Powered by Blogger.
भरिया मात्रै नियन्त्रणमा



काठमाडौं २२ भदौ –  सस्तो चप्पल, त्यो पनि थोत्रो– हेर्दा हुँदाखाने । तर आयातनिर्यात गर्ने फर्मका ‘मालिक' हुन् कुलप्रसाद राजभण्डारी । उनलाई आफ्नो फर्मको अफिस कहाँ छ भन्ने थाहा छैन, बौद्धमा छ भन्ने सुनेको उनको भनाइ छ ।

नक्कली स्टिकर ओसारपसारमा प्रयोग गरिएका प्रकाश घिमिरे(बायाँ) र कुलप्रसाद भण्डारी ।

उनले नागरिकता दिए, फर्म दर्ता भयो भनेर केही पैसा पनि पाए । दसैंमा खर्च पाउँछस् भनिएको थियो । ‘तर दसैं त यतै बित्लाजस्तो पो', वीरगन्जमा नक्कली स्टिकर फेला परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका ४९ वर्षीय राजभण्डारीले  भने ।

राजभण्डारीलाई मंगलबार ब्युरोले विराटनगरमा पक्राउ गरी ल्याएको हो । कारोबारमा संलग्न विराटनगरका प्रकाश घिमिरे टेकुबाट पक्राउ परेका छन् । यसबाहेक ट्रान्सपोर्टका कर्मचारी वीरेन्द्र महतोलाई भन्सारले नै पक्राउ गरी नक्कली स्टिकरसहित वीरगन्जको आन्तरिक राजस्व कार्यालयमा बुझाएको थियो ।

गैरकानुनी धन्दा गर्ने टाठाबाठा व्यापारीले प्रयोग गर्ने गरिएका एउटा प्रतिनिधि पात्र हुन्, राजभण्डारी । कार्यालयमा हिमालय ट्रान्सपोर्टमार्फत हरिओम ट्रेडिङ प्राइभेट लिमिटेडले भित्र्याउन खोजेको ८६ हजार चार सय ७० थान नक्कली स्टिकर आइतबार वीरगन्ज भन्सारमा बरामद भएको थियो । विराटनगर महानगरपालिकाका राजभण्डारी त्यही हरिओम ट्रेडिङका मालिक (प्रोप्राइटर) हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली स्टिकर भित्र्याई मदिरा उद्योगलाई राजस्व चुहावटमा सघाउनकै लागि सो ट्रेडिङ दर्ता भएको देखिन्छ । हेर्दा हुँदाखाने परिवारको देखिए पनि राजभण्डारी अवैध धन्दाबारे बेखबर लाग्दैनन् ।

सोधेको कुराको जवाफ दिनुको सट्टा कुरा अन्त मोड्न खोज्छन् वा खुल्न चाहँदैनन् । उनले थप दुईवटा फर्म आफ्नो नाममा दर्ता भएको बताए पनि नाम थाहा नभएको बताइरहेका छन् । ‘हेर्दा जस्तो देखिए पनि कुराले यो मान्छे अरूको फर्मको प्रोपाइटर भइदिएर जीविका चलाउनेजस्तो देखिन्छ', अनुसन्धानमा संलग्न एसपी मीरा चौधरीले भनिन् । उनले मोरङ जिल्लाबाटै अशोककुमार श्रेष्ठको नाममा अर्को नागरिकता पनि लिएको खुलेको छ ।

राजभण्डारी विराटनगरकै चिनजानका घिमिरेले भनेपछि फर्म दर्ता गर्न नागरिकता दिएको बताउँछन् । हरिओम ट्रेडिङ दर्ता गर्दा लागेको खर्च ५० हजार रुपैयाँका साथै बैंक जमानत तीन लाख रुपैयाँ घिमिरेमार्फत विनोद गुप्ताले तिरेका थिए । गुप्ता हिमालयन कार्गो, साइसाइन कार्गो र प्रकाश रोडवेज कार्गोका मालिक हुन् । कानुनतः राजभण्डारी मालिक भए पनि कारोबारचाहिँ गुप्ताले नै गर्थे । गुप्ताको सहयोगीका रूपमा कर, बैंक, कम्पनी रजिस्ट्रार कार्यालय धाउने कामचाहिँ घिमिरेले गर्थे ।

हिमालय ट्रान्सपोर्टमार्फत हरिओम ट्रेडिङ प्राइभेट लिमिटेडले भित्र्याउन खोजेको ८६ हजार चार सय ७० थान नक्कली स्टिकर आइतबार वीरगन्ज भन्सारमा बरामद भएको थियो ।

सीआईबीका प्रमुख पुष्कर कार्की प्रयोग भएका यस्ता व्यक्ति अनुसन्धानका लागि आवश्यक भए पनि अनुसन्धान यिनलाई प्रयोग गर्नेसम्म नपुगी नहुने बताए । अहिलेसम्म विनोद गुप्ता देखिए पनि उनले पनि मदिरा उद्योगकै लागि नक्कली स्टिकर आपूर्ति गरेको हुन सक्ने अनुमान छ । ‘त्यो मदिरा उद्योगसम्म कारबाही दायरा नआए यस्तो धन्दा नियन्त्रण हुन्न', उनले भने । बरामद भएको स्टिकर मदिरामा प्रयोग भएको भए अन्तःशुल्कबापत राज्यकोषमा आउने एक करोड ९७ लाख रुपैयाँ गुम्ने थियो । आन्तरिक राजस्व विभागसँगै सहकार्य गरी सीआईबीले अनुसन्धानमा हात हाले पनि हिरासतमा रहेका राजभण्डारी र घिमिरेलाई बुधबार नै आन्तरिक राजस्व कार्यालय वीरगन्जमा पठाएको छ ।

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक निर्मलहरि अधिकारीका अनुसार विपन्न÷निमुखाको नाममा फर्म दर्ता गरी हुने गैरकानुनी कारोबार नियन्त्रण गर्न हैसियत भएको व्यक्तिलाई मात्र आयातनिर्यातको अनुमति नदिएसम्म यस्तो धन्दा नियन्त्रण हुन गाह्रो छ । यसका लागि आयातनिर्यातको व्यापार गर्न करोड रुपैयाँबराबरको सम्पत्ति देखाउनपर्ने व्यवस्था हुनपर्ने उनले बताए । सम्पत्ति नै नभएको व्यक्तिले आयातनिर्यातको व्यापार गर्छु भन्दा सरकारले किन पत्याउने भन्ने उनको प्रश्न छ ।

अर्थमा यसबारे छलफल भए पनि एक्जिम कोड लागू भएपछि विचलन नियन्त्रण हुने निष्कर्षमा पुगेका थिए । एक्जिम कोड लिएपछि कुनै विचलन गरेको फेला परे तीन लाख जरिवाना तिराउने प्रावधान छ ।आजको अन्नपुर्णपोष्टमा खवर छ ।

0 comments

Write Down Your Responses

second_add