Powered by Blogger.
बाम गठबन्धनमा टिकटको किचलो


काठमाडौं २५ असोज– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल हुँदै पार्टी एकतासम्म गर्ने घोषणा गरेका प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रलाई उम्मेदवार छनौट गर्न हम्मे परेको छ । 


चुनावी तालमेल र एकताको घोषणा गरेको एक सता भन्दा धेरै समय वितिसक्दा पनि दलहरुलाइ उम्मेदवार चयनमा सकस परेको छ । उम्मेदवारका आकाक्षी धेरै भएकोले व्यबस्थापनमा कठिनाइ परेको दलका नेताहरु बताउछन् ।

एमाले माओवादी र नयाँ शक्तिका नेता रहेको उम्मेदवार चयनसम्बन्धी कार्यदलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । जबकी दुई पार्टीका अध्यक्षले तीन दिन भित्र उम्मेदवारी टुंगो लगाउन शुक्रवार कार्यदललाई निर्देशन दिएका थिए । 

६०/४० को निर्णय कार्यन्वयनमा समस्या

गठवन्धनमा सहभागी नयाँ शक्ति र हृदयश त्रिपाठीसहितका नेतालाई क्षेत्र छुट्याएपछि बाँकी रहेको क्षेत्रमा माओवादीले ४० र एमालेले ६० लिनेसहमति भएको थियो । तर त्यसलाई व्यवस्थापन गर्न दुई दललाई समस्या परेको छ । 

चुनावी तालमेलका लागि सीट बाँडफाँड गर्दा ०७० सालको चुनाव र स्थानीय तहमा पाएको मतलाई आधार मान्ने सहमति भने भएको छ । 

माओवादी केन्द्र र एमालेबीच भएको सहमति अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९९ र माओवादी केन्द्रले ६६ सीट पाउनेछन् । तर नयाँ शक्ति र हृदयश त्रिपाठीसहितका नेतालाई पनि सीट दिनु पर्ने छ । जसअनुसार ती दलले १२ सीटको दाबी गरेका छन् जुन माओवादी र एमालेको ६०/४० बाट घट्ने छ । 

प्रदेशमा कसको कति दाबी


एमाले र माओवादी केन्द्रले उम्मेदवार चयनमा आ–आफ्नो दाबी पेश गरिरहेका छन् । 

प्रदेश नम्बर १ मा रहेको २८ सीट मध्ये माओवादीले ८ सीटको दाबी गरेको छ । तर, स्थानीय तहमा उसले प्राप्त गरेको आधारमा बढीमा ४ सीट दिने सकिने एमाले नेताले बताएका छन् । 

प्रदेश नम्बर दुईमा एमाले भन्दा माओवादी केन्द्रले स्थानीय तहमा बढी क्षेत्रमा जीत निकाले छ । त्यसका कारण दुई नम्बर प्रदेशमा उसले धेरै क्षेत्रमा दाबी गरेको छ । ३२ क्षेत्रमध्ये माओवादीले १७ सीटको दाबी गरेको एक एमाले नेताले बताए । 

प्रदेश नम्बर तीनमा एमालेले स्थानीय तहको चुनावमा राम्रो नतिजा निकालेको थियो । त्यसकारण तीन नम्बर प्रदेशमा एमालेले धेरै गुमाउन चाहेको छैन । राजधानी काठमाडौं सहित प्रभाव क्षेत्रहरु समेत रहेका कारण माओवादी केन्द्र र एमाले दुवैले तीन नम्बर प्रदेशमा विशेष ध्यान दिएका छन् । 

प्रदेश नम्बर तीन अन्र्गत का ३३ निर्वाचन क्षेत्र मध्ये १२ सीटको दाबी गरेको छ । तर एमाले भने स्थानीय तहमा पाएको मतलाई आधार मान्दै १० स्थानीय तहभन्दा धेरै दिन नसकिने विषयमा छलफलमा छ । एमालेका एक नेताका अनुसार माओवादी प्रभाव क्षेत्रहरुमा एमालेले पाउने आधारलाई मान्ने हो भने तीन नम्बर प्रदेशमा माओवादीले १२ सीट पाउन सक्छ । 

१६ सीट रहेको प्रदेश नम्बर ४ मा एमालेले १२ सीटको दाबी गरेको छ भने माओवादीले ७ सीटमा दाबी गरेको छ । 

पाँच नम्बर प्रदेशमा रहेको २२ सीट मध्ये एमाले १५ सीटमा दाबी गरेको छ । 

१२ सीट रहेको प्रदेश नम्बर ६ मा एमाले र माओवादी केन्द्रले स्थानीय तहमा बराबर जस्तो जीत निकालेका छन् । जसका कारण दुवै दलले बराबरपाउने सम्भावना छ । 

प्रदेश नम्बर ७ मा माओवादीले ६ सीटमा दाबी गरेको छ । कुल १६ सीट रहेको ७ नम्बरमा माओवादीको अवस्था कमजोर रहेको भन्दै एमालले धेरै दिन नसकिने बताएको छ । 

मुख्यमन्त्री बारे बहस शुरु

प्रतिनिधिसभाको लागि उम्मेदवार चयनमा व्यस्त रहेको दलहरुले मुख्यमन्त्री विषयमा पनि छलफल शुरु गरेका छन् । 

७ प्रदेशमध्ये माओवादी केन्द्रले तीन प्रदेशमा दाबी गरेको छ भने एमालेले ४ प्रदेश पाउने गरि छलफल शुरु भएको छ । 

तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशमा भएको चुनावमा एमाले भन्दा माओवादी केन्द्र अगाडिभएपछि माओवादीले दुई नम्बर प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ जसमा एमाले पनि सकारात्मक छ । माओवादी केन्द्रले ५ नम्बर प्रदेशमा र ६ नम्बरमा मुख्यमन्त्रीमा दाबी गरेको छ । तर एमालेले ५ नम्बर प्रदेशमा सहमति जनाउन नसक्ने एमालेका एक नेताले बताए । 

मुख्यमन्त्रीमा ठूला नेताको वेवास्ता


मुख्य मन्त्रीको रुपमा दलहरुले हेभी वेटका उम्मेदवारलाई नउठाने अवस्था बनेको छ । अधिकांश शीर्ष नेता प्रतिनिधिसभा तर्फ केन्द्रीत भएका छन् । 

प्रतिनिधिसभालाई माथिल्लो र प्रदेश सभालाई तल्लो तह मान्ने मानसिकताका कारण नेताहरु प्रदेश सभामा जान चाहेका छैनन् ।

0 comments

Write Down Your Responses

second_add