आखिर के चाहन्छ उत्तर कोरिया ?

प्रकाशित समय 5:26 AM

काठमाडौं, २४ भदौ – न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले एकपछि अर्काेगरी जारी राखेको आणविक अश्त्रको भित्री ध्येय खोज्ने प्रयत्न लेखकद्धयले सो विश्लेषणमा गरेका छन् ।



उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई बहुलट्ठीको संज्ञा दिँदै उनीहरुले छ बर्षअघि शासनमा पुगेका किमले बिना कुनै योजना र उद्देश्य गरिरहेको यो कार्यलाई अति उत्तेजक ब्यवहार भनेका छन । तर पछिल्लो पटक परीक्षण गरेको हाइड्रोजन मिश्रित परीक्षणले भने विश्वमा उत्तेजना जगाउनु भन्दा बढी चिन्ता जन्माएको उनीहरुको तर्क छ । 

अमेरिकालाई तर्साउने उसको नियत भए पनि उसको गठबन्धनबाट दक्षिण कोरिया र जापानलाई अलग्याउने अर्काे चालबाजी उत्तरको देखिन्छ । जापानतर्फ उसले हानेको मिसाइलले अमेरिकाबाट दक्षिण कोरिया र जापान टाढा तर आफ्नो छिमेकी भएकोले उनीहरुलाई अमेरिकासँगको सम्बन्ध भन्दा छिमेकीसँगको दुश्मनी बढी महङ्गो पर्नसक्ने चेतावनीयुक्त सन्देश हतियारबाटै दिएको हुनसक्ने लेखकद्धय बताउँछन् ।  

ओबामा भन्दा ट्रम्प प्रशासन आफ्ना लागि अझ बढी अनुदार रहेकोमा उत्तर कोरिया जानकार छ । त्यसैले अमेरिकाले उसको गठबन्धन प्रयोग गरी आफ्ना विरुद्धमा गर्नसक्ने कारबाहीका लागि पनि आफू रक्षात्मक अवस्थामा छु भनेर उत्तरले देखाउनुपर्ने शक्तिको उपज पनि यो हाइड्रोजन मिश्रित परीक्षण भएको अड्कल धेरैको छ । 

धेरैले र यी दुई लेखकले पनि उत्तर कोरियाको यो खेललाई अमेरिकासँगको मोलमोलाई (ब्ल्याक मेलिङ) मात्र नभएर विश्वका शक्तिशाली नेताहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले आफूलाई उत्तिकै ब्याबहार गरुन, वार्तामा बोलाउन र आफूले कुनै शर्त राखेर यो अश्त्रको होडलाई गाह्रोगरी स्थगित गर्ने बचन दिनसकुँ भन्ने भित्री ध्येय रहेको बताउँछन् ।  

अमेरिकापछि जापान भन्दा पनि उसको आरिस हो दक्षिण कोरिया । किमले दक्षिण कोरियासँग एकीकरण गर्न चाहन्छन् तर दुवैको इच्छाबमोजिम नभई उत्तरको शर्त बमोजिम । यसरी उसले दक्षिण कोरियालाई एकीकरण गर्न वार्ता भन्दा पनि सैनिक अतिक्रमण गर्नसक्ने खतरा पनि देखिन्छ । उत्तरको बारम्बारको यो शक्ति प्रदर्शनले दक्षिणतर्फ बल प्रयोग नगर्ला भन्न सकिन्न । त्यसैले यो दम्भ बाह्य प्रदर्शन हो र यसले मानसिक रुपमा दक्षिणलाई एकीकरणको लागि गलाउन खोजेको हुनसक्छ ।      

दक्षिण र उत्तर कोरिया सन् १९५३ को युद्धपछि टुक्रिएका हुन् । त्यसयताको उनीहरुबीच सम्वादभन्दा सत्रुता बढ्दो छ । जसलेगर्दा दक्षिण कोरिया उत्तर भन्दा बढी अमेरिकासँग नजिक छ । एकीकरणको आवाज बेला बेलामा आउछ तर निकै मधुरो छ । त्यो पनि उत्तरका शर्तले गर्दा दक्षिणको आवाजै दबिने गर्छ । जुन उत्तरलाई मन परेको छैन । अब आवाजले भन्दा पनि हतियारले चर्काे बोल्ने प्रयत्न उसको हुनसक्छ ।  

उत्तर कोरिया विश्व समुदायमा बलियो उपस्थिति चाहन्छ । यस्तो उपस्थितिको स्थान उसले अरु हिसाबले बनाउन नसकेछि यसरी हतियारले बोलिरहेको छ । तर हतियारकै भाषा भए पनि अन्तर्राष्ट्रिय समुदायले बुझिदिनुपर्ने तर्क धेरैको छ । हतियारले नै सम्वाद गरिदिँदा यसले अर्काे युद्धको खतरा जन्माउन सक्छ । त्यसैले कूटनीतिक संवाद आवश्यक देखिन्छ । जे होस, उसको उपस्थितिले यतिखेर विश्वका शक्ति राष्ट्रहरुका दिमागमा नै अब उत्तरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच्न बाध्य बनाएकै छ । यसैमा पनि उत्तरले आफ्नो जित देखेको हुनसक्छ ।  

तर वार्ताको सम्भावना छैन भन्नुहुन्छ अमेरिकी राष्ट्रपति टम्प । उत्तरले गएको आइतबार गरेको हाइड्रोजन परीक्षणपछि पनि चुप लागेर बस्दा उहाँले दक्षिणको आलोचना गर्नुभएको थियो । दक्षिणले सधैँ वार्तालाई नै जोड दिएपनि उत्तर यसको पक्षमा नरहेको तर्क थियो उहाँको । राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिपछि त्यसको भोलिपल्टै दक्षिणले पनि जवाफी फायरस्वरुप क्षेप्यास्त्र हानेको थियो ।  


सोलको योनसेइ विश्वविद्यालयका प्राध्यापक मो जोग्रिनले उत्तरको पछिल्लो परीक्षणलाई गम्भीर रुपमा लिनुपर्छ भन्नुहुन्छ । उहाँको भनाई छ, यो खतरनाक छ, यसले पृथ्वी नै हल्लाएको हामीले महसुश गरेका छौँ, त्यसैले यसको सम्बोधन हतियार हो या कूटनीतिक वार्ता चाँडै गर्न सक्नुपर्छ । उहाँको तर्कथियो,—अघिका परीक्षणलाई हामीले केटाकेटी खेलका रुपमा लिएका थियौँ तर पछिल्लो परीक्षणले भोलि खतरा जन्माउन सक्छ । त्यसैले यसको छिटो सम्बोधन जरुरी छ । 

उत्तरको पछिल्लो परीक्षणपछि संसारको कुनै पनि देश उसको पक्षमा छैन । यो हतियारको दम्भ नै हो र यसलाई कुनै न कुनै रुपले कानुनी दायरामा ल्याउनुुपर्ने संसारले भनेको छ । तर ती सबै भनाईहरु यसअघिका परीक्षणहरुजस्तै परम्परागत रुपमा मात्र आएका छन् । उही नाकाबन्दी, उही संयुक्त राष्ट्रसंघको निन्दा र तिनै छिमेकीको आक्रोस । तर यतिले मात्र अबको समस्या समाधान गर्न नसक्ने धेरैको सर्वेक्षण छ । त्यसैले सश्त्रास्त्रको होड रोक्न नै विश्व एकहुनु जरुरी छ । 

दुई बर्षयता बारम्बार आणविक परीक्षण गर्र्दै आएको उत्तर कोरियाले पछिल्लो तथा छैठौँ पटक हाइड्रोजन बम पड्काएर छिमेकी तर्साएको मात्र छैन संसारलाई नै झस्काएको छ । त्यसो त यो उसको यो वीरता नभएर बहुलट्ठीपन नै हो । किनभने हतियारले निम्त्याउने दम्भको परिणाम कदापि मानव हितमा हुदैन । तर पनि युद्ध विवेकसाथ नलडिने खेल भएकोले यसको निराकरण हतियारले होइन विवेकले नै गर्नु उपयुक्त हुनेछ । र त्यसको नेतृत्व विश्वशक्ति राष्ट्र अमेरिकाले नै लिनुपर्दछ । 

गत अगष्ट ६ मा हिरोसीमाबासीले दोस्रो विश्वयुद्धको त्रासदीको दुःखद स्मरण गरिरहँदा टोकियोका मेयरले भनेका थिए, ७२ बर्षअघिको हिरोसिमाको त्रासदी सम्झिदा लाग्छ अणुअश्त्र बिनाको संसार जापानको कल्पना हो, तर त्यो अहिले नै सम्भव देखिन्न । यसलाई एक संयोग नै मान्नुपर्छ, उनले त्यसो भनेको केही हप्तामा जापानी समुद्रमा उत्तर कोरियाले मिसाइल फालेको थियो । 

त्यसैले मेयरले भनेजस्तै अहिले नै त्यस्तो संसारको कल्पना गाह्रो पर्दैछ र त्यसमा बल भर्दैछ उत्तर कोरिया । तर यसलाई सम्भव बनाउन संसार लाग्नुपर्छ । हतियारको विकल्प हतियार होइन भनेर उत्तर कोरिया र संसारलाई नै सहमत गराउने विश्वनेता अहिले आवश्यक छ । यस्तो अवस्थामा राष्ट्रसंघले संसारलाई शान्तिपूर्ण नेतृत्व दिन नसक्नुले झनै निराशा थप्न सक्दछ । हतियारको भन्दा शान्तिको आवाज थप मलिन हुनसक्छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »