भ्रष्टाचारीले अब आजिवन चुनाव लड्न नपाउने

प्रकाशित समय 10:45 PM

काठमाडौं,१९ भदौ–  भ्रष्टाचारको कसुर भुक्तानी गरेकाहरूलाई निश्चित समयपछि निर्वाचन लड्न पाउनुपर्ने काँग्रेसको संशोधन फिर्ता भएपछि विधेयक समितिबाट पारित भएको छ ।


सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो । तर, काँग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको ३ वर्षपछि चुनाव लड्न पाउनु पर्ने भन्दै संशोधन हालेका थिए । यही कारण विधेयक अडकिएको थियो ।

समयमा निर्वाचन गर्नुपर्ने भएकोले काँग्रेसले आफ्नो संशोधन फिर्ता लिएको काँग्रेस सांसद आनन्द ढुंगानाले बताए । उनी लगायत १९ जना सांसदले संशोधन राखेका थिए । काँग्रेस सांसदले राखेको संशोधन प्रस्ताव पार्टीको नभइ सांसदहरूको व्यक्तिगत रहेको उनले बताए ।

यो प्रस्तावसँगै भ्रष्टाचारलगायतका कसुरहरूमा दोषी ठहरिएकाहरूले आजिवन निर्वाचन लड्न पाउने छैनन् ।
त्यस्तै गृहमन्त्री जनार्दन शर्माले नो भोटको व्यवस्था फिर्ता लिएका छन् । सरकारले ल्याएको विधेयकमा नो भोटको व्यवस्था गरिएको थियो । सर्वोच्च अदालतले समेत नो भोटको व्यवस्था राख्न आदेश दिएको थियो । नो भोटको व्यवस्था हटाउन काँग्रेस ,एमाले र माओवादी सांसद एक भएका थिए ।

समितिका सभापति दिलबहादुर घर्तीले नो भोटको व्यवस्था बाहेकका सबै प्रावधान जस्ताको तस्तै पारित गर्न आग्रह गरेपछि तीन पार्टीका सांसदहरूले सहमति जनाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बोल्न खोज्दा समेत सभापति घर्तीले समय दिएका थिएनन् ।

केही प्राविधिक कुरा बाहेक विधेयकमा थप्न बाँकी केही नरहेको एमाले सांसद गंगालाल तुलाधरले  बताए ।

अब यो विधेयक संसदबाट पारित गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुनको रूप लिन्छ । दुबै विधेयक आजै संसदमा पेश हुनेछ ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गरी दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । तर, निर्वाचन सम्वन्धी कानुन नभएकाले चुनावको तयारी प्रभावित भएको भन्दै आयोगले ताकेता गर्दै आएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »