सिन्धुलीमा सितलपाटीबाट पुनःनिर्माण महाअभियान शुभारम्भ

प्रकाशित समय 5:02 PM
सितलपाटी (सिन्धुली) ,३ माघ – सरकारले भुकम्प गएको नौं महिना पछि १८ औं भुकम्प सुरक्षा दिवसको अवसर पारेर शनिवारबाट पुनःनिर्माणमार्फत राष्ट्रिय पुनःनिर्माण अभियान सुरु गरेको छ ।


उक्त अभियान सिन्धुलीमा भने जिल्लाको सितलपाटी–१, सितलपाटी स्थित पाँच जना भुकम्प पिडितको घर पुनःनिर्माणको लागि सिलान्यास गरेर सुभारम्भ गरिएको हो । 

सभासदहरु मोहनप्रसाद बराल, गणेश पहाडी, दिपशिखा ढकाल, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित राजनीतिकदल, जिल्ला विपद व्यवस्थापन समिति, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुली, रेडक्रस सिन्धुलीका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थितीमा पाँच घरको सिलान्यास गरेर अभियानको सुभारम्भ गरिएको हो ।

‘बैशाख १२ मा गइहाल्यो भुइचालो ः सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने मुल नाराका साथ सरकारले सुभारम्भ गरेको अभियान जिल्लामा पनि सुरुवात भएको हो ।

सभासदहरुले भुकम्पले ध्वस्त घरको पुनःनिर्माणका लागि सिलान्यास गर्दै सिन्धुली जिल्लाको पुनःनिर्माणको अभियान सुरु भएको जनाएका थिए । यो अभियान जिल्लाका भुकम्प प्रभावित २५ वटा गाविस र दुई वटै नगरपालिकामा सुरु भएको जनाइएको छ ।

अभियानको थालनी गर्दै अव बन्ने भौतिक संरचना भुकम्प मात्र नभएर कुनैपनि विपत्तीले असर गर्न नसक्ने तरिकाले निर्माण गर्नु पर्नेमा सभासदहरुले जोड दिएका छन् । यसका लागि दक्ष तथा प्राविधिकहरुबाट घर तथा भवनको निर्माण गर्ने, इन्जीनियरले तयार परेको नक्साका आधारमा घरहरु निर्माण गर्न र सरकारले पुनःनिर्माणका लागि तयार पारेको कार्ययोजना कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ । 

जिल्लामा भुकम्पका कारण ४७ हजार ७ सय घरहरु, पाँच बढी सरकारी तथा गैर सरकारी भवनहरु, तथा सयबढी पुल तथा खानेपानी योजनाहरुमा क्षती पुगेको तथ्यांक छ । यस्ता घर तथा भवनहरु पुनःनिर्माणका लागि जिल्लामा चार सयबढीको संख्यामा दक्ष तालिमप्राप्त निर्माणकर्मीको आवश्यकता रहने शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख अचुतम खतिवडाले जनाए ।

‘तालिम प्राप्त निर्माणकर्मीको एकरुपताका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि २०७२ अनुसार तालिम दिएर काम अघि बढाइने छ,’ उनले भने ।
जिल्लामा पुनःनिर्माणका लागि नेपाल रेडक्रस सिन्धुलीको सम्योजनमा एक सय ३५ जनालाई भुकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि दक्ष निर्माणकर्मी तयार गर्न तालिम दिएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जनाकारी दिए । ‘अभियान अनुसार रेडक्रसले जिल्लाका विभिन्न गाविसमा एक हजार भुकम्प प्रतिरोधात्मक घरहरु पुनःनिर्माण गर्ने योजना बनाएको छ,’ श्रेष्ठले भने ।

यस बाहेक जिल्लाका अन्य गाविस तथा कमलामाई र दुधौली नगरपालिकामा पनि पुनःनिर्माणको काम सुरु गरिने छ । जिल्लामा ४८ हजार ५ सय ४ घरधुरी भुकम्पका कारण क्षेती भएको भन्दै जिल्लाबाट गृह मन्त्रालयमा सिफारीस गरिएको छ । जस मध्ये २२ हजार १७ घरधुरी पूर्णरुपमा क्षेती भएको भन्दै तिनलाई पुनःनिर्माण गरिने जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।

यसका लागि जिल्लामा चार अर्व ४० करोड ३४ लाख  रुपैयाँ अनुदान पिडितहरुको घर पुनः निर्माणका लागिमात्र अनुदान दिनु पर्ने छ । सरकारले भुकम्प पिडितहरुलाई घर पुनःनिर्माणका लागि प्रतिपरिवार दुई लाख रुपैयाँका दरले अनुदान दिने जनाएको छ । यस बाहेक जिल्लामा क्षती भएको विद्यालय लगायतका सरकारी कार्यलय र निजी तथा सामुदायिक भवन, खानेपानी, पुल लगायतको पुनःनिर्माणका लागि थप अरबौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि पुनःनिर्माण प्राधिकरणले नीति तथा ‘एक्सन प्लान’ बनाउने प्रक्रिया जारी रहेको जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »