Powered by Blogger.
नेपाल आइडल संकीर्ण जातीयवादको ताप र रापको भुंग्रोमा


संजिव कार्की

जातीय राजनीतिको कुरुपता प्रतिभा छनोटमा पनि देखिनु सभ्य समाज र आधुनिक मानव समाजको लागि पक्कै पनि अशोभनीय हुनुको पराकाष्ठा हो । राजनीतिको घिनलाग्दो स्वरूप अनि राजनीतिको नाममा मौलाएको संकीर्ण जातीयताबाद, क्षेत्रियाताबाद र घृणाबाद नै आजको समाजको विद्रूप प्रहसन र अधोगति र बिग्रदोमतिको परिचायक हो । समुन्नत मानव समाज निर्माणको वाधक र भद्दा मजाक हो । मानव जन्म एउटा संयोग हो । यो संयोग जो कोहीलाई जता ततै मिलेको हुन्छ ।

जन्म संयोग कसैको आग्रह, आशय, निवेदन र जन्म पुर्वजन्मको फल, धर्म पापको प्राप्ती र पुरस्कार दण्ड होइन नियमित आकस्मिकता हो । यो कुल, यो घर, यो परिवार ,यो भूगोल, यो जात, यो धर्म, यो देश र यो हावापानी, मा म जन्मन पाउ भनेर कोहि आएको र जन्मेको हुदैन । तसर्थ यहाँ जन्मेर आउनेको कुनै दोष या भूल हुदैन । यो जात, यो धर्म, यो कुल, यो खान्दान,यो भूगोलको मान्छे भनेर मान्छेले मान्छे प्रति फरक दृष्टिकोण राख्नु बेकार छ । जन्म संयोग, जो जसको घर, कुल ,खानदान, भूगोल र क्षेत्रमा भए पनि जन्मसिद्ध अधिकार सवैको हुन्छ, रहन्छ । जन्मसिद्ध अधिकार सबैको एकै र उही हो तर सामाजिक व्यवस्था र प्रणाली र परम्परागत मान्यता , रितिरिवाज र चालचलनको आधारमा समाजको आ–आफ्नो जीवनशैली र ढांचा हुन्छ । जीवन चलाउने पद्दति र चलन फरक फरक हुन्छ । समाज बिकासको चरणमा बिभिन्न समयमा बिभिन्न मान्यता र शैली अवलम्बन गरीएको हुन्छ । नयाँ मान्यता र नयाँ अवधारणाहरु विकास गरिएको हुन्छ । समाजको ब्यापकता र बृहत्तर विकास संगै फरक फरक मान्यता र सोच अघि बढ्नु अनि त्यसलाई जीवन पद्दतिको आधार बनाई प्रचलनको रुपमा विकास गर्नु बिकासबादी सिद्दान्तले स्वीकार गरेको मान्यता हो ।

समाज बिकासको चरणमा आएका मान्यताहरु भिन्न ,भिन्न हुनु र समाज भिन्न भिन्न मान्यता र जीवन चक्रमा बाडिनु सामान्यतया खराब र ठुलो अन्तरविरोध होइन नियमित प्रक्रिया र संस्कृति धर्म बिकासको चरण हो । यहि बिकासको चरणमा समाज मान्यता र शैली अनि आचरणको माध्यमबाट धुर्विकृत हुन् पुग्छ त्यहाँ बिभिन्न जात जाती र परम्पराको थालनी हुन्छ त्यो भन्दा पर अर्को कुनै भेद र श्रेष्ठगत भिन्नता छैन जात जातीमा ।

जातीयता कहाँ र को संग छैन र ? जातीयता भनेको सामाजिक बनावटको प्राकृतिक परिघटना हो । यो मानिसले चाहेर नचाहेर हुने या नहुने हुनसक्तैन । यो समाजको बिज्ञान हो । सामाजिक रित हो । यसलाई अस्विकार गर्न सकिन्न यसको अस्विकार गर्नु भनेको समाज बिज्ञान र समाज बिकासको चरण र पद्दतिलाई नबुझ्नु हो । नचिन्नु हो । समाज विज्ञानले स्वीकार गरेको विषयमा समाज आफ्नो अस्तित्व खोज्न पहिचान रोज्न खोज्छ । जातीय विविधतालाई स्वीकार्न कुनै अप्ठ्यारो र जोखिम होइन तर जातीय विभेद स्वीकार गर्न सकिन्न कुनै पनि मुल्यमा । समाजले हटाउने, मेटाउने बदल्ने र रोक्ने छेक्ने जातीय विभेद हो । जातीय बिबिधता होइन । जातीय विभेद मानव निर्मित र सिर्जित समस्या र विषय हो ।

मानिसद्वारा निर्मित जातीय विभेदको खाडल स्वयं मानिसले नै पुर्नु पर्छ । समाजले असल मान्यता र पद्दति अंगिकार गर्नुपर्छ ताकि मानव, मानव बीच भेद नहोस जातीय रुपमा । धार्मिक आस्था र विस्वास अनि कुनै सिद्दान्त र वादको आधारमा । जातीयता कहिल्यै र कुनै समाजले निषेध गर्न सक्तैन र हुदैन पनि । जातीयताको निषेध भनेको मानव चेत र समाज माथिको कुठाराघात हो षड्यन्त्र हो । समाज र संस्कृतिलाई छिन्नभिन्न भिन्न बनाएर अविछिन्न अराजकता र जातीय युद्द र द्वन्दको बिजारोपण हो । जातीयताको नाममा अत्यन्त संकीर्ण जिर्ण र स्वार्थी हुनुहुन्न । बन्नु हुन्न । कर्म, पौरख, प्रतिभा ,क्षमता, लगन, मेहनत र परिश्रमको आधारमा जो कोहि असल श्रेष्ठ र उत्तम बन्न सक्छन । महान कहलिन सक्छन मानवबाट महामानव बन्न सक्छन तर जातीय श्रेष्ठताको आधारमा यो समयमा कोहि असल र खराब हुन् सक्दैनन् र बन्न बनिन समाजले स्वीकार्दैन । दिदैंन पनि । जात, धर्म, भूगोल, वर्णको आधारमा कोही सानो, ठुलो, धनी गरिब र अवसर पाउने गुमाउने हुनुहुदैन । बनाउनु हुदैन । सवैको लागि समान अवसर र मौका दिने राज्यको नीति र ब्यबहार हुनुपर्छ ।

जातियता हाम्रो देशको राजनीतिको सबैभन्दा ठुलो ‘मागीखाने’ र ‘ठगिखाने’ भाँडो बन्यो बिगत देखि वर्तमानसम्म । हिजो केवल टाठाबाठाले ठगि खाने भाडो मात्र बनाएका थिए तर विगत १२/१५ वर्ष देखि त् समाजलाई जात, भात र धर्म सम्प्रदायको नाममा कलुषित र दुषित बनाएर एक अर्का प्रति भिडन्त गराउने जातीय युद्धको सुत्रपात गर्ने मन्द र सुक्ष्म बिष घोलियो । समाजलाई छिन्न भिन्न र तहस नहस बनाइयो । जात जातीलाई अधिकारको नाममा एक जुट बनाउने भन्दै समाज बिग्रह र बिखण्डनको शिखण्डीरुप दिइयो । अर्को र फरक जात र समुदायको मान्छे प्रति घृणा र प्रतिशोधको नजर देखाइयो जसले आज परस्पर मिलेर बसेको समाज र समुदाय एक अर्काप्रति शसंकित र भयभित छ ।

जात र समुदायको छुट्टै राज्य प्रदेश र छुट्टै भूगोलको नारा अनावश्यक रुपमा निहित स्वार्थको लागि उछालियो र जनताको एकता, आपसी विस्वास र सौहाद्रतालाई धुलोपिठो पार्ने काम भयो । एउटा विशेस जात र समुदाय प्रति असिम घृणा र बिष बमन अनि जहाँ र जहिले पनि सक्दो प्रतिकार गर्ने जनमत बनाइयो । बिबिधतायुक्त समाजको मेल बल र संगठित शक्तिलाई आपसमा भिडाएर, अर्को भन्दा फरक देखाउन र देखिन लगाएर ध्वस्त र जिर्ण बनाइयो । बिबिधतायुक्त समाजको अनुपम मेल र सद्भावनालाई केहि पैसाको खरिद बिक्रीले व्यापार र ब्यबसायको तुच्छ स्वार्थमा फसियो, फसाइयो ।

सामाजिक सदभाव र एकता अनि मातृभूमिको अखण्ड प्रेमलाई खण्ड खण्डमा विभक्त बनाउने दुस्साहस देखाइयो । बिदेशी चलखेल र बिदेशी पैसा गाउँ, समाज शहर र देश भाँडन मनलाग्दी प्रयोग भए । सबै जात जातीको आधिकारको आकर्षक नारा र ‘झिल्के जामा’ लगाएर राजनीतिक दलहरुपनि प्रयोग भए । हाम्रो मौलिकता, आफ्नो शैली र स्वास्तित्व लोपोन्मुख बनाउन सकेको र भएको शक्तिको प्रयोग र दुरुपयोग गरियो । जसको प्रभाव र असर समाजको हर क्षेत्र र हर अवयवमा देखियो जसले हाम्रो समाज बिश्रिखलित बन्न पुगेको छ । जातीय वीद्वेष र तुष नराम्रोसँग झाँगिएको छ, हुर्किएको छ । स्वपहिचान भित्र आफ्नो कला, संस्कृति, परम्परा, रितिरिवाज र मान्यता रहनु जोडिनु सर्वथा अन्यथा होइन । तर आफ्नो मात्र ठिक अरुको भए बेठिक भन्ने जुन लघुताभासबाट हामी ग्रसित रापित छौं त्यो निश्चय नै हानिकारक छ यो कदापि प्रगतिशील विचार मान्यता र शैली होइन । बनाउनु हुँदैन कहिल्यै ।

हामीले जातको आधारमा, लिंगको कारणले, क्षेत्र र भूगोलको सामिप्याताको कुराले अनि रंग र धर्मको आधारमा समाजलाई चलाउन खोज्यौ भने त्यसबाट प्राप्त हुने परिणाम हितकारी र लाभकारी हुनसक्दैन । जातीय सहानुभुती र संवेदनाको आधारमा आफ्नो रोजाई बनाउन पुग्यौ भने, प्रतिनिधि छान्न खोज्यौ भने, प्रतिभा र क्षमताको प्रतिस्पर्धामा जातीयताको आवाज बोल्यौ भने । के हाम्रो विवेकले सहि निर्णय दिन सक्छ र ? बाहुल्यताको आधारलाई चयन र छनौटमा परियो, पारियो भने एकल जातीय प्रभुत्व हावी हुन्न र ? यहाँ सामाजिक न्यायको सिद्दान्त फेल खादैन र ? हामी कस्तो अभ्यास र थालनी गर्दै छौ ?

प्रसंग अहिले भैरहेको ‘नेपाल आइडल’ जसको उदेश्य विशुद्ध गीत संगीत, कला र गलाको प्रतिभाको प्रस्फुटन र विकास गर्नु हो र हुनुपर्छ । शायद यसका सूत्राधारहरुको मनशाय पनि यहि हो । तर अहिले बिभिन्न संचार माध्यम र सामाजिक संजालहरुमा जुन ट्रेन्ड देखिएको यसको विषयमा जे जस्तो बहस र छलफल चलेको छ, प्रचारप्रसारको जुन शैली र हथकण्डा प्रयोग भएको छ यो नितान्त अराजक र उत्ताउलो, भडकिलो, खर्चिलो, घीनलाग्दो अनि लाजमर्दो देखिएको छ ।

प्रतिभाशाली भाई बैनीहरुलाई जातीय कित्तामा उभ्याएर मानवको अन्तरह्रिदय रहेको जातीय संवेदनालाई ‘ब्ल्याक मेलिंग’ गरिएको छ । जातीय खेमा र कित्ताको आधारमा समाजलाई पूनः धुर्विकृत र खण्डित पार्ने चेस्टा चल्दै छ । प्रतिस्पर्धामा जो कोहि खरो उत्रन सक्छ । जो कोहिले आफ्नो प्रतिभा देखाउन सक्छ । प्रतिभा क्षमता र गायकीको आधारमा जो कोहि प्रतिस्पर्धी जो कोहीको रोजाइमा पर्न सक्छन र पर्नु पर्ने हो । तर यहाँ जातीय आधारमा मन पराउन र मन पर्न बाध्य पार्ने कुचेस्टा मन्चन हुदै छ । जुन खेदजनक, आपत्तीजनक र अस्वीकार्य छ ।

भोटिङ्गको जुन गलत ट्रेन्ड छ जसले हामीलाई उल्टोबाट हिड्न सिकाउँदैछ । सामाजिक संजालमा स्वनामधन्य महानुभावहरु समेत प्रतिभा छनौटको विषयमा जातीय कित्ता र रवैयामा उत्रनु दुःखद र हाम्रो समाजको अधोगतिको आधार हो । बैज्ञानिक र समताको कुरा गर्नेले जातीयताको वकालत गर्नु बिधिसम्मत बैज्ञानिक मापदण्ड वा समताको कुन आधारभूत सिद्दान्तमा मेल खान्छ ? हिजोका कति मुर्धन्य गीत, संगीत कला र गलाका हस्ती महारथीहरूले कहिल्यै जात, धर्म र सम्प्रदायको नाममा कुनै विभेद भोग्नु परेन । अपमान र तिरस्कार बोक्नु परेन । तर आज किन प्रतिभा छान्ने विषयमा कलुषित विचार र भावनाले प्रश्रय पाइरहेको छ ?हामी हाम्रा अग्रजले देखाएको सरल बाटोमा किन हिड्दैनौ ? हिजो नारायणगोपाल ,अरुणा लामा, रंजित गजमेर , नातिकाजी, पन्नालाल, तारादेवी, अरुण थापा, कुमार बस्नेत , झलकमान गंदर्भदेखि अहिले चल्तीका गायक गायिका यस कुमार, राजेश पायल, रामकृष्ण लगायत सयौं प्रतिभाले हामीलाई आफ्नो क्षमताबाट मन्त्र मुग्ध बनाएका थिए, र छन् । अरु पनि बिबिध क्षेत्रमा बिबिध जात जातीका प्रतिभाले आफ्नो पौरखले हामीलाई धन्य बनाएका छन गुण लगाएका छन तिनीहरु प्रति कहिल्यै हामीले अनि हाम्रा अग्रजले संकीर्ण जातीय चस्माले हेरे कुनै विभेद गरे ?
मान्छे कर्म, क्षमता, प्रतिभा र योग्यताको आधारमा महान र विशिस्ट हुन्छ । नकि जात, धर्म, रंग, बर्ण र भूगोलको आधारमा । जातकै कारण कसैलाई घृणा, कसैलाई सम्मान, कसैलाई अवसर अनि कसैलाई बन्देज र बर्जित गरिनु आजको युगलाई सुहाउन्न । जात कसैको लागि योग्यता अनि कसैको लागि योग्यता हुनुसक्तैन ।

जातीयता आफै्मा नराम्रो कुरा होइन । तर यसलाई स्वार्थ सिद्द्को साधन बनाउने कुरा र हतियार भने खातारमुलक हुनेछ । नेपाल आइडलमा रहेका प्रतिस्पर्धीलाई क्षमता र रुचीको आधारमा मत प्रकट गरौं । एक अर्को जात समुदाय र समुह प्रति उत्तेजनामा आएर हिलो छेप्ने, कुप्रचार र कलुषित विचारले आक्रमण गर्न बन्द गरौ । स्वच्छ, सहभागितामुलक, पारदर्शी र क्षमतावानको चयनलाई प्राथमिकतामा राखौ । सामाजिक ब्यबस्था आचरण र ब्यबहारलाई सफा र भयमुक्त बनाउने कर्तब्य र दायित्वलाई आत्मसाथ गरौ । असल समाज निर्माण र असल परिपाटी निर्माणमा आफुलाई सँधै र जहिल्यै सहभागी बनाऔ । अग्रसर राखौ । सचेतना र विषयको अन्तर्यलाई भित्रै देखि छामौ ।



0 comments

Write Down Your Responses

second_add