Powered by Blogger.
सिन्धुलीमा स्वास्थ्य विमा कार्यक्रम लागु



सिन्धुली,७ असोज– सिन्धुलीमा शुक्रवार देखि सामाजिक स्वास्थ्य सुरक्षा( स्वास्थ्य विमा ) कार्यक्रम शुभारम्भ भएको छ ।


शुक्रवार सिन्धुलीमाढीमा भएको सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य विमा कार्यक्रम, दर्ता शुभारम्भ तथा प्रेस विज्ञप्ती कार्यक्रममा कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले स्वास्थ्य विमा गर्दै सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा ) कार्यक्रम जिल्लामा शुभारम्भ गरेको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज तिवारी बर्मा, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कटुवालले पनि स्वास्थ्य बीमा गरे । स्वास्थ्य विमा कार्यक्रमलाई शुभकामना दिदै कमलामाई नगरपालिका प्रमुख खत्रीले हरेक घरमा स्वास्थ्य सेवा पुर्‍याउने काम सुरुभएकोमा खुसि व्यक्त गर्दै नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न सहयोग गर्ने बताए । 

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक बर्माले गाउपालिका तथा वडाहरुमा स्वास्थ्य विमा संचालन गर्न आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताए । 

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सवैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु सामाजिक स्वास्थ्य सुरक्षा( स्वास्थ्य विमा ) कार्यक्रमको मुख्य उदेश्य हो । स्वास्थ्य विमा कार्यक्रमले आम नागरिकलाई विरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्नेछ । गुणस्तरीय स्वास्थ्य सेवा सवै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्युन गर्ने राज्यको राष्ट्रिय प्रतिवद्धता र अन्तराष्ट्रिय प्रतिवद्धता(दिगो विकास लक्ष्य (२०१५।२०३०)अनुसार स्वास्थ्य सेवा उपयोगको क्रममा पर्न सक्ने जोखिम कम गर्न नेपाल सरकारले २०७२ साल चैत २५ गते देखि कैलाली जिल्लाबाट सामाजिक स्वास्थ्य सुरक्षा( स्वास्थ्य विमा ) कार्यक्रम सुरु गरेको हो । यही असोजबाट सरकारले सिन्धुली सहित ७ जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा( स्वास्थ्य विमा ) कार्यक्रम सुरु गरेको सामाजिक स्वास्थ सुरक्षा विकास समिति कार्यालय सिन्धुलीले जनाएको छ । सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य विमा कार्यक्रम हाल सिन्धुली सहित २२ जिल्लामा लागु भएको छ ।

 सिन्धुलीमा सामाजिक स्वास्थ्य सुरक्षा(स्वास्थ्य विमा) कार्यक्रममा दर्ताका लागि स्थानिय वडाबाट छनोट भई आएका व्यक्तिहरुले स्वास्थ्य विमा दर्ता गर्ने छन । सिन्धुलीमा ९५ वटा वडाहरुका लागि ९३ जना दर्ता सहयोगी छनोट भई सिफारिस प्राप्त गरेको र नियुक्ति समेत दिएको कार्यलयले जनाएको छ । 

दर्ता सहयोगीहरुले घरदैलोमै गई दर्ता गर्नेछन । सदस्यता दर्ताका समयमा आफ्नो फोटो भएको परिचयपत्र ( नागरिकता ,सवारी साधान अनुमिति पत्र, वा अन्य परिचय खुल्ने प्रमाणपत्र )दर्ता सहयोगीलाई देखाउनु पर्नेछ । नाबालिगको हकमा भने निजको जन्म प्रमाणपत्र ,वा जन्म दर्ताको प्रमाण पत्र वा अभिभावक वा संरक्षकको परिचय खुल्ने प्रमाण पत्र देखाउनु पर्छ । दर्ता समयमा घरमुलीले आफ्नो परिवारका सदस्यहरुका बारेमा यर्थाथ जानकारी दिनुपर्छ । दर्ता फाराम भर्ने बेलामा सेवा लिने पहिलो स्वास्थ्य संस्था रोज्नुपर्ने हुन्छ । नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचय पत्र छ भने दर्ता सहयोगीहरुलाई देखाउनुपर्छ । परिचय पत्र देखाउदा योगदान रकममा अति गरिबलाई सय प्रतिशत ,गरिबलाई पचहत्तर प्रतिशत , र सिमान्तकृत गरिबलाई पाचास प्रतिशत योगदान रकम छुट पाइनेछ । परिचयपत्र नष्ट भएमा च्यातिएमा वा हराएमा दर्ता सहयोगी मार्फत सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको सिन्धुलीमा रहेको कार्यालयबाट २० रुपैया तिरी पुन : परिचय पत्र लिन सक्ने छन् । 

सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य विमा कार्यक्रममा सदस्य बन्न ५ जनाका सम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार २५ सय तिर्नु पर्छ । परिवारमा ५ जना भन्दा बढी सदस्य भए एक सदस्य बराबर ४२५ का दरले थप रकम तिर्नु पर्ने हुन्छ । स्वास्थ्य विमा गरेका सदस्यले बहिरङ,अन्तरङ र आकस्मिक कक्षबाट सेवाहरु,४० वर्षमाथिका सदस्यहरुले नजिकको स्वास्थय संस्थाबाट वर्षको एक पटक अतिरिक्त सेवाको रुपमा स्वास्थ्य जोखिम परीक्षण सेवा पाउनेछन । ५ जना सम्मको परिवारले आवश्यक पर्दा वार्षिक ५० हजार सम्मको स्वास्थ्य सेवा प्रयोग गर्न पाउनेछन । ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य बराबर १० हजार थपिने छ । 

0 comments

Write Down Your Responses

second_add