‘थोत्रो कम्युनिस्ट पार्टी बोकेर हिँडिरहेछौं'

प्रकाशित समय 3:10 AM

राम कार्की 


राम कार्की 


समाजमा केही वस्तुगत नियम छन् जसले समाजमा राजनीतिक दलको जन्म गराउँछ । जस्तो पश्चिमी युरोपमा सर्वहारा वर्ग देखा नपर्दासम्म र दुईवटा होस्टाइल क्याम्प देखा नपर्दासम्म भौतिकवादमा आधारित रहेर द्वन्द्वात्मक रूपमा समाजलाई हेर्ने दृष्टिकोणको जन्म हुन सक्दैनथ्यो । उत्पादन सम्बन्धमा आएको विकास र परिवर्तनले नै त्यस खालको सामाजिक चेतनाको जन्म दिएको थियो । एकपटक सचेत वर्ग निर्माण गरेपछि सामाजिक आधार फेर्न मद्दत गर्छ । उत्पादनको इतिहाससँगै ज्ञानको पनि इतिहास छ । ज्ञानधाराको एउटा भुल्को दक्षिण एसियामा पनि आयो ।


२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी गठन हुनुको केही वस्तुगत आधार छन् । नेपालको राणा सामन्तवाद र बेलायती साम्राज्यवादबीच गठबन्धन बनेको थियो । हुन त साम्राज्यवाद भनेको पुँजीवादको पनि विकसित अवस्था हो । त्यसको र सामन्तवादको चरित्र मिल्दैन । तर, पुँजीवादले प्रगतिशील चरित्र गुमाइसकेपछि संसारभर सबैभन्दा प्रतिक्रियावादी तत्वसँग मिलेर आफ्नो शोषण कायम नै राखिरहेको थियो ।

कम्युनिस्ट पार्टी गठन हुने बेलामा सामन्तवादको मालिक फेरिएको थियो । अर्थात् स्थानीय र अन्तर्राष्ट्रिय शक्तिबीच जुन सम्बन्ध थियो, त्यसमा खलबल आएको थियो । त्यस्तै पुँजीवादी संरचना पनि बिस्तारै देखा पर्न थाल्दै थियो । जस्तै जुट मिल बनेको थियो । पुँजीवादले आफ्नो प्रगतिशील चरित्र गुमाएकाले नै नेपालजस्तो पछौटे अर्थतन्त्र भएको देशमा पनि कम्युनिस्ट पार्टी स्थापनाको आधार बन्यो ।

 जनयुद्धको देन


नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न मोडबाट गएको छ । प्रवृत्तिका आधारमा यसलाई विभिन्न भागमा बाँड्न सकिन्छ— ००६ देखि ०१५ साल, ०१५ पछि ०४६ सम्म, ०४६ पछि ०५२ साल र जनयुद्धदेखि अहिलेसम्म ।

अहिले कम्युनिस्ट आन्दोलनभित्रै ‘जनयुद्ध’ आवश्यक थिएन । त्यसलाई बलात् थोपरियो । त्यसले सुध्रिरहेको अर्थतन्त्र पनि ध्वस्त पारिदियो भन्ने मत छ । त्यसप्रकारको सोचले कामदार वर्गलाई सैद्धान्तिक र वैचारिक रूपमा नि;शस्त्र तुल्याइदिन्छ । बलको प्रयोग जरुरी नै छैन भन्नु इतिहासकै अवमूल्यन हो ।

जनयुद्धले नेपाली समाजलाई एक्स्पोलर गरिदियो । नेपालको हरेक तह र तप्काले आफ्नो उपस्थिति खोज्न थाल्यो । हरेकलाई आफ्नो अस्तित्वको अनुभूति भयो । माओवादी विद्रोहले पहिचान राजनीतिक जन्मायो भन्ने पनि छन् । तर, त्यसो होइन । कम्युनिस्टहरूले पहिचानको राजनीति गर्दैनन्, वर्गको राजनीति गर्छन् । वर्गको विस्तार जाति, क्षेत्र, लिंगको रूपमा भएको हुन्छ । मार्क्सवादी आन्दोलनले त्यसलाई समेट्नुपर्छ । यो अर्थमा माओवादी ‘जनयुद्ध’ले हलचल ल्याइदियो । नेपालको पाँच हजार वर्षको इतिहासमा यस्तो ठूलो सामाजिक हलचल आएकै थिएन । यो सबैभन्दा ठूलो उपलब्धि हो ।

म यो उपलब्धिलाई सुधारवादमा सीमित गर्न चाहन्नँ । तर, माओवादी युद्धले गहिरो प्रभाव पार्‍यो । यसले सौन्दर्यको प्रतीक नै फेरिदियो । महिलालाई सुन्दरताको क्यानभासबाट निकालेर संघर्षको क्यानभासमा ल्याइदियो । यो भएको ०५२ देखि ०६२ को बीचमा हो । त्यसपछि अहिलेसम्मको समय क्रान्ति र प्रतिक्रान्तिबीच संक्रमणको हो ।

ती दिनहरू खेर गएनन् । मुख्य कुरा यसले मानिसहरूमा चेत जन्मायो । अहिले नेताहरूलाई हेरेर क्रान्ति नै गलत थियो भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन । किनभने नेपालमा राजतन्त्र समाप्त पार्नु, गाउँका शोषकहरूलाई ठीक पार्नु, मौनतामा बाँचिरहेको देशलाई मुखर बनाउनु ठूला उपलब्धि हुन् ।

क्रान्तिको क्रान्तीकरण


अहिले कम्युनिस्ट पार्टीहरूमा निराशा, अलगाव पैदा भएको छ । कम्युनिस्टहरूमै एक किसिमको लघुताभाषा पैदा भएको छ । यसको मुख्य कारण हो, कम्युनिस्ट पार्टी जसरी सञ्चालन हुनुपथ्र्यो त्यसरी भएनन् । नीतिनिर्माणमा मानिस सहभागी हुन पायो भने मानिसको मस्तिष्क असाध्यै सक्रिय हुन पाउँछ । जस्तै म हाम्रै पार्टीको उदाहरण दिन्छु ।
हिजो युद्धको क्रममा हरेक कार्यकर्ताको केही न केही जिम्मेवारी हुन्थ्यो । उसले सोच्नैपर्ने ठाउँ हुन्थ्यो । हरेकको मस्तिष्कले काम गरिरहेको हुन्थ्यो । कार्यकर्ता जब नीतिनिर्माणमा सहभागी हुन पाउँछ, उसको मस्तिष्क सक्रिय हुन पाउँछ । त्यसले उसलाई आत्मविश्वासी पनि बनाउँछ । नीतिनिर्माणमा सहभागी हुन पाएन भने कार्यकर्ता परनिर्भर हुँदै जान्छ किनभने नेताले त सोचिदिएकै छ । अहिले निर्वाचनमा देखिएको त्यही हो । कम्युनिस्ट पार्टीहरूमा भएको त्यही हो ।

कम्युनिस्ट पार्टीको सिद्धान्त त नेतादेखि कार्यकर्तासम्म सबैको सहभागिता हो । सामूहिक निर्णय प्रक्रिया हो । तर, नेपालका कम्युनिस्ट पार्टीहरू त्यो बाटोमा हिँडेनन् । जस्तै— नेपाली काँग्रेस सिद्धान्तच्यूत भयो । उसले आफ्ना समाजवादी नीति छोड्यो । खासगरी ०४६ सालपछि निजीकरणको बाटो समात्यो । पञ्चायती कालका अपराधीलाई कारबाही गर्नुको साटो क्षमादान दिएर पार्टी प्रवेश गरायो । त्यसपछि स्वाभाविक रूपमा एमालेमा पनि काँग्रेसभन्दा अलिकति राम्रो भए हुन्छ भन्ने भयो । त्यसैको सिलसिला माओवादीमा पनि देखियो । काँग्रेस त्यस्तै छ, एमाले त्यस्तै छ भन्ने ठान्यो । नकारात्मक सिक्ने प्रतिस्पर्धा बढ्यो ।

यी कम्युनिस्ट पार्टीहरूले आफूलाई अपडेट गरेनन् भने आफ्नो क्रान्तीकरण गरेनन् भने काम लाग्दैनन् । माओ भन्छन्, ‘कम्युनिस्ट पार्टीहरूले आंशिक र आवधिक रूपमा आफूलाई भत्काइरहनुपर्छ, पुनर्निर्माण गरिरहनुपर्छ ।’ तर, हामी त सिंगै बोकेर हिँडिरहेछौं । थोत्रो, पुरानो कम्युनिस्ट पार्टी बोकेर हिँडिरहेछौं । अहिले क्रान्तिको आवश्यकता एकदमै भइसकेको छ । पार्टीहरूको क्रान्तीकरण आवश्यक छ । पार्टीहरूको आंशिक र आवधिक विघटनको प्रक्रिया ढिलो भइसकेको छ ।

क्रान्तिको समयमा क्रान्ति स्वंयले निश्चित तौरतरिका, ढाँचा र नेतृत्व बनाएको हुन्छ । एउटा चरणमा पुगेपछि त्यसले काम गर्दैन । त्यसैले क्रान्तिको क्रान्तीकरण गरिरहनुपर्छ ।

गलत अभ्यास

मार्क्सले सिकाएका थिए, कसैको पनि विलक्षणतामा भर नपर । कोही पनि विलक्षण छैन । त्यसैले त इतिहास जनताले बनाउँछन् भनिएको हो । मेरोनिम्ति अरूले सोचिदिन्छ भन्ने गलत हो । अहिले कम्युनिस्ट पार्टीहरूमा कार्यकर्ताहरू नेताहरूमा झुन्डिने लहराहरूजस्ता भएका छन् । त्यसलाई सुधार्न मार्क्सवादी आन्दोलनलाई मार्क्सवादी लिकमा ल्याउन जरुरी छ । त्यो मार्क्सवादी लिक भनेको प्रत्येक कार्यकर्ता नीति, निर्माणमा सहभागी हुन पाउने, विचार राख्न पाउने र उसले दिएको सुझावअनुसार नीतिहरू निर्माण हुने बन्दोबस्त हो ।

लेनिनले माथिबाटै पार्टीहरू सञ्चालन हुनुपर्छ भनेका छन् साथसाथै हरेक समिति निर्वाचनबाटै चुनिनुपर्छ भनेका छन् । कम्युनिस्ट पार्टीहरू जनताको निगरानीमा रहनुपर्छ । त्यसले जनताको दृष्टिकोणमा पनि फेरबदल ल्याउँछ । जस्तो काठमाडौंको मध्यमवर्गले अहिले एकदमै आक्रोश पोख्छ कम्युनिस्टहरूप्रति । उसलाई के लाग्छ भने, कमरेड जाडोमा थरथर काँम्दै आइपुगोस् । एउटा पुरानो ज्याकेट निकालेर उसलाई भिराइदिन पाइयोस्, जुत्ता फाटेको रैछ भनेर एकजोर जुत्ता किनिदिन पाइयोस् । त्यो चिन्तन भएकाले मध्यमवर्गले अहिले बढी आलोचना गरिरहेको छ ।

हामी केही हदसम्म बिग्रियौं, यो साँचो हो । अर्को हामीले गर्न नसकेको हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउन सकेनौं । हाम्रो देश असाधारण नायकको खोजी गर्ने देश हो । खोला बढेको बेलामा अरूले नसके नि राजाले सक्छ भन्ने चिन्तन थियो । पछि राजाको ठाउँमा नेता आए । राजाजस्तै नेता पनि सुपरम्यान हो भन्ने चिन्तन हावी भयो । जनतामा आफ्नो हिस्सा खोज्ने चिन्तन भएन । अर्को, जनतामा नेताहरू आज पनि हिजो भूमिगत कालमा जस्तै थोत्रेथांग्रे नै हुनुपर्छ भन्ने चिन्तन भयो । यसले नेतालाई पारदर्शी बन्न दिएन ।

चाहिन्छ राजनीतिक स्वतन्त्रता

कम्युनिस्ट पार्टी आफैं प्रजातन्त्रको सघन विस्तारका लागि जन्मिएको हो । प्रजातन्त्रका दुई आयाम छन्— राजनीतिक र सामाजिक । मार्क्सले देखे, पुँजीवादी प्रजातन्त्रमा राजनीतिक आयाममात्र छ, सामाजिक छैन । उनले प्रजातन्त्रमा सामाजिकता पनि मिलाऊँ भने । त्यसैले मार्क्सले पूर्ण र सर्वोच्च प्रजातन्त्रको वकालत गरेका हुन् । यता सामाजिक पक्षमा बल दिने नाममा कम्युनिस्ट पार्टीहरूले राजनीतिक स्वतन्त्रताको उपेक्षा गरे । त्यो रुस, चीन जताततै देखा पर्‍यो । त्यसको प्रभाव नेपालसम्म पनि आइपुग्यो ।

मार्क्सवाद अन्तर्राष्ट्रिय आन्दोलन हो । अनि यसका कमजोरीहरू पनि अन्तर्राष्ट्रिय रूपमै छन् । मार्क्समै पनि केही कमजोरी थिए । लेनिन, माओ, स्टालिनमा पनि थिए । उनीहरूको कोही पनि पूर्ण थिएनन् । उनीहरूलाई पूर्ण मानेपछि मार्क्सवादको विज्ञान मर्छ । उनीहरूलाई पूर्ण मानेपछि त सोच्नै बन्द हुन्छ । भट्ट्याइदिए पुग्छ ।

त्यसैले पार्टीहरूको जनतान्त्रिकीकरण चाहिएको छ । राजनीतिक स्वाधीनता हुन्छ भने विमतिहरूलाई स्थान हुन्छ । विमतिलाई ठाउँ दिए मात्र नयाँ विचार जन्मिन्छ । नेतालाई प्रश्न नै नगर्ने भएपछि कसरी नयाँ विचार जन्मिन्छ ? कम्युनिस्टहरूले प्रजातन्त्रको राजनीतिक पक्षलाई महत्व दिन सकेनन्, यो नै सबैभन्दा ठूलो कमजोरी हो ।
नेपाली कम्युनिस्ट आन्दोलनले गर्न नसकेको मुख्य काम हो, उसले मार्क्सवादमा थप योगदान दिन सकेन । हरेक देशमा पुगेपछि मार्क्सवादमा केही थपको आवश्यकता पर्छ । तर, हामीले नेपालमा मार्क्सवादमा नयाँ योगदान दिन सकेनौं ।

त्यसैले अहिले नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य काम मार्क्सवादको विकास हो । दु;खको कुरा, कम्युनिस्ट आन्दोलनभित्र अध्ययन, अनुसन्धान छैन । कम्युनिस्ट पार्टीभित्र पढ्नेको कदर हुँदैन । संसारभरि नै के देखिएको छ भने जहाँ कम्युनिस्ट पार्टी शासनमा छन् त्यहाँ विचारधाराको विकास हुन सकेको छैन । त्यसको एउटा मुख्य कारण हो, कम्युनिस्ट पार्टीमा अन्तरसंगठनात्मक राजनीतिक स्वाधीनता (लिबर्टी) भएन । त्यस्तै फरक मत स्वीकार्ने पद्दति भएन ।

विडम्बना के हो भने, जहाँ कम्युनिस्ट पार्टीमा विचारधाराको विकास भइरहेको छ, उनीहरूले लागू गर्ने ठाउँ नै छैन । जहाँ कम्युनिस्ट पार्टीहरू बलियो छन्, जस्तै— नेपाल, भारत, त्यहाँ विचारधाराको विकास नै भएको छैन । किनकि कम्युनिस्टहरू नै स्वतन्त्र छैनन् । मलाई चारजना स्वतन्त्र कम्युनिस्ट बौद्धिक देखाइदिनुस् त ? नेपालमा अहिले कसैको पनि विलक्षणतामा भर नपर्ने सतिसाल जस्ता कार्यकर्ता चाहिएको छ । नेताको आसेपासे हुने लहरा होइन । अन्नपुर्णपोष्ट बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »