Powered by Blogger.
सिन्धुलीलाई खोक्रो बनाउनेहरुको नाममा !

– होसियार चन्द
जिल्लामा रहेका केहि सरकारी कार्यालयका कर्मचारी तथा पहुँचवालाहरुले सिन्धुलीलाई खोक्रो बनाएका छन् । उनीहरुको ज्यादति यतिसम्म छ कि उनीहरुले चाँहे भने जिल्लामा जस्तो सुकै काम पनि गर्न सक्छन् । उनीहरुको बोलि जताततै बिक्छ । उनीहरुले आफ्ना आसेपासेहरुलाई कानुन, निति र नियम विपरित जस्तो सुकै काम दिलाउन सक्छन् । पदमा रहेकाहरुलाई विगतमा सहयोग गरेकै भरमा उनीहरुले थुप्रै लाभ लिन पाउँछन् । तर, सोझा जिल्लावासीहरुले प्रक्रियामा गएर काम गर्दा पनि उनीहरुको काम सफल हुन सक्दैन । यो जिल्ला पहुँचवालाहरुका लागि रखेल बनेको छ । सोझा जनता यो जिल्लाबाट पिछडिएका छन् । न त उनीहरुको आवाज राजनैतिक दलले नै सुन्छ न त प्रशासनले नै । 

आवाज उठाउनुपर्ने निकायहरुको मुखमा बुझो लगाउन उनीहरुले पिएचडि गरिसकेका छन् । आवाज उठाउनेहरुको घाँटी निचार्न उनीहरु शाम, दाम र दण्डवेदको हतियार प्रयोग गर्छन् । यहाँ पैसामा नबिक्नेको कमि छैन । सिन्धुलीवासीहरु नराम्रो काम गर्दा आवाज उठाउन पनि सकिरहेका छैनन् । उनीहरुको आक्रोश, असन्तुष्टि र रिस क्षणिककालागि मात्र हुन्छ । जिल्लालाई खोक्रो बनाउनेको उद्धेश्य पनि यहि हो । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ! जिल्लामा विकासका कामहरुमा देखिएको लापर्वाहीमा जिल्ला प्रशासन मौन रहन्छ । पुर्वाधारको विकास कछुवा गतिमा भइरहदा पनि सरोकारवाला निकायहरु कानमा तेल हालेर बस्नुपर्ने कस्तो बाध्यता हो ? कालोबजारी गर्नेहरुलाई यहाँ कसैको डर छैन । दोब्बर मुल्य हालेर सामान बेच्दा पनि उनीहरुमा कुनै पछुतो छैन न त कुनै डरनै । यो जिल्ला सोझा सर्वसाधरणकालागि होइन । किनभने, सोझा सर्वसाधरणहरु यो जिल्लाबाट धेरै मर्कामा परेका छन् । 

जिल्लामा रहेका सरकारी कार्यालयहरुको लाचारिपनलाई कोट्याउने हो भने वर्षौैँ बित्छ तर समस्याको गुनासो अझैँ कम हुदैँन । जिल्लामा आगलागिका घट्नाहरु बारम्बार हुने गर्दछ । तर, आगलागि भइसकेपछि त्यस्लाई निभाउन किनिएको वरुणयन्त्र समयमा पुग्न सक्दैन । बाटो अप्ठ्यारो वा साघुँरो भएर समयमा वरुणयन्त्र नपुग्नु स्वभाविक हो । तर, कर्मचारीहरुको लापर्वाहीका कारण वरुणयन्त्र समयमै पुग्न नसकेको गुनासो बढ्दो छ । कमलामाई नगरपालिका वडा नं ५ देउरालिमा शुक्रबार लागेको आगो निभाउन त्यहाँका वासिन्दाहरुले फोन गर्दा पनि वरुणयन्त्र नआएको उनीहरुले गुनासो गरेको पंक्तिकारले सुनेको छ । एक घण्टा बितिसक्दा पनि वरुणयन्त्र नआएपछि आफैँ गई ढोका ढक्ढकाएर जबरजस्ति ल्याउनुपरेको देउरालिवासीहरुले बताएका थिए । यस्को प्रतिउत्तरमा भने कमलामाई नगरपालिकाले नेटवर्कको समस्याले गर्दा देउरालि नभएर देउरालिटार गएको स्पष्टिकरण दिएको छ । समयमै वरुणयन्त्र पुगेको भए धेरै आगो सल्किन पाउँदैन भन्ने उनीहरुको तर्क छ । यसरी कर्मचारीहरुले गरेको गल्ति र लापर्वाहीको स्पष्टिकरण कस्ले माग्ने हो र उनीहरुलाई कार्वाही गर्न कुन निकायले अग्रसरता देखाउने हो त्यो भने अन्योल छ । तल्लो तहका कर्मचारीहरुलाई दोष थोपर्ने र आफू सुरक्षित हुने उपल्लो तहका कर्मचारीहरुको पहिचान गर्न सकिन्छ । तर, उनीहरुलाई औँला उठउन कस्ले सक्ला र ? गायक अमृत क्षेत्रीले गाएको गित झैँ भएको छ सिन्धुलीमा, जे गरेनि जसो गरेनि चल्छ सिन्धुलीमा.......!
चाडवाडको समयमा दुर्घट्नाको घट्ना धेरै हुन्छ । यस्तो बेलामा एम्बुलेन्स तथा प्राथमिक उपचारकालागि स्टयाण्ड बाई सामाग्रीहरु राख्नुपर्ने हुन्छ । तर, सिन्धुलीको अस्पतालले गम्भिर घाईते भएकालाई काठमाडौँ रिफर गरेको ४ घण्टा बितिसक्दा पनि कुनै एम्बुलेन्सको अत्तोपत्तो हुदैँन । एम्बुलेन्स हुन्छ तर चालक हुदैँनन् । चाडबाडमा सबैले टिका लाउनुपर्छ, चाडपर्व मनाउनुपर्छ । तर, मान्छेलाई चाहिने अत्यावश्यक सुविधाको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन ।  जिल्ला प्रशासनमा यो गुनासो पुग्छ तर खै कताबाट के मिल्छ, त्यो समस्या बिलाएर भित्रभित्रै हराउँछ । मान्छे जुनै समयमा पनि गम्भिर बिरामी पर्न सक्छ । यस्तो अवस्थामा अत्यावश्यक सामाग्रीहरुको व्यवस्थापन गर्न जिल्ला अस्पतालले ध्यान पु¥याउनुपर्छ । एम्बुलेन्सको सुविधा यथासिघ्र उपलब्ध गराउन सम्बन्धित निकाय चनाखो बन्नुपर्ने हो । तर, जिल्ला अस्पतालमा आएको गम्भिर घाइतेले अस्पतालमै प्राण त्याग्छ तर एम्बुलेन्स देख्न पाउँदैन । यो समस्याको अन्त्य कहिले हुनसक्ला ? जिल्ला प्रशासनले पनि अत्यावश्यक सुविधाको व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्छ । हेलिकप्टरको सुविधालाई सहज बनाउन सम्बन्धित निकायहरुसँग समन्वय गर्नुपर्छ । अस्पताल पुग्न नपाएर कोहि जिल्लावासी नमरुन् भन्ने भावना सबै सम्बन्धित निकायमा पुग्नुपर्छ । तर, उही सिन्धुलीमा, जे गरेनि जसो गरेनि चल्छ सिन्धुलीमा.....!

नगरापालिकाको कार्यालय, जिल्ला अस्पताल, जिल्ला प्रशासन त केहि उदाहरण मात्र हुन् । यहाँका धेरै सरकारी कार्यालयहरुका कर्मचारीहरुले जिल्लावासीहरुलाई सुविधा दिन सकिरहेका छैनन् । विडम्बना यस्तै छ सिन्धुलीमा । आखिर सिन्धुलीलाई खोक्रो बनाउनेहरुप्रति कस्ले नै आवाज उठाउँछ र !

0 comments

Write Down Your Responses

second_add