विपि राजमार्गमा दुर्घटना न्युनीकरण गर्न सवारी चालकलाई प्रशिक्षण

प्रकाशित समय 11:45 PM

सिन्धुली,४ असोज –सिन्धुलीमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई सचेतना कक्षा सञ्चालन गरिएको छ । विपि राजमार्ग सडक खण्ड अन्र्तगत सिन्धुलीमा पर्ने सडकमा दुर्घटना न्यूनीकरण गर्न यस्तो अभियान सञ्चालन गरिएको हो ।


मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा राजमार्गमा चल्ने साना सवारी साधनका चालकहरुलाई ट्राफिक नियम अनुसार सवारी चलाउन सचेत गराईएको छ । सचेतना कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतीवडाले झण्डै १ सय ५० जना सवारी चालकहरुलाई ट्राफिक नियम र सडक दुर्घटना न्युनीकरण गर्न चालकको भूमीकाका वारेमा जानकारी गराएका थिए ।

सचेतना कार्यक्रमका सहभागिहरुलाई उनले ट्राफिक नियम तथा सडक नियमको पालना नगर्नु, तिव्र गतिमा सवारी चलाउनु, क्षमता भन्दा बढी यात्रु तथा सामाग्रि सवारी साधनमा राखी सवारी चलाउनु, सिट वेल्ट नलगाउनु, हेल्मेट नलगाउनु, सवारी चालक अनुमति पत्र विन सवारी चलाउनाले दुर्घटना परिने भन्दै सचेत पुर्वक सवारी चलाउन आग्रह गरे ।

दशैं, तिहार लगायतका चाडपर्व नजिकिएसँगै हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै सवारी  चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण गराईएको बताईएको छ । यसले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।


ट्राफिक प्रहरीको तथ्यांक अनुसार ८० प्रतिशत भन्दा बढी सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेका छन । जसको मुख्य कारण चालकहरु ट्राफिक नियमबारे जानकार र सडकको अवस्थाका बारेमा जानकार नहुनुु औल्याइएको छ । त्यसैले दुर्घटना न्यूनिकरण गर्नका लागि स्वयम चालक सचेत हुन आवश्यक रहेको छ । स्वयम चालक नै ट्राफिक नियमबारे जानकार हुन सकेमा त्यसले हुन सक्ने दुर्घटनामा केही मात्रामा भएपनि कमि हुने बताईएको छ । 

प्रशिक्षण पाएपछि चालकहरु पनि खुुसी भएका छन । चालक अनुमति पत्र पाउनका लागि ग्राउण्डमा गराईने ट्राईले ट्राफिक नियम र ऐनको बारेमा जानकारी नपाएका चालकहरुले प्रशिक्षणबाट धेरै ज्ञान पाएकाले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने चालकले बताएका छन् । 

बेलाबेलामा चालकलाई दिईने प्रशिक्षणले केही मात्रामा भएपनि दुर्घटनामा कमी हुने अपेक्षा गरिएको छ । दुर्घटनामा चालकको लापरवाही,  चालकमा ट्राफिक ज्ञान नहुनु, सिट क्षमता भन्दा बढी यात्रु राख्नु, लगायतका कारण हुने गरेका छन । त्यसैले यस्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको सरोकारवालाहरु बताउछन् ।

अधिकाश दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेकोमा यस्ता प्रशिक्षणले केही मात्रामा भए पनि दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने निश्चित छ । तर प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न जरुरी रहेको कतिपयको भनाइ छ ।

चालककै लापरबाहीका कारण सवारी दुर्घटना बढेको भन्दै चालक र सहचालकलाई ट्राफिक नियमबारे जनचेतनामूलक कार्यशाला अव संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । सवारी दुर्घटनाको पीडा ट्राफिक प्रहरीलाई भन्दा चालक र स्थानीयलाई हुने भएकाले सवारी दुर्घटनामा सबै सजक हुनुपर्ने ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले बताए ।  तर पछिल्लो समयमा सिन्धुलीमा भने चालकहरु सचेत भएकाले दुर्घटनाको सख्यामा केही कमी आएको उनको भनाई छ ।

चालकहरुले मादक पदार्थ सेवन, सवारीको तीब्र गति, ओभरलोड दुर्घटनाको प्रमुख कारण भएको बताउँदै पाण्डेले सवारी दुर्घटना न्युनीकरणमा चालककै मुख्य भूमिका रहेको तर्क राखे । चालकहरुले सधैं नियमको पालना गरे दुर्घटनामा कमी आउने उहाँको दाबी छ ।

यता कार्यक्रममा सहभागी चालकहरुले साँगुरो सडककै कारण सवारी दुर्घटना हुने गरेको औल्याएका छन् । नेपालको साँगुरो सडक, अव्यवस्थित पार्किङ लगायतका कारणले सवारी दुर्घटना बढेको चालकहरुको भनाई छ । अझ भन्ने हो भने छोटो दुरीका सवारी साधनहरु सडकमै रोकी यात्रु चढाउने उतार्ने गर्दा समेत दुर्घटना बढ्ने गरेको उनीहरुले बताएका थिए ।

सचेतना कार्यक्रममा, कार, जिप, मोटरसाईकल, भ्यान लगाएतका साना सवारी साधनका चालकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टिकाबहादुर केसी, प्रहरी नायव उपरिक्षक विनोद शर्मा, ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले पनि सवारी चलाउदा ध्यान दिनु पर्ने विषयका बारेमा जानकारी गराएका थिए ।

सिन्धुलीमा दैनिक हायस र सुमो तिव्रगतिमा कारवाहीमा पर्ने गरेकाले अव तिव्र गतिमा सवारी चलाउने चालकहरुलाई एक घण्टाको कक्षा सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए । ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त प्रयासमा अव सिन्धुलीका विभिन्न स्थानमा सचेतनाका कक्षाहरु सञ्चालन हुने उनले जानकारी दिए ।

सिन्धुलीमा टाईम कार्ड लागु गरेपछि दुर्घटनामा कमी आएको र अझ दुर्घटनालाई न्युनिकरण गर्न सवारी चालकहरुलाई सचेत गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »