दा नेपाल अलआउट भयो ।

आरिफ शेखले २३ रन जोडे भने बिनोद भण्डारीले १८ रन जोड्दा बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछानेले खाता खोल्नै सकेनन् । सुशान भारी १ रनमा अविजित रहे ।

घातक बलिङ गरेका हङकङका इशान खानले ५.५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिएर ५ विकेट लिए ।



यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले अन्तिम बलमा अलआउट हुनुअघि १९४ रनको योगफल बनाएको थियो ।

चौथो ओभरको चौथो बलमा करण केसीको बलमा हङकङका ओपनर अंशुमन रथ खाता नखोली पेविलियन फर्किएसँगै उसको विकेट पतन सुरु भएको थियो ।

सुस्त गतिमा रन बनाएको हङकङले ११औं ओभरको पाँचौं बलमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमायो । उसका कप्तान बाबर हायत २९ रनको व्यक्तिगत स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट रनआउटको शिकार भए ।

हङकङको तेस्रो विकेट युवा स्पिनर सन्दिप लामिछानेले लिए । उनले १७.४ ओभरमा अनुभवी ब्याट्सम्यान निजाकात खानलाई १२ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर बिनोद भण्डारीको हातबाट स्टम्पिङ गराए ।

मध्यम ओभरमा दुई स्पिनर बसन्त रेग्मी र सन्दिप लामिछानेको स्पेल निक्कै प्रभावकारी देखियो । हङकङले पाँच ओभरको बीचमा चार विकेट गुमाउँदा मात्र ११ रन टिमको खातामा जोडियो ।

२९.३ ओभरमा टिमको स्कोर १०८ रन हुँदा वाकाश खान १४ रनको स्कोरमा बसन्त रेग्मीको बलमा आउट भए । साहिद वाासिफ १ रनमै एलबीडब्ल्यू आउट भए भने इशान खान खाता खोल्नै नपाइ पेविलियन फर्किए ।

३४.२ ओभरमा अइजाज खान पनि शुन्य रनमै सन्दिपको बलमा कट एट बल भए । ४१औं ओभरको चौथो बलमा नेपालले हङकङका ओपनर अत्किन्सनलाई ७६ रनको व्यक्तिगत स्कोरमा सुशान भारीको बलमार्फत एलबीडब्ल्यूको शिकार बनायो । ११७ बलको सामना गरेका उनले ९ चौका र १ छक्काको सहयोगमा ७६ रनको शानदार पारी खेलेका थिए ।

तर, १४४ रन हुँदा आठौं विकेट गुमाइएको हङकङका लागि तान्वीर अफजल र इशान नावाजले नवौं विकेटका लागि ३८ रनको ठोष साझेदारी गरे । ४७.४ ओभरमा करण केसीको बलमा सागर पुनबाट ब्याच आउट हुनुअघि अफजलले ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए ।

0 comments

Write Down Your Responses

second_add