Powered by Blogger.
विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा अभिमुखिकरण सम्पन्न

सिन्धुली,२४ भदौ – कमलामाई नगरपालिका सिन्धुलीको स्थानीय विपद तथा जलवायु उत्थानसील योजना तर्जुमा सम्बन्धी १ दिने नगर स्तरीय अभिमुखिकरण कार्यक्रम नगर प्रमुख श्री खडग खत्रीको अध्यक्षतामा सम्पन्न भयो ।


कमलामाई नगरपालिका सिन्धुलीको समग्र स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण गर्ने उद्देश्य अनुसार संचालित अभिमुखिकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत सागरकुमार ढकाल, प्लान इन्टरनेशनल नेपालका प्रमुख रामबहादुर श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका स्थानीय विपद तथा जलवायु उत्थानशील परियोजनाका परियोजना संयोजक पवन पाख्रिनले सहजीकरण गरेका थिए ।

कमलामाई नगरपालिकाको १४ वटै वडाहरुमा नै गई वडा स्तरीय अभिमुखिकरण तथा समिति गठन गरी विपद्को पहिचान तथा स्तरिकरण गर्ने, आकस्मिक योजना र आपत्कालिन कोष तयार गर्ने, सकंटाभिमुखता पहिचान गरी संकटासन्नता कम गर्ने र समुदायमा क्षमताको विकास एवं पहिचान गरी कमलामाई नगरपालिकाको विपद् योजना तर्जुमा गर्ने कार्यक्रम रहेको रेडक्रस सोसाइटी सिन्धुलीका सभापति श्री अशोक श्रेष्ठले जानकारी गराए ।

कमलामाई नगरपालिकाका उपमेयर मन्जु देवकोटाले स्वागत गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले स्थानीय तहले आफनो कार्यक्षेत्र भित्र विपद तथा जलवायु उत्थानशील योजना निर्माण गरि कार्यान्वयन गर्न सके जनताहरुले राखेको अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दे कमलामाई नगरपालिका सिन्धुली यस कार्यमा सफल हुने बताए ।

कमलामाई नगरपालिका सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित उक्त कार्यक्रममा कमलामाई नगरपालिकाको नगरकार्यपालिकाका सदस्यहरु, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, पशुसेवा कार्यालय, कृषि विकास कार्यालय, शहरी विकास डिभिजन कार्यालय, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses

second_add