सिन्धुलीमा जुनारबाट २१ करोड भित्रियो

प्रकाशित समय 8:08 PM

आँकलन गरेको भन्दा ९ करोड घाटा

नविन श्रेष्ठ

सिन्धुली,२८ पुस – जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीका जुनार किसानहरुले यस बर्ष रोगको संक्रमण, भूकम्प, असिना हावाले गर्दा घाटा बेहोर्नुपरेको छ । दैवि विपत्तिका कारण किसानहरुले लक्ष्यअनुसार यसबर्ष आम्दानी गर्न भने सफल नभएको जिल्ला जुनार उत्पादन सहकारीले जनाएको छ ।


यसबर्ष किसानहरुले जुनार उत्पादनमा वृद्धिका लागि मेहेनत गरेपनि झण्डै साढे ३ हजार मेट्रिक टन जुनार भूकम्प, असिना, आँधी र किराहरुको संक्रमणबाट खेर गएको किसानले बताएका छन् । यसबर्ष जुनार उत्पादक किसानहरुलाई २ लाख देखि ३ लाखसम्म घाटा भएको जुनार उत्पादक सहकारीका अध्यक्ष निर्मलकुमार रम्तेलले बताए । 

उनकाअनुसार जिल्लामा उत्पादन गरिएको जुनारमध्ये भूकम्पका कारण जुनार झरेको, असिनाले क्षति पुर्‍याएको, हावाहुरीले फल लाग्ने बेलमा जुनारका चिचिला झारे पनि आम्दानीको लक्ष्य पछ्याएका किसान रोग किराको संक्रमणले घाटा बेहोर्न बाध्य भएको छ । अध्यक्ष रम्तेलका अनुसार यस बर्ष सिन्धुलीमा जुनारबाट किसानलाई ९ करोड घाटा भएको छ । जिल्ला सहकारीमा आबद्ध तथा समूहमा आबद्ध किसानहरुलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म घाटा भएको छ ।


जुनार उत्पादन गर्नको लागि समयमा नै गोडमेल, सिँचाई लगायतको काम गरेकाले जुनार उत्पादनमा वृद्धि हुने अनुमान गरिएपनि वैशाख १२ को भूकम्पले जुनार उत्पादनमा कमी ल्याइदियो जुनार किसान डम्बर विक्रम बस्नेतले भने । ‘भूकम्पले घरबार विहिन बनाए पनि जुनार बेचेर आएको रकमले घर बनाउने योजना बनाइयो तर त्यो पनि जुनारमा औसिया किराको संक्रमणले जुनारबाट आम्दानी सोचे अनुसार भएन’ वस्नेतले खिन्न मन गर्दै भने ।

जिल्ला कृषि विकासको आँकलन अनुसार अहिले सम्ममा सिन्धुलीमा ८० प्रतिशत जुनार बिक्री भइसकेको र १० प्रतिशत जुनार बोटमा रहेको र १० प्रतिशत जुनार स्टोरमा रहेकोे छ । अहिलेसम्म ८० प्रतिशत जुनार बिक्रीबाट २१ करोडको आम्दानी भएको छ । उत्पादनका हिसाबले साढे १२ हजार मेट्रिक टन जुनार उत्पादन गर्ने लक्ष्य भएपनि यस बर्ष ९ हजार मेट्रिक टन मात्र जुनार उत्पादन भएको छ । सुरुमा लक्ष्यभन्दा बढी जुनार फल्ने जुनारको फुल र चिचिलाबाट अनुमान गरिएपनि दैवि विपत्तिका कारण लक्षमा पुग्न नसकिएको कृषि विकास कार्यलयले जनाएको छ ।

कृषि विकास कार्यलय सिन्धुलीको तथ्यांक अनुसार जिल्लामा ४ हजार ५ सय ५१ जना जुनार उत्पादक किसान रहेका छन् । हरेक वर्ष १ सय ५० जना किसानले अन्य व्यवसाय छाडेर जुनार खेतीमा आउने गरेको जिल्ला कृषि विकासको आँकलन छ । जिल्लाको ४५ गाविसको १ हजार ५ सय हेक्टर क्षेत्रफलमा जुनारको व्यवसाय गरिदै आएको छ । हरेक बर्ष २ सय हेक्टर क्षेत्रफमा जुनारको व्यवसाय बढ्दै गएको छ । अहिले जिल्लामा जुनारको व्यवसाय बढाउनको लागि जिल्ला जुनार संघ, जिल्ला कृषि विकास कार्यालय सिन्धुली जुनार उत्पादन सहकारी संघको सहयोगमा जुनार उत्पादनका पकेट गाविस र अन्य स्थानमा भौगोलीक अध्ययनसँगै सिँचाई सडकको सुबिधाको बारेमा सर्भे गर्ने काम भइरहेको छ ।

जिल्लामा जुनार परापूर्वकालदेखि आफैले खानको लागि रोपिदैँ आएको भएपनि कसानहरुले व्यवसायकै रुपमा अन्य बाली मासेर जुनार मात्र लगाउन थालेका छन् । एक गाउँ एक उत्पादन कार्यक्रम र विभिन्न संघ संस्थाको सहयोगमा जुनार व्यवसायमा किसानको आर्कषण बढ्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »