कर्मचारीको बिदाईमा ‘सुनको सिक्री’ उपहार

प्रकाशित समय 11:43 PM

काठमाडौँ, २५ भदौ  – डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा रहेको डौड इलाका स्वास्थ्य चौकीका एक कर्मचारीको बिदाईमा ‘दुइ तोला सुनको सिक्री’ उपहार दिइएको छ ।


उक्त स्वास्थ्य चौकीमा मात्रै  २० वर्ष सेवा गरी अनिवार्य अवकाश पाउन लागेका हाल सायल गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक शिवशंकर रावतलाई साविकको डौड गाउँ विकास समितिको तर्फबाट १ लाख २० हजारको सुनको सिक्री प्रदान गरिएको हो । 

सायल गाउँपालिकाको प्रथम गाउँ सभाको अवसरमा सो गाउँपालिकाको वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष टेकबहादुर सिंहले रावतलाई सिक्री पहिराएका थिए ।

साविकको संरचनामा रावत डौड इलाका स्वास्थ्य चौकी इञ्चार्ज थिए  । धनुषा जिल्लाको साविकको बागचौरा–५ अर्थात हालको हंसपुर गाउँपालिकामा वि.सं. २०१४ असोज १ गते जन्मिएका रावत २०५५ सालदेखि डौड इलाका स्वास्थ्यचौकीमा कार्यरत छन् । २०३७ साल बैशाख १५ गतेबाट जागिर प्रारम्भ गरेका रावतले २०३९ माघमा स्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश पाएका थिए ।

उनी आउँदो असोज १ गतेबाट अनिवार्य अवकाश पाउन लागेका छन् । दुर्गममा रहेर निरन्तर रुपमा जनतालाई सेवा दिएकाले साविकको डौड गाविसको गाउँ परिषदबाटै उनलाई सुनको सिक्री प्रदान गर्ने निर्णय गरेको साविकको डौड गाविस सचिव तथा हाल सायल गाउँपालिकाका कार्यकारी अधिकृत लालबहादुर बोगटीले बताए ।

विकट क्षेत्रमा स्वास्थ्य सेवा दिएबापत २०४७ सालमा गोरखा दक्षिणबाहु पुरस्कार पाएका रावतले ६ पटक जिल्ला स्वास्थ्य कार्यालयबाट आफू सम्मानित भइसकेको सुनाए । 

त्यस्तै निजामती सेवा दिवसको अवसरमा २ पटक र सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा पनि सम्मानित भएको उनले जानकारी दिए । दुर्गममा रहेर लामो समय सेवा गर्न पाउँदा आफु पनि खुशी भएको रावत बताए । उनले  भने ,‘जब टाढा–टाढाका विरामीहरु स्वास्थ्यचौकी आउँछन् र तिनको उपचार गर्न पाइन्छ, त्यति बेला आफूलाई सेवा गर्न पाउँदाको क्षण नै खुशीको क्षण लाग्छ ।’

आफूलाई सुनको सिक्रीले सम्मान गरेको विषयमा दुर्गममा गएर सेवा गर्दा जनताले पनि मूल्यांकन गर्ने रहेछन् भन्ने कुरा महसुस भएको र अन्य कर्मचारीलाई पनि यस कुराबाट प्रेरणा मिल्ने उनको प्रतिक्रिया थियो । आफू सायल क्षेत्रमा रहँदा जनताबाट पाएको माया र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गैरसरकारी संस्थाहरुलाई उहाँले धन्यवादसमेत दिए । साभारः उज्यालो अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »