Powered by Blogger.
नाकाबन्दीले नछोएका राजमार्गका होटल

चीना थापा, 
सिन्धुली,२७ पुस – सिन्धुली झाँगाझोली रातमाटामा वीपी मार्ग होटल सञ्चालन गर्दै आएका बद्रि दाहाल आगोमा नै खानेकुराको परिकार बनाउँछन् । वीपी राजमार्ग सञ्चालन भएसँगै होटल सञ्चालन गरेका उनले पहिलादेखि नै दाउरामै खानेकुरा पकाउने गरेको बताए ।जस्लार्ई नाकाबन्दीको कुनै असर छैन् । 


अहिले नाकाबन्दीले गर्दा व्यवसाय धरासयी भयो भन्ने आवाजहरु आईरहँदा सिन्धुली वीपी राजमार्ग छेउमा पर्ने दर्जनौ होटल सञ्चालकहरु भने आनन्दले होटल सञ्चालन गरिरहेका छन् । ‘पहिला पनि थोरै मात्र ग्यासको प्रयोग गरिन्थ्यो’, उनले भने, ‘अहिले त पुरै दाउरा प्रयोग गर्ने गरेका छौ । खाना खानेहरु दिनमा १००/२०० जना हुन्छन् । वीपी राजमार्ग हुँदै तराई तथा रामेछाप, दोलखा, ओखलढुङ्गाबाट काठमाडौँ जाने तथा काठमाडौँबाट आउने यात्रुहरु खाना खानको लागि आउने गरेका छन् ।’ ग्यास पाईएन भनेर अहिलेसम्म खाना तथा खाजा, चिया खान आउने ग्राहकलाई फर्काउनु नपरेको उनले बताए । होटलको लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री पनि गाउँमा नै पाउन सकिने भएकाले र दाउराको प्रयोगले गर्दा नाकाबन्दीको प्रभाव नपरेको उनको भनाई छ । 

स्टाफ होटल सञ्चालक झागाँझोली रातमाटाकी सीता पुरी आजभोली होटलमा पहिलाको भन्दा व्यस्त हुन्छिन् । ग्राहकबाट पैसा लिन अहिले उनलाई भ्याईनभ्याई हुन्छ । ‘पहिला बरु यस्तो व्यस्त हुँईदैन थियो’, उनले भनिन्, ‘पहिलाको भन्दा अहिले होटलको कारोबार बढेको छ । खाना तथा खाजा खानेहरु पनि बढेका छन् ।’ पुरी पनि खाना पकाउनको लागि सँधै दाउराको प्रयोग गर्छिन् । उनको होटलमा काम गर्ने ५ जना कर्मचारीलाई खानाको परिकार बनाउन भ्याईनभ्याई हुन्छ । वीपी राजमार्ग हुँदै आहोरदोहोर गर्ने गाडिहरु यात्रुलाई खाना तथा खाजा खुवाउनको लागि उनको होटलमा रोक्छन् । पहिला पनि दाउरामा नै खाना पकाउने गरेकाले नाकाबन्दी कुनै असर नपरेको उनको भनाई छ । ‘नाकाबन्दीको असर छैन् । आएका ग्राहकलाई दाउरामा नै पकाएर खुवाउने गरेका छौ’, उनले भनिन्, ‘अहिलेसम्म ग्यास भएन भनेर होटल बन्द गरेका छैनौँ । राजमार्गमा ओहोेरदोहोर गर्ने गाडिहरु बढेकाले ग्राहकहरु पनि पहिलाको भन्दा बढेका छन् ।’ 

अहिले नाकाबन्दीको प्रभावले होटल क्षेत्र पनि प्रभावित भैरहेको अवस्थामा सिन्धुलीको वीपी राजमार्ग छेउमा सञ्चालन भएका कुनै होटलहरुलाई नाकाबन्दीको असर छैन् । जंगलहरु नजिकै भएकाले पनि न त दाउराकै समस्या छ । पहिला पनि आधा ग्यास र आधा दाउरा बालेर नै खाना पकाउने गरेका होटल सञ्चालकहरु अहिले पुरै दाउरामा पकाउने गरेका छन् । वीपी राजमार्ग हुँदै सवारी साधन आवतजावत गर्नेक्रम बढेसँगै उनीहरुको व्यवसाय पनि बढेको छ । तराईलाई राजधानी काठमाडौँसँग जोड्ने छोटो वीपी राजमार्गको निर्माण सम्पन्न भएपछि राजमार्ग छेउका होटलहरुमा खाना तथा खाजा खानेहरुको पनि भिड नै लाग्ने गरेको छ । 

सिन्धुलीको कुशेश्वर दुम्जा, झाँगाझोली रातमाटा, सित्तलपाटी भिमेश्वर, रतनचुरा लगाएतका गाविसका राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुलाई भारतले गरेको अघोषित नाकाबन्दीको बारेमा राम्रोसँग जानकारी समेत छैन् भने अब कहिले खुल्ला भन्ने चिन्ता पनि छैन् । 

घरेलुमा दर्ता भएर राजमार्ग छेउमा दुइ दर्जन भन्दा बढी नयाँ होटल तथा लजहरु थपिएका छन् भने घरेलुमा दर्ता नगरी सञ्चालनमा रहेका स–साना चिया पसल तथा होटलहरु पनि त्यतिकै मात्रमा सञ्चालनमा रहेका छन् । 

आर्थिक बर्ष २०७०/७१ र २०७१/७२ मा कुशेश्वर दुम्जामा ७, भिमेश्वरमा १२, सित्तलपाटीमा २, झारामा ३, पुरानो झाँगाझोलीमा ३ र रतनचुरा गाविसमा २ वटा नयाँ होटल दर्ता भएका छन् । चालु आर्थिक बर्षमा समेत उल्लेख्य मात्रामा त्यस क्षेत्रमा होटलहरु दर्ता भएका छन् । 

उदयपुरको घुर्मी, रामेछाप मन्थली, धनुषाको जनकपुर, सर्लाही लगाएतका पूर्व देखि पश्चिम सम्माका ठाउँबाट वीपी राजमार्ग हुँदै सवारी साधन सञ्चालन हुने भएकाले जिल्लाको खुर्कोट देखि दुम्जा सम्मको क्षेत्र खाना र खाजाको उचित स्थानको रुपमा रहेको छ । राजमार्ग छेउका यी क्षेत्रमा दैनिक सयौँ सवारी साधनहरुले खाना र खाजा खुवाउनको लागि सवारी रोक्ने गरेका छन् । राजमार्ग छेउसँगै सिन्धुलीमाढीमा पनि व्यवस्थित होटलहरु खुल्नेक्रम तिब्र रुपमा बढेका छन् । सिन्धुलीमाढीमा नाकाबन्दीले असर गरेको भएपनि अहिले दाउराबाट आगोमा खानाको परिकार बनाएर भएपनि ग्राहकहरुलाई सेवा दिईरहेका छन् । 

0 comments

Write Down Your Responses

second_add