धुलो नलागेको कालो जुत्ता

प्रकाशित समय 2:30 AM

 नरेश फुयाँल  



“न भनेको बुझ्छ, न आफैं जान्दछ,” एउटा कर्कश स्वर कानमा ठोक्कियो । 

“पढ्न आउँछ ? उ... त्यहाँ के लेखेको छ ? त्यो बेल्ट पनि खोल्” लगत्तै अर्को कर्कश स्वर उसैगरी कानै छेड्ने गरी ठोक्कियो ।

फौजी जागिर सुरु गरेको दुई तीन वर्ष जस्तो देखिने नेपाल पुलिसको एक जवान अझ रुखो स्वरमा भन्छन्, “नेपाली भए पो बुझ्छ त इण्डियन धोती त हो ।”

नोभेम्बर २७ तारिखको मध्यान्ह १२ बजेको आसपासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इमिग्रेसनको चेकिङ पोइन्टमा सुरक्षा जाँचमा खटिएका प्रहरीले वैदेशिक रोजगारीमा जान लागेका मधेसी मूलका नागरिकलाई गरेको सम्बोधनको एक अंश हो यो ।  

अर्को अचम्म के देखियो भने, पहाडे मुलको खस क्षेत्री गोरो वर्णको प्रहरी जवानले यसरी गाली गरिरहँदा उसको हो मा हो मिलाउने अर्का प्रहरी जवान मधेसी मुलकै थिए । मलाई लागेको थियो, उनले प्रतिवाद गर्छन् होला । तर उनी पनि हो ेमा हो मिलाइरहेका थिए ।

बिचरा भर्खर किशोरावस्था पार गरे जस्ता देखिने ती तराई मुलका चार युवा मौन थिए । अनुहारमा डरका रेखाहरु दौडिरहेका थिए । भयको सन्त्रासले किचिरहेको उनीहरुको अनुहारमा प्रतिवादका कुनै रेखा देखिएन । तिनैमध्येको एकले आफ्नो खल्तीबाट पर्स झिके, कम्मरबाट पेटी फुकाले र जुत्ता पनि खोले । त्यतिकैमा तिनै पुलिस कराए जुत्ताचैं कसले खोल् भन्यो हँ ?

कालो वर्णका ती युवाको अनुहार झनै मैलो भयो । अनुहार सोहोरियो । लाग्थ्यो, उनले कसैको ज्यानै लिए र अब उनले जन्मकैदको सजाय भोग्दैछन् । यस्तै बोल्यो उनको अनुहारले ।
अर्को एक जना पनि रहेछन् उनीहरुको समूहमा । उसले मलाई उछिनेर लाइनका अगाडि बस्यो, उसकै साथीहरुको पछाडि । मैले उसलाई केही भनिन । उसले मलाई कम आँकेर हैन छुट्छु कि भन्ने भयले मभन्दा अगाडि गएको थियो । त्यो डर उसको अनुहारमा जो कसैले पढ्न सक्थ्यो । त्यसैले म उसको पछि नै उभिएँ । 
० ० ०
यो त वैदेशिक रोजगारीमा जाने नेपालीहरुले भोग्नुपर्ने समस्याको एउटा झलक मात्रै हो । यस्ता कयौं विभेदको सिकार भइरहेका छन् वैदेशिक रोजगारीमा जानेहरु । गाउँमा साहुको सयकडा ३६ को व्याजबाटै सुरु हुने उसको ठगिने प्रक्रिया काठमाडौंको बसपार्कको होटलवाला दोस्रो व्यक्ति हुन्छ उसलाई ठग्ने । म्यानपावर सरकारी नियम कानुनलाई भदौरे घाममा सुकाउँदै मोटो रकम असुलेर सस्तो श्रमका लागि खाडीको टिकट काटिदिन्छ । अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सुरुमै विभेदको शब्दले स्वागत गर्छ, वैदेशिक रोजगारीमा जानेहरु यता भन्दै । 

सयकडा ३६ मा ब्याज काडेर मासिक २५ हजारमा रगत पसिना बगाउन जानेहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । यो स्वीकार्न राज्यले लाज मानेको छैन । गर्वले छाती चौडा पारेर रेमिट्यान्सले देश धानेका छौं भन्ने सरकारले तिनै निमुखा जनाता जसले देश पालेका छन् उनीहरुलाई विभेद गरिरहेको छ । 

विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गर्नुपर्ने व्यक्तिलाई विभेदको ढोकाबाट छिराएर आफ्ना कर्मचारीको कर्कश व्यवहारको सामना गर्दै विदेश ठेल्ने सरकारी अधिकारी तिनै व्यक्तिको रेमिट्यान्समा भीभीआईपी कक्षको बाटो हुँदै विदेश सयर गरिरहेका छन् । 

आफ्नै भूमिमा परचक्रीको व्यवहार भोग्न बाध्य नेपालीले जहाजबाट ओर्लिंदादेखि नै पराई भूमिमा भाषाको अवरोध बेहोर्नुपर्छ । त्यसमाथि मेनपावरको गैरजिम्मेवारपूर्ण व्यवस्थाले उनीहरुले त्यहाँका कम्पनी पुग्दासम्म भोग्नुपर्ने दर्दनाक कथा र कम्पनीले गर्ने व्यवहार अनि तलब सुविधाको कहालीलाग्दो कथा सुन्दा–सुन्दा नेपालीका कान थेत्तरा भइसकेका छन् । 
० ० ० 
यहाँ विकासका कुरा गर्दा राजनीतिक अस्थिरताई त्यसको बुई बोकाएर नेताहरु उम्किन्छन् । कर्मचारहरु राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्तिलाई कारण देखाएर पाखा लाग्छन् ।

तर थाइल्याण्डलाई मात्रै हेरे हुन्छ । त्यहाँको विकासलाई हेरे पुग्छ । हाम्रो जस्तै राजनीतिक अस्थिरता भएको थाइल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल सुवर्णभूमि विमानस्थललाई हेरे पुग्छ । त्यो भव्य र सभ्य विमानस्थलमा ओर्लिनेबित्तिकै त्यहाँको भव्यता देखेर नेपाल र नेपालको विकासे गतिलाई हेर्दा जो कोहीलाई दया लाग्छ । 

त्यहाँको इमिग्रेसनका कर्मचारीको व्यवहार, उनीहरुको शिष्टता, कामप्रतिको लगाव र उनीहरुले बसाएको सिस्टमको जो कसैले पनि स्यालुट गर्छ । 

छातीमा हात राखेर आधा जिउ झुकाएर त्यहाँका होटलका कर्मचारीले ग्राहकलाई गर्ने सत्कार कसैले विर्सिदैन होला सायद । हरेक पटक देख्दा यसरी गरिने आतिथ्य उनीहरुको पहिचान रहेछ । साधारण फुटपाथका होटलमा अर्डर गरेपछि उनीहरुले भनेकै समयमा सर्भ हुन्छ । एक मिनेट ढिलो भए दुई पटक सरी भन्न कर्मचारी आइपुग्छन् । सपिङ मलमा ग्राहकले सोधेको समान छैन भने यहाँ जस्तो त्यहाँका व्यापारीले त्यो भन्दा यो पो राम्रो भनेर ग्राहकलाई इन्द्रजालमा पारिरहेका थिएनन् । यस्ता धेरै कारण रहेछन् थाइल्याण्डको द्रुततर विकासको । 

फराकिलो चिल्लो सडक, मिनेट मिनेटमा छुट्ने मोनो रेल, सुकिला डबल डेकका सार्वजनिक सवारी, भाडाका ट्याक्सी र बाइक अनि त्यो भन्दा पनि लोभ लाग्दो सडक सभ्यता, आलिसान भव्य महल, चौविसै घण्टा खुल्ने बैंकक सहर, सुरक्षाका हिसाबले सुरक्षित सहर । यिनै हुन् बैंकका विशेषता जसले पर्यटक आकर्षित गरिरहेका छन् । 

काठमाडौंमा धुलो र हिलोले दिनकै विरुप हुने मेरा काला जुत्ता बैंककमा ५ दिन सडकमा हिँड्दा पनि न धुलो नै टाँसियो न मैलिए नै । चिल्लो सडकमा धुलो थिएन मेरा काला जुत्तालाई विरुप बनाउने । 

सफा सडकले लोभ्याइरहेको थियो । लोभलाग्दो आतिथ्यले नेपाल बिर्साइरहेको थियो । अनि म मनभरी अपेक्षाको कल्पना सजाएर जहाजमा सोचिरहेको थिएँ कहिले हुन्छ बैंकक जस्तै काठमाडौ ? कहिले धुलोबाट मुक्ति पाउँछन् यी मेरा एक जोडी काला जुत्ताले र ५–५ दिनसम्म धुनै पर्दैन काठमाडौंमा पनि ? प्रश्न त मसँग थिए तर जवाफ थिएन । 

बैंककजस्तै काठमाडौं समुन्नत भएको भए सायद ती ५ जनाले इमिग्रेसनमा प्रहरीको दुर्बचन सुन्नुपर्ने थिएन होला । मनभरी सन्त्रास बोकेर परिवारबाट टाढिएर जोखिमको जीवन जिउनु पर्ने थिएन होला । अनि सयकडा ३६ को ब्याजको भारीले किचिनु पर्ने पनि थिएन होला । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »