२ नम्बर प्रदेश को सबै मत परिणाम कहिले सम्ममा आइसक्छ ?

प्रकाशित समय 7:42 PM
काठमाडौं, ३ असोज— सोमबार प्रदेश नम्बर २ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम पाँच दिनभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम आउने बताए ।

प्राप्त जानकारी अनुसार मतपेटिका संकलनसँगै बारा, धनुषा, रौतहट, महोत्तरी र सिरहाका विभिन्न स्थानीय तहमा मध्यरातदेखि नै सुरु मतगणना गरिएको छ । 


बारामा मध्यरातीदेखि ७ स्थानीय तहमा मतगणना सुरु गरिएको छ । जितपुर उपमहानगरपालिकासहित ७ स्थानीय तहमा मतगणना सुरु भएको हो । यस्तै धनुषाका २ स्थानीय तहमा पनि मतगणना सुरु गरिँदा रौतहटमा १८ स्थानीय तहमध्ये ११ तहमा मध्यरातदेखि नै मतगणना सुरु भएको खबर प्राप्त भएको छ । 

यता महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । 

निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा ( माओवादी केन्द्र) दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । 

उनले ५५० मतपत्र गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । 

मनरा सिस्वा नगरपालिकामा गएराति ११ः३० बजेदेखि मतगणना शुरु भएको थियो । 



यसैबीच, बर्दिवासबाट प्राप्त समाचार अनुसार सोमबार मतदान सम्पन्न भएका महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये नौ ठाउँको मतगणना अहिले जारी छ । 

आज बिहान शुरु भएको मतगणनाको प्रारम्भिक अवस्था सार्वजनिक हुन थालेका छन् जसअनुसार जलेश्वर र भङ्गाहा नगरपालिकामा १०० मतपत्र गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी, बर्दिवास, रामगोपालपुर, मनरा शिस्वा, बलवा र गौशालामा मतपत्र गन्न शुरु गरिएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सात नपा र दुई गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । 

बाँकी तीन नगरपालिका र तीन गाउँपालिकाको अहिले बिहान ८ बजे मतगणना शुरु गरिने सहमतिअनुसार तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

महोत्तरीमा हिजो सम्पन्न चुनावमा कुल तीनलाख आठहजार ४०४ मतदातामध्ये ७३ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »